नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तर हिमालदेखि दक्षिण तराईसम्म विभिन्न जातजाती बसोबास गर्छन । विभिन्न जात–जाती मध्ये तराईमा बस्ने थारु आदिवासी प्रमुख मानिन्छ । यो जाति खासगरी रुपन्देही, नवलपरासी, चितवन, कपिलबस्तु लगाएत पूर्वका केहि जिल्ला देखि पश्चिम नेपालको दाङ्ग, देउखुरी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुरको जिल्लामा रहेको पाईन्छ । थारु समुदायको आ–आफ्नै मौलिक भेषभूषा, कला, संस्कृति परम्मपरा सँगसँगै पर्वहरु रहेका छन् । थारुको धेरै पर्वहरु मध्ये माघी पर्वलाई ठूूलो राष्ट्रिय पर्व तथा नयाँ वर्षको रूपमा मनाउने गरिन्छ ।
वि.सं. २०५९ सालदेखि नेपाल सरकारले थारूहरूको माघीपर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता प्रदान गरेको छ । त्यसैले थारूहरूले यस पर्वलाई वि.स. २०५९ साल मै पहिलो पटक काठमाण्डौको नेपाल टुरिजम बोर्डमा थारू कल्याणकारीणी सभा र थारू विद्यार्थी समाजको संयुक्त आयोजनामा संस्थागत रुपमा माघी कार्यक्रम गरेको थियो । दोस्रो वर्ष वानेश्वरको सहकारी भवनमा, तेस्रो वर्ष राष्ट्रिय सभागृह, चौथो वर्ष प्रज्ञा भवन त्यसपछि २०७२ सालमा रङ्गसाला बाहेक अन्य सबै वर्ष उटुडिखेलमा माघी महोत्सव भयो ।
पछिल्लो समयमा प्रदेश, जिल्ला, नगर, पालिका स्तरीय कार्यक्रम त कतै माघी मीलन, माघी महोत्सव, माघी मेला, माघी विषेश आदि संस्थागत रूपमा आयोजना गरिदै आएका छन् । माघीको कार्यक्रम राष्ट्रप्रमुख, प्रधानमन्त्री, मन्त्री, सभामुख, मेयर लगायतको उच्च ओहदाका व्यक्तित्वहरूले सम्वोधन गरी माघी पर्वको परम्परागत मौलिकतालाई गत वर्षसम्म धेरै फरक किसिमले मनाईएको थियो । यस वर्ष भने चीनको बुहान सहरबाट सुरु भएको विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण यस्ता संस्थागत रूपमा कही कतै छितफुट रुपमा कार्यक्रम तथा मेलाको आयोजना भए पनि विगतको जस्तै व्यापक भव्य सभा सम्मेलन र सांस्कृतिक कार्यक्रमहरू भने गरिएको छैन ।
जनमानसको बुझाइअनुसार जुन दिनबाट दिन लामो रात छोटो हुने र जाडो मौसम हटी गर्मी मौसमको सुरुवात हुने (गर्मीको जन्मदिन) भन्ने गरिन्छ अर्थात माघ महिनाको १ गतेबाट सूर्यको अवस्थिति दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा प्रवेश गर्दछ त्यस दिनलाई माघे संक्रान्ति भन्ने गरिन्छ । कसैले यसलाई माघ, कसैले माघी, कसैले माघे संक्रान्ति, कसैले तिलुवा संक्रान्ति त कसैले मकर संक्रान्ति आदि नामले विभिन्न समुदायले आ–आफ्नो तरिकाले मनाइएको पाइन्छ । पश्चिम नेपालका थारूहरूले आफ्ना पूर्खाहरूले गर्दै र मान्दै आएको कृयाकलापलाई परम्परागत रुपमा मान्दै आएको पाइन्छ । थारु जातिहरूले मनाउने विभिन्न चाड पर्वहरु मध्य यो एक ठूलो र विशेष महत्वपूर्ण पर्व माघी हो । थारु समुदायमा माघी संक्रान्तिको जति सामाजिक, सास्कृतिक मान्यता छ त्यति धार्मिक मान्यता पनि छ ।
माघ १ गते भाले नबास्दै गंगा, नदी, सगरमा गई नुहाउनाले पाप कर्म कट्नुका साथै धर्म (पुण्य) मिल्ने र आफूले मागेको वरदान पाईन्छ भन्ने धार्मिक जनविश्वास थारू समाजमा छ । त्यसै गरी निःसन्तान दम्पतीलाई सन्तान प्राप्ति हुन्छ, एवम् छोरा छोरा हुनेले छोरी र छोरी छोरी हुनेले छोरा प्राप्ति हुन्छ भन्ने जन विस्वास छ ।
धार्मिक विश्वासकै कारण प्रत्यक वर्ष दाङ्ग जिल्लाको बैवाङमा रहेको सती मन्दिरको सागर (सगरोम), दाङको बाह्र कुने तालमा, त्यसै गरी रिहारमा रहेको सागर (सगरोम) मा नुहाउने र पूजा आरधना गर्नेहरूको घुइँचो हुने गर्दछ । त्यसै गरी बाँकेको मानखोलाको दुई मुहानमा स्नान गरी र नौवस्ताको शिव मन्दिरमा, राप्तीसोनारी बैजापुरको राप्ती नदीमा स्नानगरी कुम्महरमा भुवँर भवानीको दर्शन गर्ने र मेला हेर्नेको घुईचो हुन्छ । यसै गरी बर्दिया जिल्लाको जयनगरको सदाशिव मन्दिर, ठाकुरद्वाराको ठाकुर बाबा मन्दिरमा नुहाउने र दर्शन गर्ने डफु (ढाक) बजाउने जनमानसको मेला लाग्ने गर्दछ । यस्तै गरी नवलपरासीको देवघाट, कालीगण्डकी किनार, पर्वतको सेतीबेनी, काठमाण्डौं शंखमूलको बाग्मती किनार आदि ठाउँहरूमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो रहनुको साथै देशका विभिन्न नदी, नाला, तालमा स्नान गरी महादेवको पूजा आरधना गर्ने चलन छ ।
थारू समुदायमा माघ १ गते देखि नयाँ वर्ष सुरु भएको मानिन्छ । त्यसैले थारु समुदायमा माघ १ गतेदेखि नयाँ कामको सुरु गर्ने चलन छ । विवाह गर्ने, नयाँ अगुवा, महटावा, भल्मन्सा, चिरक्या, गुरुवा, वरगन्वा, चौकिडरवा पुरानो छोड्ने र नयाँ राख्ने माघबाटै हुन्छ । विकासको लागि कहाँ कहाँ पुल–पुलेसा, बाटो–घाटो, कुला आदि बनाउने वर्षभरिको कार्ययोजना माघमै बनाउने गर्छन् । माघीमा मालिकको घरमा काम गर्ने कमैयाहरु पनि खानपिन र नाचगानका लागि छुट्टी पाउने चलन थियो । हाल नेपालमा कमैया प्रथालाई सरकारले प्रतिबन्द गरेको छ । यसै गरी घरबाट टाढा–टाढा गएका मानिसहरू पनि माघे सक्रान्तिमा घर आउने गर्दछन् । त्यसैले माघलाई मुक्तिको दिन पनि भनिने चलन छ ।
पुरानो चलनअनुसार माघीको दुई दिन अगाडिको दिनलाई माछा मार्ने माघ भनिन्छ । यो दिन सबै गाउँको मान्छे माछा मार्न नदी नालामा जान्छन् भने संक्रान्तिको एक दिन अगाडि सुँगुर, बँगुर मारी मासु काट्ने दिन (सुवरमर्ना दिन÷जीटा मर्ना दिन) भनिन्छ । सुँगुर बँगुर मार्दा भाला÷झिरले गोपेर, बन्चरोले हानेर मार्ने चलन छ । यस दिन बेलुका सबै गाउँका मानिस “महटावक” घर रातभर ढुम्रु÷ढमार गीत गाउँदै र मघौता नाच नाची रमाइलो गरी रातभर जाग्राम बस्ने चलन छ । “धुम्रु÷धमार”को पैधार र भाषा शैली तथा लय थरि थरिका हुन्छन् । यसमा यस्तो गीत गाइन्छ ।
जस्तै :
उटहरि लाला रे हरी माठ कही सेडुरा म्वार हारी गैल हो
ढरल रे सासु ससुराक सही दान रे लाला ।
सटी जैवु रे डैया सटी जैवु रे मै
नाना बीरासँग सटी जैवु ।।
उटहरि लाला रे हरी माठ कहीँ टिकुली म्वर हारी गैल हो
ढरल रे सासु ससुराक सहीडान रे लाला ।
सटी जैवु रे डैया सटी जैवु रे मै
नाना बीरासँग सटी जैवु ।।
बिहान हुन लागेपछि भाले नबास्दै नाच्दै, ढ्वाल, दफु, माडल बजाउँदै आ–आफ्नो पायक पर्ने नजिकको नदी, नाला, सागरमा नुहाउन जाने गरिन्छ । जसलाई “माघ लहान” भनेर जानिन्छ । माघ नुहाउने ठाउँमा पुगी यसरी गीत गाउने चलन छ ।
बाबाकी सगरवा, मुरीया लाहान ऐली हा ….
सखिय हो, कौन घाट करी मुरीया लाहान । २
बाबाकी सगरवा, मुरीया लाहान ऐली हा …
सखिय हो, यह घाट करवी मुरिया लाहन । २
नुहाइसकेपछि महटावाको घरबाट लगिएको चामलको सादा सेतो टिका बनाएर महटावाले तथा नुहाउन गएका आफुभन्दा ठूला मान्यजनहरूबाट टीका लगाउने र ढोग सलाम गर्ने गरिन्छ । त्यसपछि फेरी घरतर्फ नाच्दै गाउँदै आउने चलन छ । घरतर्फ आउँदा यसरी गीत गाईन्छ ।
बाबाकी सगरवा, मुरिया लाहान गैनु हाँ ….
सखिय हो, टिकुली छुटल पानी घाट २
बाबाकी सगरवा मुरिया लाहान गैनु हाँ …
सखिय हो सत्यहन लेख हम्र घर अइली २
नुहाएर आउनेहरूका लागि शुभ साइत बनाउन गाउँका युवतीहरूले बाटोमा लोटा, गिलास, कचौरा र गाग्रीको कलश बनाएर राखेका हुन्छन् । नुहाएर आउनेहरूले त्यसमा आ–आफ्नो इच्छा र गक्ष अनुसार रुपैया पैसा राखी दिन्छन् र महटावाको घर पुग्छन् । महटावाको घरमा दुई चार गीत गाएर आ–आफ्नो घर तर्फ फर्किन्छन् । घर आइसकेपछि सबभन्दा पहिले “निश्राउ कहर्ना” गरिन्छ । “निश्राउ कहर्ना” भन्नाले चामल दाल, नुन, मास एउटा भाँडोबाट अर्को भाँडोमा तीन, पाँच अथवा सात अज्जुली (उजरा) चेली बेटीको नाममा अलग्याइन्छ । “निश्राउ कहार्ने”को उद्देश्य गएको वर्षभरी आफूले जानी नजानी नराम्रो कामको पाप, दोष कटोस, भनी र अब आउने दिन स्वच्छ, पवित्र, राम्रो काम गर्ने, राम्रो मान्छे बन्ने भनेर “निश्राउ कहार्ने” गरिन्छ । आफ्ना हजुर बुवा, हजुर आमा, बाबा, आमा, लगायत आफुभन्दा जेष्ठ नागरिकहरूलाई ढोग सलाम गर्ने र आर्शिवाद लिने गरिन्छ । महिलाहरूले आफुभन्दा मान्यजनहरूको खुट्टा धोई ढोग÷सलाम गरी आफ्नो गक्ष अनुसार दिएको रुपैंया पैसा, कपडा दान दिने÷ लिने चलन पनि छ । निश्राउ कहारेर स–परिवार सँगै बसी आफ्नो घरमा बनेको परिकार ढिक्री, अनदीको रोटी, माछा, मासु, जाडँ, रक्सी खाने र सुख, दुःखका कुराकानी गर्दै अगामी वर्षको योजना बनाइन्छ । यस दिनलाई पुरुषहरूको माघी भनी जानिन्छ ।
माघी मनाउने क्रममा एक घरबाट अर्को घर गरी सबै गाउँ भरी जाने ढोग सलाम गर्न आउने आफन्तजनहरूलाई मीठो मसिनो घरमा जे छ ढिक्री, रोटी, जाडँ, रक्सी र सुंँगुरको मासु खुवाएर पठाउने चलन छ । बेलुका पख भएपछि केटा, केटी, युवा, युवती, महिला, पुरुष आ–आफ्नो टिम जसरी पहाडी समुदायमा तिहारमा देउसी भैलो खेलिन्छ त्यसरी नै नाचगान गर्ने चलन छ । माघको दोस्रो दिन दुई गतेलाई महिलाको माघी (जन्नीनक माघ÷माघी दिवानी) भनिन्छ । यस दिन महिलाहरू माघ मनाउने र पुरुषहरुले घरमा आएका पाहुनाहरूलाई खुवाउने गरिन्छ । यस दिन माघ एक गते चेलीबेटीका नाममा अलग्याइएको “निश्राउ” चामल, दाल, नुन, मासका साथै थप विभिन्न खाने परिकारहरु ढिक्री, रोटी, तरकारी, माछा, मासु आदि सहित गक्षअनुसार आफ्ना चेलीबेटीलाई दान दक्षिणाका रुपमा कपडा पनि दिने चलन रहेको छ । चेलीबेटी नभएकाहरूले पुरानो चलनअनुसार दलित समुदायका मानिसहरू जसले सिलाई, आरन काम गरिदिन्छन् उनीहरूलाई दान गर्नेे चलन छ साथै यस दिन नव विवाहित दुलाहाहरूले आफ्ना सासु ससुरालाई आगो ताप्नका लागि ससुरालीमा दाउरा दिन जाने चलन छ ।
यस दिन महटावाको निर्देशन अनुसार अगुवाले गाउँको सबै (गरढुरेन) घर मालिकहरूलाई बरघरको घरमा जम्मा हुने भनी डाकँ हाल्छ र घर मुलीहरू एक एक भाँडा (गोल्रा) जाँड, रक्सी लिएर बरघरको घरमा भेला हुने चलन छ । यस भेलामा पछिल्लो वर्षमा भएको कामको समिक्षा र आगामी दिनको कार्ययोजना बनाइन्छ । यहि समयमा गाउँको अगहवा, महटावा (बरघर), भल्मन्सा, चिरक्या, वरगन्वा, चौकिदरवा, गुरुवा छोड्ने र एक वर्षको लागि नयाँ चुन्नेर नियुक्ति दिने सर्व सहमतबाट पारित हुन्छ । यसलाई थारु भाषामा “बखेरी बैठना” पनि भनिन्छ । पुनः बेलुका घर घरमा मघौता नाच नाच्न सुरु हुन्छ । झाली, कस्तार, मजुरा थपडी बजाउँदै परम्परागत आफ्नै मौलिकतामा निकै रमाइलो गर्दै नाच्ने चलन छ । यसरी नाच्ने क्रममा यस्ता खालको गीत गाउँने गरिन्छ ।
नेगटी घुमटी ऐली हाँ, गोरवा पीरैल रे हाँ …
सखिए हो, आई पुगली हम्र हजुरक डुवार ।।
बनिया बजार गैनु सेंडुरा मोलैनु रे हाँ …
सखिए हो, कहिड्या र बनिया सेंडुरक मोल ।।
यिहर छामो गोझीया वहर छामो गोझीया रे हाँ …
सखिए हो, डाम डरटी हजुर मन पसटा ।।
यसरी नाच्ने क्रममा विषेष गरी घरमूली तथा नयाँ दुलहाहरूले पैसा लुटाउने चलन छ । दर्शकहरूले पनि ईच्छा अनुसार लुटाउने गर्दछन् । पैसा लुटाउदा गुन्द्री तथा डरी बिछ्याएर पैसा लाइनैसँग राखेर नाच्नेले उल्टो छाती बनाई मुखले पैसा टिप्ने चलन छ । यसै क्रममा पैसा लुटाउने र लुट्नेको कस्ले जित्छ भनी होड बाजी पनि चल्दछ र घरमूलीले आफ्नो ईच्छा अनुसार चामल, पैसा र एक बोटल रक्सी दिने चलन छ । यसरी माघ मनाउने र नाँच्ने क्रम तीन दिनसम्म चल्दछ ।
माघमा नाचँेको दान दक्षिणाले पुनः पार्टी खाने चलन छ । जसलाई छोट्की माघ भनिन्छ । छोट्की माघमा पनि कोही माछा मार्न जाने, कसैले घर घरबाट जाँड, रक्सी, तरकारी, नुन, तेल उठाउने र कसैले मासु काट्ने गरी सामुहिक रूपमा खानपिन गरी छोट्की माघ मनाइन्छ । यस पर्वमा आ–आफ्नै टोलीका केटा, केटी, युवा, युवती, महिला, पुरुष सम्पूर्णले नाचगान रमाइलो गर्दै यो पर्वलाई एक वर्षको लागि विदा गरिन्छ ।
वास्तवमा प्राचीन कालदेखि थारुहरूको चलन चल्तीमा रहेको महत्वपूर्ण र एक ठूलो पर्व माघ हो । नयाँ वर्षका रुपमा समेत मनाइने यो पर्व थारुहरूको आफ्नै भाषा, परम्परा, संस्कृति र संस्कारलाई छोडी पछिल्ला दिनहरूमा यो पर्व गाउँमा पुरानो संस्कार र परम्परा अनुसार मनाउन छोडिदै जान थालेको छ । यो पर्वका बेला थारु गाँउहरू सुनसान देखिनु दुःखद पक्ष हो । आजभोलि शिक्षा आधुनिकीकरण र अन्य समुदायको प्रभावका कारण फरक तरिकाले मनाउने प्रचनलाई थारूहरूले आफ्नो परम्परागत मूल्यमान्ययता, भाषा, धर्म, संस्कृति, संस्कार परम्परा, रितिरिवाज, भेष भुषा, मौलिक संस्कृतिको संरक्षण र संम्बद्र्धनमा ध्यान दिनु पर्ने आजको आवश्यकता देखिन्छ ।
अन्तमाः वि.स. २०७७ सालको थारु सम्वत् नयाँ वर्ष २६४४ सालको उपलक्ष्यमा देश विदेशमा रहनु हुने आफन्तजन, उद्योगी, ब्यापारी, राजनीतिक कर्मी, निजामती कर्मचारी, समाजसेवी, संघसंस्था, शिक्षाप्रेमी लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरूमा यस वर्षको माघी संक्रान्तिको पावन अवसरमा शुख, शान्ति, समृद्धि दिर्घायु एंव उत्तरोउत्तर प्रगतिका साथै विश्वभरि फैलिएको कोभिड –१९ महामारीलाई परास्त पार्ने शक्ति प्राप्तहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
बाँसगढी–८, भैसासुर (बर्दिया)
हाल : कोहलपुर, बाँके