राज्यले थापेको धराप (खाल्डो)ले कोहलपुर नगरपालिका–२ गोरखा स्कुल नजिकैका ३३ वर्षीय सरोज मरासिनीको ज्यान लिएको छ । बुधबार राति नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तर्गत हवल्दापुरमा सडक डिभिजन नेपालगन्जको ठेक्कामार्फत ठेकेदारले सडकमा खनेको खाल्डोमा परेर मरासिनीले ज्यान गुमाएका हुन् । नेपालगन्जबाट कोहलपुरस्थित घर फर्किँदै गरेका उनी सवार मोटरसाइकल खाल्डोमा खसेको थियो । राज्यका कारण युवाले ज्यान गुमाउनुपरेको भन्दै अहिले सबैतिर आलोचना समेत भइरहेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बुधबार राति १०ः३० मा कोहलपुर नगरपालिका–२ गोरखा स्कुल नजिकैका ३३ वर्षीय सरोज मरासिनी मोटरसाइकल दुर्घटनामा परे । उनी नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तर्गत कोहलपुर नगरपालिका–१४ हवल्दापुरमा मोटरसाइकल दुर्घटनामा परेका थिए । उनी भे९प ८१५७ नम्बरको मोटरसाइकलमा नेपालगन्जबाट कोहलपुर आउँदै थिए । उक्त सडक दुर्घटनाबारे जिल्ला ट्राफिक कार्यालय बाँकेले भनेको छ, ‘सडक मर्मतका लागि खनिएको खाल्डोमा आफैँ अनियन्त्रित भई उपचारका क्रममा मृत्यु भएको’ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्कर राज पन्तका अनुसार सडक मर्मतका लागि खनिएको खाल्डोमा मोटरसाइकल पल्टिदा चालक गम्भीर घाइते भएका थिए । स्थानीय र प्रहरीले दुर्घटनास्थलबाट उनलाई एम्बुलेन्समा राखेर गम्भीर अवस्थामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पठाएका थिए । लगत्तै डाक्टरले मरासिनीलाई मृत घोषणा गरेको ट्राफिक प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।
सवारी दुर्घटनामा परेको करिब ४० मिनेटपछि ११ः१० मा मृत घोषणा गरिएका मरासिनीको सुरुमा प्रहरीले सवारी चालक अनुमति पत्रका आधारमा पहिचान गरेको थियो । दुर्घटनास्थल अस्थायी प्रहरी चौकी हवल्दापुरबाट एक किलोमिटर पूर्व दक्षिण पर्छ । दुर्घटनास्थल राज्य‐सडक डिभिजन नेपालगन्ज र निर्माण जिम्मा लिएको ठेकेदार) पक्षले सडक मर्मतका लागि भनेर दुई महिनादेखि सडक खनेर अलपत्र छाडेका थिए । मरासिनीले चलाएको मोटरसाइकल सोही खाल्डोमा खसेको थियो ।
बाँकेका दुई ठूला सहर ओहोरदोहोर गर्ने नेपालन्ज–कोहलपुर सडक यहाँको लाइफलाइन सडक हो । यसरी तालुकदार सरकारी निकाय र ठेकेदार पक्षको चरम लापरबाहीका कारण युवाले अकालमै ज्यान गुमाउनु परेको हो
मृतक मरासिनीका ससूरा, बर्दियाको बाँसगढी नगरपालिका–५ का केशवराज पौडेल भन्छन्, ‘राज्यको चरम लापरबाहीले ज्वाईँको अकालमा ज्यान गएको छ । डिभिजन सडक कार्यालयको बेवास्ताका कारण यस्तो घटना घटेको हो । सय मिटर बाटो बनाउन महिनौँ समय लगाउँदा आज होनाहार युवाले ज्यान गुमाउनुप¥यो । यत्रो राजमार्गमा बत्तीकोसमेत व्यवस्था छैन । न त समयमै मर्मत गरेको छ । राज्यले जनताको लागि काल निम्त्याउँदै छ । हिजोको घटना त्यसको उदाहरण हो ।’
नाताले मृतक मरासिनीको जेठान नाता पर्ने एकनारायण अधिकारी राज्य पक्षको गैर जिम्मेवारीपनका कारण नागरिकले अकालमा ज्यान गुमाइरहेको बताउँछन् । सडक मर्मत सुधारमा ढिलापुस्ती गर्दा मानिसको ज्यान गएको उनले बताए । उनी भन्छन्, ‘राज्यकै कारण एक युवाले ज्यान गुमाएको छ । हामीले आफन्त गुमाएका छौँ । यस्ता कुरामा राज्यले अनुगमन र निरीक्षण गर्नुपर्ने थियो । राज्यका निकाय जिम्मेवार बन्न आवश्यक छ ।’ एक हप्तामा सकिने काम महिनौसम्म नगर्दाको परिणाम भएको भन्दै अरु सरोजहरूको ज्यान नगुमाउन सचेत हुनुपर्ने अधिकारीको भनाइ छ ।
