सम्पादकीयः विपद्को जोखिम र पूर्वतयारी



यो वर्षको बर्सात्को मौसम सुरु भएको छ । नेपालको पूर्वी क्षेत्रबाट मौसम भित्रिएको छ । मौसम बिस्तारै पश्चिमतर्फ आउने क्रममा रहेको छ । नेपालमा हरेक वर्ष बर्सात्को मौसममा हुने बाढी, पहिरो, डुबान, कटान लगायतबाट दर्जनौँ नागरिकको ज्यान जाने र करोडौँ अर्बौँ रूपैयाँ बराबरको धनमाल भौतिक संरचनाको क्षति हुने गरेको तथ्यांक छ । पहाडी भेगमा बाढी पहिरो तथा तराईका स्थानहरूमा बाढी र डुबान, कटानका जोखिमबाट हरेक वर्ष नागरिकहरू पीडित हुने गरेका छन् । विपद्को जोखिम न्यूनीकरण तथा रोकथामका लागि सम्बन्धित सरोकारवाला निकायले पूर्वतयारी गर्नु जरुरी छ । विपद्को जोखिम न्यूनीकरणमा विपद् सम्भाव्य क्षेत्रको पहिचान, जोखिमको विश्लेषण, मूल्यांकन, विपद् रोकथामका लागि गर्न सकिने उपायहरू र जोखिम कम गर्न गरिने कार्यहरूको पूर्वतयारी गरी अल्पकालीन तथा दीर्घकालीन रूपमा जोखिम न्यूनीकरणका लागि आवश्यक पहलकदमी लिनु जरुरी देखिन्छ । विपद् आइपरे लगत्तै घटनास्थलमा गरिने खोज उद्धार, सुरक्षित ठाउँमा सार्ने र राहत वितरणसम्बन्धी कार्यहरूको तयारी गर्न जरुरी छ । वर्षाको समय प्रायः असारदेखि भदौ असोजसम्म विपद् जोखिम हुने गर्दछ । विपद्को पूर्वतयारी, प्रतिकार्य र पुनस्र्थापनामा आवश्यक सावधानी अपनाउने र कार्ययोजना बनाइ कार्यान्वयन गर्न जरुरी छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसारा केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहने व्यवस्था छ । यसले विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीति तथा योजनाहरू तर्जुमा गर्ने कार्य गर्दछ । परिषद् मातहतमा रहने गरी गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति रहने र उक्त समितिअन्तर्गत रहने गरी राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्था गरिएको छ । गृहमन्त्रीको अध्यक्षतामा राष्ट्रिय कार्यकारी समिति रहेको र समितिले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको केन्द्रीय निकायको काम गर्दछ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति, र स्थानीय विपद् व्यवस्थापन समितिको व्यवस्था गरी प्रदेश, जिल्ला र स्थानीय स्तरसम्म विपद् व्यवस्थापन गर्न आआफ्ना काम, कर्तव्य र अधिकार तोकिएको छ । प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षता, जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षता तथा स्थानीय तहमा प्रमुख÷अध्यक्षको अध्यक्षतामा विपद् व्यवस्थापन समिति रहेका हुन्छन् । विपद्को समयमा सबै अंगहरूले पूर्वतयारी गर्न जरुरी छ । पहिलो कुरा त सम्भावित विपद् जोखिम हुने स्थानको पहिचान गरी त्यहाँ आवश्यक तयारी गर्न जरुरी छ । जोखिम भइहालेमा तत्का उक्त ठाउँमा उद्धारका लागि आवश्यक सामाग्री, जनशक्तिको तयारी तथा उद्धारपश्चात् राख्नका लागि आवश्यक स्थानको पहिचान गरी तयारी गर्न जरुरी छ ।

त्यसैगरी आवश्यक खाद्यान्न, टेन्ट, पाल तथा औषधीजन्य बस्तु, एम्बुलेन्स, अस्पताल तथा चिकित्सक लगायत आवश्यक सबै चिजहरूको बन्दोबस्ती गरेर सम्भावित विपद् जोखिमबाट नागरिकलाई हुने क्षतिबाट जोगाउन आवश्यक कदम चाल्नु पर्दछ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सम्बन्धित सरोकारवाला निकायले विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, गैरसरकारी संस्था तथा सामाजिक अभियन्ता र स्वयंसेवकहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न जरुरी छ । विपद् व्यवस्थापन गर्नका लागि हरेक नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्दछ । नेपालमा बर्सेनि प्राकृतिक विपद्बाट धेरैले अकालमा ज्यान गुमाउनका साथै ठूलो धनजनको क्षति हुने गरेको छ ।महत्वपूर्ण भौतिक संरचना र पूर्वाधारहरू भत्किँदा राज्यले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्दछ । विपद्मा उद्धार तथा राहतका कार्य, क्लस्टर सक्रियकरण, सुरक्षाकर्मी परिचालन, बाढी पूर्वचेतावनी प्रणाली जस्ता कार्यहरू तयारी अवस्थामा राखेर परिचालन गर्न आवश्यक छ । यसका साथै समुदायस्तरमा विभिन्न सचेतनाका कार्यक्रमहरू पुराउनु पर्दछ । सरकारले पनि विपद् व्यवस्थापनको क्षेत्रमा आवश्यक बजेटको व्यवस्थापन गर्न जरुरी छ । आवश्यक जनशक्तिलाई तालिमको व्यवस्था तथा उपकरणहरूको व्यवस्था गर्न आवश्यक छ । विपद् जोखिमका क्षेत्रहरूको अवस्था र स्थितिबारे निरन्तर सूचना संकलन गरी ती क्षेत्रको निरन्तर निगरानी, विपद्बाट हुने तनाव न्यूनीकरण गर्न मनोपरामर्शदाता, आमसंयन्त्रको परिचालन लगायतका पूर्वतयारी गरी जोखिमलाई न्यूनीकरण गर्न आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार