‘राउटे’ समूह कि स्वभाव ?



राउटे जंगलतिरै बसोवास गर्ने मानिसकै एउटा जाति हो जो विशेषगरी सल्यान, सुर्खेत, जाजरकोट र दैलेखतिरको जंगलमा भेटिन्छन् । यिनीहरू खाना र पैसाको खोजीमा हिजोआज बेलामौकामा अन्य जिल्ला र सहरी इकाकाहरूमा पनि भेटिन्छन् । उनीहरू कुनै स्थान विशेषमा स्थायी घर बनाएर बस्न चाहँदैनन् । पढ्न पनि चाहँदैनन् । यो सबैको दोष उनीहरूले आफ्ना कुलदेवतालाई लगाउँछन् । भन्नुको मतलव एकैठाउँमा स्थायी बसोवास गरी बस्यो र लेखपढ गर्न थाल्यो भने देवता रिसाउँछन् भन्छन् उनीहरू ।

जीतबहादुर शाह

मुलुकमा राजसंस्था हुने बेलाको कुरा हो । त्यत्तिबेला म जाजरकोटको जिल्ला शिक्षा कार्यालयमा काम गर्थेँ । राउटेको समूह काठका कोशी लगायतका भाँडावर्तन बिक्री गर्न अन्य कार्यालयमा जस्तै त्यत्तिबेला शिक्षा कार्यालयमा पनि आउँछन् । हामीलाई तिम्रो सामान आवश्यक छैन् भन्नै नपाइने स्थितिको सिर्जना गर्छन् उनीहरू । त्यत्तिबेला पनि त्यस्तै गरे । उनीहरूसँग भएको केही न केही राख्नै पर्ने अड्डी कसेर बसेँ ।त्यत्तिबेला हामीसँग अनौपचारिक शिक्षाका कक्षा चलाउनका लागि किताबहरू (नयाँ गोरेटो) भर्खर आएकोले चाङ मिलाएर देखिने गरी राखेका थियौँ । ती किताबहरूलाई देखाउँदै मैले राउटेहरूलाई भनेको थिएँ– ‘तपाईँको सामान त हामी राख्छौँ तर हामीले पैसा भने दिँदैनौँ । त्यसको बदलामा यो किताब लैजानुस् र पढ्नुस् । बरु हामीले तपाईँबाट केही नलिएर पढ्नलेख्न सिकाउने व्यवस्था गरिदिन्छौँ ।’

जवाफमा राउटेको मुखियाले भनेका थिए– ‘हामीलाई राजाको बाउले त पढ् भन्न सकेन् । तिमी को हौ हामीलाई पढ् भन्ने ?’ जवाफ सुनेपछि भने थप कुरा गरेर उनीहरूलाई शिक्षाप्रति आकर्षित गर्ने आँट भएन मसँग । राउटे जंगलतिरै बसोवास गर्ने मानिसकै एउटा जाति हो जो विशेषगरी सल्यान, सुर्खेत, जाजरकोट र दैलेखतिरको जंगलमा भेटिन्छन् । यिनीहरू खाना र पैसाको खोजीमा हिजोआज बेलामौकामा अन्य जिल्ला र सहरी इकाकाहरूमा पनि भेटिन्छन् । उनीहरू कुनै स्थान विशेषमा स्थायी घर बनाएर बस्न चाहँदैनन् । पढ्न पनि चाहँदैनन् । यो सबैको दोष उनीहरूले आफ्ना कुलदेवतालाई लगाउँछन् । भन्नुको मतलव एकैठाउँमा स्थायी बसोवास गरी बस्यो र लेखपढ गर्न थाल्यो भने देवता रिसाउँछन् भन्छन् उनीहरू । अहिले जंगल व्यवस्थित भएकाले उनीहरूलाई जंगलमा गएर मनपरी किसिमले रुख काटेर काठका भाँडावर्तन बनाउने छुट नभएकोले उनीहरूलाई पहिलेजस्तो जंगलकै भरमा जीविका चलाउन हम्मेहम्मे हुँदै गएको छ ।

यसैका कारण पनि र विभिन्न रोग र महामारीका कारण पनि अहिले राउटेहरूको जनसङ्ख्या पनि घट्दो क्रममा रहेको छ । त्यत्तिबेला तीन सयको हाराहारीको सङ्ख्यामा रहेका राउटेहरू तीनदशक अहिले आएर आधाभन्दा बढि घटेको देखिन्छ । राउटेहरूलाई दिने र लिने भने पछि दिनैपर्छ र लिनै पर्छ । एकपटक मुखबाट दिने र लिने शब्द निस्केपछि उनीहरूले दिनदिनै घरमा आइरहन्छन् र सामान भिडाएरै छोड्छन् र दिन्छु भनेको कुरो लिएरै छोड्छन् । दिन्न र लिन्न भन्न थाल्यो भने उनीहरूको भनाइ हुन्छ – ‘कि तेरो गोली हान्, कि मेरो बोली मान् ।’ बाँदरको मासु खान्छन् उनीहरू । बाँदरलाई लखेटी लखेटी पासोमा पारेर मार्छन् । त्यसैले पनि हामी सानो हुने बेलामा बारीको मकै खानलाई बाँदर आयो भने बाँदर धपाउनलाई ‘राउटे आयो, राउटे आयो’ भनेर कराउँथ्यौँ ।

थाहा पाएजस्तो गथ्र्यो बाँदरले पनि र हाम्रो त्यो आवाज सुनेर भाग्थ्यो बाँदर । राउटे वास्तवमै मैले थाहा पाएदेखि अहिलेसम्म उस्तै अटेरी र आफ्नो ढिपी नछोड्ने जातिको रूपमा देखेको छु । यिनीहरूलाई समाजमा पुनस्र्थापना गर्न र शिक्षा र विकासमा मूलप्रवाहीकरण गर्न करोडौँ लगानी गरेर सरकार र संघसंस्थाहरू हिजोदेखि आजसम्म काम गरिरहेका छन् । तैपनि कसैको जोडवलले काम गरेको छैन । सरकारले समेत उनीहरूलाई सामाजिक सुरक्षा भत्ता दिइरहेको छ । सरकारबाट खाने कुरा र पैसा लिने कुरामा उनीहरू जति पनि लिन्छन् । तर समाजमा बस्न र शिक्षा लिने कुरामा उनीहरू टसकोमस भएका छैनन् । उनीहरूको यही स्वभाव र ढिपीका कारण उनीहरूको अधोगति भएका दृश्यहरू पनि यिनै आँखाले देख्नु परिरहेको छ ।

पहिले पहिले राउटे जङगली मानिसहरूको समूहको रूपमा चिनिए पनि यो अहिले स्वभावको रूपमा चित्रित हुन थालेको पाइन्छ । कोही मान्छे अटेरी, अरुको कुरा नसुन्ने, अरुको सल्लाह र सुझावलाई पनि स्वीकार नगर्ने र आफ्नै पाराले आफ्नै ढिपीलाई मार्गनिर्देशक सिद्धान्त बनाएर हिँड्ने मानिसहरूलाई अहिले अन्य समझदार, विवेकी, भद्र र शालीन व्यक्तिहरूले ‘कस्तो राउटे रहेछ यो’ भनेर धारे हात समेत लगाएको पाइन्छ । राउटेको जस्तो स्वभाव भएका मानिसहरू अहिले परिवार, गाउँटोल, समाज र मुलुकमा समेत देखा परिरहेका छन् । यस्तै स्वभावका कतिपयले परिवार चलाइरहेका छन् ।

गाउँटोल चलाइरहेका छन् र सिङ्गै मुलुक चलाउनसमेत हरकत गरिरहेका छन् । त्यही भएर यस्तै मानिसहरूका कारणले कतै परिवार विखण्डनतिर लागिरहेको छ । कतै गाउँटोल छिन्नभिन्न भएका छन्, कतै समाज समाजजस्तो नभइ षडयन्त्रशालाजस्तै देखिरहेको छ भने मुलुकसमेत यस्तैको हात परेका कारण कतै अनपेक्षित भड्खालोमा जाकिने हो कि भन्ने खतरा बढिरहेको छ । कुनै एउटा परिवार शान्त र सुशील हुन्छ । आफ्नो मेहेनत र परिश्रममा बाँचेको हुन्छ । क्रमशः उक्त परिवार त्यही परिश्रम र मेहेनतका कारण आम्दानी र प्रतिष्ठाको हिसाबले समेत उकालो लाग्ने क्रममा हुन्छ । यस्तैमा परिवारमा अर्को एउटा मानिस नयाँ सदस्यको रूपमा भित्रिन्छ । प्रवेशारम्भमा ऊपनि शालीन र समझदार नै हुन्छ । ऊ शालीन र समझदार भएकै कारणले परिवारका सबैबाट माया, सहयोग र विश्वास पनि पाउँछ ।

उसले परिवारका सदस्यहरूबाट पाएको यही माया, सहयोग र विश्वास उसैका निम्ति व्यक्तिगत स्वार्थसिद्धि गर्ने भ¥याङ बन्न थाल्छ । क्रमशः उसमा अरुले भनेको नटेर्ने, अरुले भनेको नसुन्ने, आफूले भनेको कुरा अरुले मान्नुपर्छ भन्ने जस्ता स्वभावहरू बढ्न थाल्छन् । क्रमशः ऊ पनि राउटेको मुखिया जस्तो हुन थाल्छ । त्यसपछि समुन्नतिको शिखरतर्फ पाइला चालेको परिवारको यात्रामा पनि ठेस लाग्न पुग्छ । अरुका कुरा वेवास्ता गर्ने मानिसले नै परिवारको नेतृत्व लिन थालेपछि परिवार विखण्डनतिर लाग्छ । उसलाई साथ दिने परिवारका केही सदस्यहरू त हुन्छन् तर उनीहरूले पनि आफ्नो स्वार्थको दुनो सोझ्याउन सजिलो हुने गरी पालो कुरेर बसिरहेका हुन्छन् । मिलीजुली शालीन किसिमले अघि बढेको परिवारमा ‘अरुको कुरा नसुन्ने र म जेछु ठिक छु’ भन्ने एउटा सदस्यको स्वभावले परिवार भताभुङ्ग हुन थाल्छ । राणापरिवार र राजखलकभित्र अन्तरद्वन्द्व चर्किएकै कारण उनीहरूको अधोगति भएजस्तै यस्तो परिवारमा पनि अधोगतिले यात्रारम्भ गर्छ ।

समाज र गाउँटोलमा समेत राउटे स्वभावका मान्छेहरूले टाउको उठाउन थाले भने गाउँटोल र समाजले बाटो बिराउन थाल्छ । बाटो बिराएपछि गाउँटोल र समाज वास्तवमै गाउँटोल र समाजजस्तो रहन सक्दैन । दुखेका मन सिलाउने सियोको भूमिकामा रहेका गाउँटोल र समाज अब क्रमशः मिलेका मनहरू काट्ने कैँचीको रूपमा देखा पर्दछन् । समाजमा हुने सामाजिक भेला र अन्तरक्रियाहरूमा पहिलेजस्तो सौहार्दता, सह्दयता र हार्दिकता हुँदैन अब । सामाजिक भेला र अन्तरक्रियाहरूको आयोजना भइहाले भने पनि त्यहाँ ईष्र्या, डाह, हिंसा र षडयन्त्रको हस्को आउन थाल्छ ।

मानिसहरू गुट र उपगुटहरूको नाइके हुन उद्येलित भइरहेका हुन्छन् । बाहिर सबैसँग ठिक्क देखिएपनि भित्र भने गुटउपगुटको नाइके हुन चाहनेले पनि भित्रभित्र आफूलाई राउटेको मुखिया हुने स्वभाव हुर्काइरहेका हुन्छन् । त्यस्ता गुटउपगुटमा पनि आफूले भनेको मानिसहरूलाई मात्र निम्तो गरिरहेको हुन्छ । आफू सकेसम्म बाहिर देखिँदैन तर भित्रभित्र भने आफूबाहेक अरु कोही अघि बढ्नु हँदैन भन्ने स्वभावको जगेर्ना हुने गरी काम गरिरहेको हुन्छ । जिउँदाको जन्ती र मर्दाको मलामी भन्ने समाज आज यस्तै स्वभावका कारण क्रमशः भाइ फुटे गवाँर लुटेमा परिणत भइरहेको छ ।

