करिब दुई दशकअघि निर्माण गरिएका ती भवनमध्ये पक्की छत भएको भवनका दुईवटा कोठाका झ्याल ढोकादेखि निकाल्न मिल्ने सबै चिजहरू गायब छन् । टिनको छानो हुनेगरी बनाइएको भवनको त छानोको पनि नामोनिसान छैन । बालबालिकाहरूका नाममा बजेट खन्याइएका उक्त भवनका कोठाको फर्स (भुइँ)मा रूखहरू उम्रिएका छन् । गाउँलेहरू ती भवनहरूलाई नेताहरूले ‘पैसा खान’ (भ्रष्टाचार)का लागि बनाएको योजनाको संज्ञा दिन्छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको दक्षिण पश्चिममा अवस्थित एउटा भारतीय सीमावर्ती गाउँ हो नन्दई गाउँ । यो गाउँ नेपालगन्ज उपमहानगरको हिस्सा भएपनि विकासका दृष्टिमा उपेक्षित गाउँहरूमध्ये एक हो । सोही नन्दई गाउँका स्थानीयहरू गाउँमा करिब दुई दशकअघि निर्माण भएर हाल खण्डहर अवस्थामा रहेका दुईवटा भवनलाई हेरेर दिक्दार छन् । ती खण्डहर अवस्थामा रहेका भवनहरू एउटा विद्यालयको लागि बनाइएका थिए । एउटा पक्की छतसहितको दुई कोठे भवन र अर्काे टिनको छानो हुनेगरी निर्माण गरिएको दुई कोठे टहरासहितका भवनहरू गाउँबाट करिब आधा किलोमिटर पर खेतहरूको बीचमा छन्, जहाँसम्म पुग्न बाटोसमेत छैन ।
करिब दुई दशकअघि निर्माण गरिएका ती भवनमध्ये पक्की छत भएको भवनका दुईवटा कोठाका झ्याल ढोकादेखि निकाल्न मिल्ने सबै चिजहरू गायब छन् । टिनको छानो हुनेगरी बनाइएको भवनको त छानोको पनि नामोनिसान छैन । बालबालिकाहरूका नाममा बजेट खन्याइएका उक्त भवनका कोठाको फर्स (भुइँ)मा रूखहरू उम्रिएका छन् । गाउँलेहरू ती भवनहरूलाई नेताहरूले ‘पैसा खान’ (भ्रष्टाचार)का लागि बनाएको योजनाको संज्ञा दिन्छन् ।
ती भवनहरू संविधान सभा सदस्य तथा हालका लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी तत्कालीन परसपुर गाविसका अध्यक्ष रहेका बेला निर्माण गरिएका हुन् । कुर्मीका अनुसार ती दुवै भवनहरू नन्दई गाउँबाट करिब दुई किलोमिटर टाढा रहेको वडा नम्बर १७ कै परशपुर गाउँस्थित ज्ञानसागर माध्यमिक विद्यालयको शाखा सञ्चालन गर्ने भनेर निर्माण गरिएका थिए । कुर्मीले मिसन टुडेसँग कुराकानी गर्दै भवन निर्माणमा कति बजेट खर्चिएको थियो भन्ने यकिन सम्झना नभएपनि करिब २० देखि २५ लाख खर्चिएको बताए । ती भवनको प्रयोग गर्न नपाउँदै आफू स्थानीय निकायबाट बिदा हुनुपरेकोले बेवारिसे हुँदै अहिले खण्डहर अवस्थामा पुगेका कुर्मीको तर्क छ ।
तत्कालीन परसपुर गाविसको दुईपटक अध्यक्षको जिम्मेवारीमा रहेका कुर्मी आफूले ज्ञानसागर माविको विकास गरेर उच्च माविसम्म बनाएको दाबी गर्छन् । विद्यालयको जग्गा कम भएकोले साँघुरो हुने भएपछि आफ्नो पछिल्लो कार्यकालमा २०६२ सालतिर नन्दई गाउँमा रहेको १७ कठ्ठा ऐलानी जमिनमा कक्षा पाँचसम्म पढाइका लागि विद्यालयको शाखा सञ्चालन गर्नेगरी ती भवनहरू निर्माण गरिएको उनले बताए ।
तर, २०६४ सालमा आफू संविधान सभा सदस्य भएपछि ती संरचनाहरू प्रयोगविहीन हुन पुगेको र प्रयोगतिर कसैले ध्यान नदिँदा सामानहरू चोरी भएर जीर्ण बनेको उनले बताए । उनले ती भवनको प्रयोग नहुनुमा विद्यालय व्यवस्थापन समिति र निवर्तमान वडाध्यक्ष अजय पाठकलाई दोषी देखाए । ‘भवन बन्नेबित्तिकै हामी स्थानीय निकायबाट बाहिरिनु प¥यो । बीचमा विद्यालयलाई हेर्नतिर कसैको ध्यान गएन । पछि स्थानीय तहमा वडाध्यक्ष भएर आएका अजय पाठकले पनि विद्यालय चलाउन सकेनन्,’ उनले भने ।
तर, निवर्तमान वडाध्यक्षले मात्रै होइन वडा नम्बर १७ का वर्तमान वडाध्यक्ष एवं कुर्मीकै भाइ लक्ष्मणप्रसाद वर्माले पनि ती भवन जीर्ण हुनु र अनुपयोगी अवस्थामा रहनुलाई गम्भीरतापूर्वक लिएका छैनन् । यसको अर्थ पटक पटक आफैँ नीति निर्माणको तहमा रहेका, बजेटदेखि आफ्नै भाइ वडाध्यक्ष रहेको वडाको विकासमा प्रत्यक्ष भूमिका खेल्नसक्ने कुर्मी स्वयंले ती भवन खण्डहर हुनुलाई गम्भीरतापूर्वक लिएका छैनन् ।
वडाध्यक्ष वर्मालाई अहिले नन्दई गाउँमा विद्यालय सञ्चालन गर्नु आवश्यक छ जस्तो पनि लागेको छैन । बरु उनको जोड वडा कार्यालयको भवन बनाउनेतिर छ । जुन वडा कार्यालय सोही ज्ञानसागर माध्यमिक विद्यालयकै हातामा रहेको एउटा भवनमा सञ्चालन भइरहेको छ । वडाध्यक्ष वर्माले भने, ‘अहिले हामी विद्यालय सञ्चालन भइरहेकै ठाउँमा नयाँ भवन बनाउँदै छौँ । एउटा भवन बनिसकेको छ । अर्काे भवन निर्माण हुँदैछ । बरु वडा कार्यालय चाँडो अन्त सार्न पाए हुन्थ्यो भन्नेतिर लागिरहेका छौँ ।’
वडाध्यक्ष वर्मालाई नन्दई गाउँमा विद्यालय आवश्यक रहेको जस्तो पनि लाग्दैन । उनले भने, ‘नन्दई गाउँ यहाँका धेरै गाउँहरूलाई उल्टोतिर पर्छ । त्यहीँ नजिकका एक दुई गाउँका लागि ठिकै हो । त्यसैले यताको भइरहेको काम सकियो भने विचार गरौँला ।’
तर, नन्दई गाउँका एक बालक जो नेपालगन्जको एक निजी विद्यालयमा कक्षा ४ मा अध्ययन गर्छन्, उनलाई हरेक दिन करिब एक घण्टा यात्रा गरी विद्यालय पुग्नुपर्छ । स्थानीय एक बालिका जो कक्षा ३ मा पढ्छिन् उनलाई दैनिक करिब आधा घण्टा लगाएर परशपुरस्थित ज्ञानसागर माविमा पुग्नुपर्छ । नन्दई गाउँनजिकै रहेको थुकैलाका वसन्तकुमार ठाकुर भन्छन्, ‘हाम्रा बालबच्चाहरू घामपानीमा आधा एक घण्टा हिँडेर बजारतिरका स्कुलहरू पुग्नुपरेको छ । खेतको बीचमा बनाइएका ती विद्यालय भवनले हामीलाई गिज्याउन थालेको करिब दुई दशक भइसक्यो ।’
विद्यालय भवन निर्माण हुँदाका बखत गाविस उपाध्यक्ष रहेका र हाल नेपाली काँग्रेसको वडा सभापति रहेका नन्दई गाउँ निवासी रामकुमार यादव पनि ती भवनहरू असल उद्देश्यकै लागि निर्माण गरिएको दाबी गर्छन् । तर, आफूहरू जिम्मेवारीबाट बाहिरिएपछि अरुले प्रयोगमा ल्याउनतिर ध्यान नदिएको भन्दै कुर्मीकै तर्कमा सही थपे । जबकि हाल तीन वर्षयता वडा नम्बर १७ मा कुर्मी र यादवकै पार्टी नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष छन् ।
वडाध्यक्ष वर्मा प्रदेश सभा सदस्य रहेका कुर्मीका सहोदर भाइ हुन् । तरपनि, दुई दशकअघि निर्माण भएका ती खण्डहर भवन र स्थानीय बालबालिकाले भोगिरहेको कष्टतिर कसैले चासो दिएका छैनन् । खण्डहर भवनहरूले स्थानीयवासीहरूलाई चिढ्याइरहेका छन् । जीर्ण विद्यालय भवन अहिले लागूऔषध दुव्र्यसनीहरूको आश्रय स्थलसमेत बनेको स्थानीयहरू बताउँछन् ।
पशुहरूलाई चराउने क्रममा जीर्ण विद्यालय भवनको ओत लिएर बसेका एक स्थानीयले भने, ‘कि बनाउन हुन्थेन, बनाइसकेपछि प्रयोग पनि गर्नुपथ्र्याे । यस्तो हालत देखेपछि यो बजेट हजम गर्नका लागि बनाएको हो भनेर कसरी नभन्ने ?’









प्रतिक्रिया दिनुहोस्