शुभाकर विश्वकर्मा । बाँसगढी (बर्दिया) ।
बर्दियाको बाँसगढी नगरपालिकाले जिल्लामै पहिलोपटक प्राङ्गारिक (जैविक) मल कारखाना निर्माण गरिरहेको छ । नगरपालिकामा बढ्दो रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्ने, त्यसले मानव स्वास्थ्यमा पारेको असर न्यूनीकरण र माटोको उर्वराशक्ति घट्न नदिने उद्देश्यले कारखाना निर्माण सुरु गरिएको हो । कारखानाको अहिले संरचना निर्माणको काम धमाधम भइरहेको छ । कूल चार करोड लागतमा बाँसगढी नगरपालिका–४ मा कारखानाको संरचना निर्माणको काम भइरहेको छ । प्राङ्गारिक ‐जैविक) मल कारखाना चार बिघा सात कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सो कारखाना निर्माणका लागि बाँसगढी नगरपालिकाले ३ करोड रूपैयाँ विनियोजन गरेको छ ।
कारखाना निर्माणकै लागि लुम्बिनी प्रदेश सरकारले समेत १ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । चालू आवको अन्त्यसम्म निर्माण सम्पन्न गरी सञ्चालन गर्नेगरी काम तीव्र गतिमा भइरहेको हो । बाँसगढी नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा नगरपालिकामा ‘जैविक मल प्लान्ट-प्राङ्गारिक मल कारखाना निर्माण गर्न विशेष पहल चालिने छ ।’ भन्ने नीति लिएको थियो । नीति तथा कार्यक्रममा भनिएको थियो, ‘महिलालगायत समावेशी समूहबाट उत्पादन तथा वितरण गरिने प्राङ्गारिक मलमा विशेष अनुदान दिने व्यवस्था मिलाइनेछ ।’
आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रममा समेत प्राङ्गारिक मल कारखाना निर्माणलाई विशेष प्राथमिकता दिइएको छ । चालू आर्थिक वर्षमा बासँगढीले कृषि विकासलाई पहिलो प्राथमितामा राखेको छ । ७बुँदे कृषिसम्बन्धी व्यवस्थाको दोस्रो नम्बरमा कारखाना निर्माणको नीति लिएको नगरपालिकाले ‘फोहोरमैला र झारपातको प्रयोग, जैविक मलमा सदुपयोग’ भन्ने नारानै तय गरेको छ ।
आर्थिक वर्ष २०८१-०८२ मै प्राङ्गारिक ‐जैविक) मल कारखाना निर्माण गरी सञ्चालन गर्ने नीति लिइएको छ । बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्का बर्दिया जिल्लामा पहिलोपटक स्थानीय तहको सक्रियतामा कारखाना निर्माण कार्य सुरु भइसकेको बताउँछन् । उनका अनुसार नगरपालिकाले ठेक्का प्रक्रियामार्फत कारखाना निर्माण गरिरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म संरचना निर्माण गरिसक्ने र लगत्तै सञ्चालन गर्नेगरी काम भइरहेको छ ।
कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले कारखाना निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताए । नगर प्रमुख खड्काले भने, ‘प्राङ्गारिक मल तथा जैविक खेती पद्धतिलाई अवलम्बन गर्ने उद्देश्य रहेको छ । माटोको उर्वराशक्ति कम नहोस् । रासायनिक मल प्रयोगलाई निरुत्साहित गर्ने हाम्रो लक्ष्य छ । कारखाना सञ्चालनपछि मल उत्पादनमात्रै होइन । सबै वडामा पुगेर माटो परीक्षण गर्नेछौँ ।’
कारखाना निर्माण सम्पन्न भइ सञ्चालन भएपछि कृषकले उत्पादन गर्ने कार्यलाई प्रोत्साहन गरिने नगरपालिकाले जनाएको छ । यसैगरी माटोको गुणस्तर सुधारका लागि नगरपालिकामै माटो परीक्षण मिनी ल्याबद्वारा नगरक्षेत्रका कृषकहरूको निःशुल्क माटो परीक्षण गर्ने नीतिलाई निरन्तरता दिइएको छ । कारखाना निर्माण हुने क्षेत्रमा अहिलेसम्म तारजाली निर्माण गरेर क्षेत्र निर्धारण गरिएको छ । कूल ९ लाख ८७ हजार ४१२ रूपैयाँमा जैविक कारखानाको तारबार घेरबार निर्माण गरिएको हो । हाल कारखानाका लागि आवश्यक संरचना निर्माणको काम गोरखनाथ रेग्मी जेभीले गरिरहेको छ ।