मलाई त लाग्छ, सिङ्गो मुलुक नै पटकपटक केही राउटेहरूको पञ्जामा परिरहेको अवस्था छ । राउटेहरू सुरुमा त भद्र देखिन्छन् । जब आफ्नो सपना पूरा हुने स्थिति देख्छन् अनि पेलेरै शासन गर्ने सपना देख्न थाल्छन् । कुरा जेजस्ता गरेपनि घुमीफिरि रुम्जाटार भनेजस्तै केन्द्र बिन्दुमा आफ्नै स्वार्थको दुनो सोझाइरहेका हुन्छन् । समाजवाद, साम्यवाद जे भने पनि उनीहरू भित्र रहेको अहम्वादले काम गरिरहेको हुन्छ । अहम्वादमा ठेस पु¥याउनेहरूलाई आफ्नै दलभित्रका भएपनि अर्को छुट्टै दलदलमा फँसाउन न्वारानदेखिको ताकत लगाउन थाल्छन् । यस्ता स्वभावका राउटेहरूलाई कसैबाट पनि आफ्नो आलोचना र विरोध गरेको कुरा स्वीकार्य हुँदैन ।

यस्ता राउटे स्वभावका मानिसहरूले ‘म कहाँ पुगेँ, यहाँसम्म कसको बलले पुगेँ, मलाई यहाँसम्म पु¥याउन ककसले योगदान गरे र ककसले सहादत प्राप्त गर्नु प¥यो’ भन्ने कुराको कुनै हिसाब हुँदैन । हिसाब हुन्छ त केवल आफ्नै चरमोत्कर्ष सुखको । कतिपय आद्यात्मिक चेत खुलेका मानिसहरूले आफ्नो कारणले अरुमा देखिएको सुखलाई नै आफ्नो श्रेष्ठ सुखको रूपमा लिन्छन् । राउटे स्वभावका मानिसहरूले भने आफ्नो कारणले अरुलाई जति पीडा दिन सक्यो, त्यसबाट प्राप्त हुने आनन्दलाई चरमोत्कर्ष सुखको रूपमा लिने गरेको देखिएको छ ।

थाहा छैन, राउटेहरूले यिनीहरूबाट सिके वा यिनीहरूले राउटेबाट सिके, अनुसन्धान गर्न बाँकी नै छ । स्वभाव जोबाट सिके पनि यो स्वभाव मुलुकको निम्ति घातकसिद्ध भइरहेको छ । मुलुक काण्डैकाण्डको महाकुण्डमा डुबिरहेको छ । तथापि त्यसको कुनै परवाह छैन सत्तामा पुगेका र पुग्न तम्सेका राउटेहरूलाई । जनताले अति भयो बन्द गर भन्दा पनि उनीहरूका कानहरूले त्यो कुरा सुन्दैनन् वा सुने पनि राउटेका देवता रिसाएजस्तै यिनीहरूका देवताले पनि अनिष्ठ हुने सङ्केत गरेका छन् ।

लोकतान्त्रिक मुुलुकहरूमा नेताहरूका देवता नागरिक हुन्थे । यहाँ भने नागरिकका कुरा नसुने पनि हुन्छ, यी राउटे नेताहरूको देवता अरु नै हुने गर्दछन्, अरुबाटै चल्ने गर्दछन् र केही अप्ठ्यारो प¥यो भने पनि अरुको आदेश पर्खने गर्दछन् । जंगलका राउटेहरूलाई समाजमा आएर बस, सभ्य होऊ, शिक्षित होऊ भन्दा अस्वीकार गर्नुको कारण जसरी बिनासतिर लाग्दैछन्, हाम्रा मुलुकका राउटे नेताहरू पनि जंगलका राउटे मुखिया नेताझैँ गरी नागरिकका कुरा नसुनेरै देश डुबाउनतिर रस्साकस्सी गरिरहेका छन् ।

थाहा छैन, यिनीहरू पनि डुबेको घोषणा गर्ने दिन अब धेरै टाढा छैन । आशा यत्ति हो कि, यी राउटे नेताहरू डुब्दा यिनीहरू मात्रै डुबुन्, मुलुक नडुबोस् । जसरी जंगलका राउटेहरू सकिँदा जंगल सकिने छैन । ठिक त्यसरी नै आशा एवम् विश्वास छ, यी राउटे नेताहरू सकिँदा मुलुक सकिने छैन । मुलुकलाई अभिभावकत्व प्रदान गर्ने असल नेता नागरिकको बीचबाटै समयले जन्माउनेछ । बाँकी जो हजुरहरूको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार