धनगढी ।
नियमविपरीत सञ्चालनमा रहेका कैलालीका दुई वटा फार्मेसीलाई जरिवाना र तीन वटालाई सामान्य निर्देशन दिइएको छ । कैलाली गोदावरीको मुख्य बजार अत्तरियामा रहेको विश्वास फार्मेसीलाई २ लाख रूपैयाँ र दिपु सुवेदी मेडिकललाई २० हजार जरिवाना गरिएको हो । मंगलबार उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख सत्यराज जोशी नेतृत्वको संयुक्त अनुगमन टोलीले कैफियत भेटाएपछि जरिवाना गराएको हो ।
निर्देशनालयको अगुवाइको टोलीमा स्वास्थ्य कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी प्रतिनिधि, गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रहेका थिए । यस्तै, टोलीले अत्तरिया हेल्थकेयर, सुदूरपश्चिमाञ्चल सामुदायिक हस्पिटल, आराम फिजियोथेरापी एण्ड रियाबिलिटेसन सेन्टरलाई सामान्य निर्देशन दिएको थियो । दिपु सुवेदी मेडिकल हललाई २० हजार रूपैयाँ जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा संस्थाले इजाजतपत्र लिएको÷नवीकरण गरेको वा नगरेको, लागू÷मनोद्विप औषधी बिक्री गरेको वा नगरेको, म्याद गुज्रेका औषधिको प्रयोग, गैरकानुनी रूपमा भ्रुणको लिङ्ग पहिचान गर्ने गरेको वा नगरेको, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसारको व्यवस्था कार्यान्वयन गरेको वा नगरेकोलगायतका सम्बन्धित विषय अवलोकन गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
‘प्रचलित ऐन कानुनलाई आधारमानी सेवा÷व्यवसाय गरौँ । स्वास्थ्य संवेदनशील पेशा हो । सेवाप्रदायकको सानो गल्ती÷हेल्चेक्र्याइँले उपभोक्ताको ज्यान जान सक्छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७७, जनस्वास्थ्य सेवा ऐन÷नियमावली, उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानुनबमोजिम मात्रै सेवाप्रवाह गरौँ । कैलाली जिल्लाको हकमा दुविधा भएमा सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखा वा जिल्लास्थित स्वास्थ्य कार्यालयमा बुझौँ’ स्वास्थ्य कार्यालय कैलालीले जारी गरेको सूचनामा भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्