कारखाना निर्माणको काम २०८१ फागुन १८ गतेबाट सुरु भएको थियो । गोरखनाथ रेग्मी जेभीका प्रतिनिधि सन्तोष रेग्मी भन्छन्, ‘कारखाना निर्माणको काम गरिरहेका छौँ । अहिलेसम्म ३० प्रतिशतसम्म काम सम्पन्न भएको छ । असार २५ सम्म सम्पन्न गरिसक्नुपर्नेछ । मौसमले साथ दियो भने निर्धारित समयमै काम सकिन्छ ।’ उक्त योजनाको कूल लागत ३ करोड ९८ लाख ४१ हजार ३ सय ९६ रूपैयाँ रहेको छ ।
वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलाले बाँसगढीकै सबैभन्दा धेरै जनसङ्ख्या र ठूलो भूगोल भएको वडा नम्बर ४ मा गौरवको योजना निर्माण भइरहेको बताए । उनका अनुसार वडा नम्बर ४ को गौशाला मदाहालामा निर्माण भइरहेको प्राङ्गारिक ‐जैविक) मल कारखाना नगरपालिकाकै गौरवको आयोजना हो । यस योजना निर्माण भइ सञ्चालनमा आएपछि बाँसगढीका बहुसंख्यक कृषकहरूले राहत पाउने उनले बताए । वडा अध्यक्ष बास्तोलाले बाँसगढीका नगर प्रमुख खड्कबहादुर खड्काको विशेष पहलमा कारखाना निर्माण भइरहेको जानकारी दिए ।
वडाध्यक्ष बास्तोलाले भने, ‘नगरपालिकाले दीर्घकालीन सोचका साथ यो काम गरिरहेको छ । पछि मल उत्पादनको लागि आवश्यकताका लागि गौशालासमेत सञ्चालन गरिएको छ । अन्य स्थानबाट समेत चौपाया ल्याउने योजना रहेको छ । पछि किसानले कारखानालाई झारपात दिनेछन् । नगरले नगद प्रदान गर्नेछ ।’ हाल कारखाना निर्माण भइरहेको नगरले सञ्चालन गरेको गौशालासमेत रहेको छ । त्यहाँ हाल २५० वटा जति गाई छन् । १० वटा जर्सी गाई पाल्नको लागि संरचना निर्माण भइरहेको छ । कारखाना सञ्चालनमा आइसकेपछि मल उत्पादनका लागि आवश्यक झारपात तथा गोबर उत्पादन र व्यवस्थापनका लागि ७ बिघाा क्षेत्रफल छुट्याइएको छ । कारखाना र गौशाला रहेको क्षेत्र कूल ११ बिघामा फैलिएको छ ।
बाँसगढीको मुख्य प्राथमिकतामा कृषि
बाँसगढी नगरपालिकाले चालू आर्थिक वर्ष २०८१-०८२ मा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । बाँसगढीले आर्थिक वर्ष २०८०-०८१ मा समेत कृषि क्षेत्रलाई नै मुख्य प्राथमिकता दिएको थियो । नगरपालिकाले नीति तथा कार्यक्रमको पहिलो नम्बरमै कृषिसम्बन्धी नीतिलाई मुख्य प्राथमिकता दिएको छ । नगरले कृषिसम्बन्धी सात बुँदा समेटेको छ । नीति तथा कार्यक्रममा अल्पकालीनदेखि दीर्घकालीन योजनासम्म समेटिएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीले जानकारी दिए ।
उनका अनुसार ‘खाउ आफ्नै बारीको, नखाउ सीमा पारीको’ भन्ने सोच सबै नगरवासीमा विकास गरी स्थानीय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न ‘एक घर एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै नगरपालिकाले ‘फोहोरमैला र झारपातको प्रयोग, जैविक मलमा सदुपयोग’ गर्नको लागि कारखाना निर्माणको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत वलीले बताए । ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नीतिअनुसार नगरपालिकाले कृषकहरूले उत्पादन गरेका कृषिजन्य बस्तुको आधारमा अनुदान दिइरहेको छ ।
अनुदानको मुख्य केन्द्रमा विपन्न वर्ग, न्यून वर्गीय मुक्त कमैया, विपन्न दलित, मुक्त कमलरी, द्वन्द्वपीडित र पिछडिएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ । यस्तै नगरले व्यवसायिक खेती गर्ने उत्कृष्ट कृषक तथा कृषक समूहलाई सम्मानको नीति लिएको छ । स्थानीय हाटबजार सञ्चाललाई प्राथमिकता दिइएको छ ।
‘बाँझो छोडी गाउँको खेतबारी, नजाउ विदेश खोज्न रोजगारी’ भन्ने भावनाको विकास गरी खेतीयोग्य जमीन बाँझो रहन नदिने नीति लिइएको छ । नगरपालिकाभरी सिँचाइ सुविधा विस्तार गर्ने नीति बाँसगढी नगरपालिकाले लिएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादन आलु, प्याजको शीत भण्डारणमा अनुदानको व्यवस्था गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्