निर्मला कुर्मी हत्या प्रकरण : विशेष अनुसन्धान टोली खटाइने



नेपालगन्ज (बाँके), बाँकेकी एकल महिला निर्मला कुर्मीको शरीर बन्धक, अपहरण र हत्या सम्बन्धित मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको छ । सरकारले मुद्दामा गहिरो अनुसन्धान र अभियोजन गरी मुद्दा अघि बढाउने सहमतिपछि बाँकेबाट काठमाडौं आएर ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरूले धर्नाका कार्यक्रम स्थगित गरेका छन् ।


मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले धर्नारत महिलाहरूसँग छलफलपछि गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बोलाएर मुद्दामा विशेष अनुसन्धान टोली गरी न्यायिक प्रक्रियामा अघि बढाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मंगलबारै गृह मन्त्रालयमा भएको छलफलपछि धर्नारत महिलाहरू र सरकारबीच तीन बुँदे सहमति भएको छ । सहमतिपछि ४८ दिनदेखि जारी रहेको धर्ना स्थगित गरिएको धर्नाको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खानले बताइन् ।

‘प्रधानमन्त्रीज्यूले नै एउटा प्रतिबद्धता जनाउनुभएको छ, यो विगतको दुईवटा सम्झौताभन्दा फरक हुन्छ भन्ने आशासहित हामीले धर्ना स्थगित गरेका छौं,’ उनले भनिन् । सहमतिपछि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले माइतीघर पुगेर धर्नारत महिलाहरूसँग भएको सहमतिपत्र सार्वजनिक गरेका छन् । मन्त्रालयका उपसचिव दिलकुमार तामाङले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १२ बमोजिम मुद्दामा विशेष अनुसन्धान गर्न टोली खटाउने सहमति भएको बताए । त्यस्तै, अनुसन्धान प्रक्रिया समीक्षा गर्ने गर्दै धर्नारत महिलाहरूले राखेको न्यायिक आयोग गठनको मागलाई तत्काल थाती राखेर धर्ना स्थगित गर्ने र धर्नामा रहेका महिलाहरूको सुरक्षाका लागि सरकारले समन्वय गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : २०७९ फागुन ३ गते बुधबार