उक्त दुर्घटनापछि मृतकका आफन्त मात्रै होइन कोहलपुरका स्थानीयहरूले समेत घटनाप्रति दुःख व्यक्त गरेका छन् । विशेषगरी निर्माण जिम्मा लिएका ठेकेदार र कार्यान्वयन गर्ने सडक डिभिजन कार्यालय नेपालगन्जको चरम लापरबाही भएको उनीहरूको भनाइ छ । स्थानीय डा. देवेन्द्र आचार्यले सडकमा राज्यद्वारा थापिएका यस्ता धरापका कारण कोहलपुरको एक युवकको ज्यान गुमेको बताए । उनी प्रश्न गर्छन्, यसको जिम्मेवार को ? सबै जिम्मेवार नागरिकले पहलकदमी लिनुपर्छ ।
अर्का स्थानीय शरद कोइरालाका अनुसार उक्त सडक खण्डमा एक महिनादेखि अव्यवस्थित रूपमा सडक खनेर राखिएको छ । आफूसमेत यही बाटोमा घसारिएको कोइराला सुनाउँछन् । नेपालगन्ज कोहलपुर सडकखण्डको हवल्दापुर क्षेत्रको दुर्घटनास्थल नजिकै घर भएका विपीनकुमार वर्नवालले उक्त क्षेत्रमा हरेक दिन दुईचार वटा मोटरसाइकल दुर्घटनामा परिरहेको बताए । ‘हिजोसम्म कसैले चासो दिएका थिएनन् । हिजो एकजनाको ज्यान गयो । सबैले चासो दिएका छन् । हेरौ के हुन्छ ।’ उनले मिसन टुडेसँग भने ।
दुर्घटनाको प्रमुख कारणः ठेकेदारको लापरबाही
नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तर्गत तीन स्थानमा सडक मर्मतका लागि सडक खनेर महिनौदेखि अलपत्र छाडिएको छ । हवल्दापुर, भवानीपुर र पिपिरीगरी तीन वटा स्थानमा यस्ता धराप रहेका छन् । सडक डिभिजन नेपालगन्जका डिभिजन प्रमुख नरेन्द्र भट्टका अनुसार सडक मर्मतको जिम्मा माँ त्रिपुरा, पञ्चकोशी र नागदेव कन्ट्रक्सनले ज्वाइन भेन्चरमा निर्माण जिम्मा लिएका हुन् ।
यसको मुख्य ठेकदार हुन्, माँ त्रिपुरा सुन्दरी निर्माण सेवाका दिग्विजय राणा । उक्त कम्पनीले रत्न राजमार्ग क्षेत्रमा विभिन्न स्थानमा खाल्डाखुल्डी मर्मत कार्यका लागि चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत ठेक्का प्रक्रियामार्फत निर्माण जिम्मा पाएको थियो । कार्यालय र कम्पनीबीच निर्माण कार्यका लागि २०८१ कार्तिक महिनामा निर्माण सम्झौता भएको डिभिजन प्रमुख भट्टको भनाइ छ । सम्झौता अनुसार २०८२ वैशासम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । ठेकेदारले सार्वजनिक खरिद् ऐन अनुसार म्याद थपको निवेदन दिएका छन् । कार्यालयले भने म्याद थप गरेको छैन ।
तर, म्याद सकिएको एक महिना बितिसक्दासमेत निर्माण कार्य सम्पन्न हुने सुरसार छैन । ‘निर्माण व्यवसायी हर्जनामा छन् । हर्जना तिरिरहेको छ । कार्यालयले काम सम्पन्न गर्न पाँचपटकसम्म पत्राचार गरिसकेको छ ,’ भट्टले मिसन टुडेसँग भने । कार्यालयले पटकपटक ताकेदा गर्दापनि निर्माण व्यवसायीले ढिलासुस्ती गरिरहेको र मूलतः ठेकेदारकै लापरबाही देखिएको उनको भनाइ छ । पछिल्लो पटक जेठ मसान्तभित्र काम सकाउन अल्टिमेटम दिइएको प्रमुख भट्टले जानकारी दिए ।
उनले भने, ‘यो ठेकेदारको लापरबाही हो । उहाँले समयमै काम सक्नु भएन । अहिले अन्तिम अल्टिमेटम दिएका छौँ । अन्यथा कानूनी प्रक्रिया जान्छौँ ।’ मर्मत कार्य ढिलासुस्तीका विषयमा निर्माण व्यवसायी राणाले नेपालगन्ज–कोहलपुर सडक खण्ड र देउरालीमा काम भइरहेको बताए । उनका अनुसार कार्यालयले पेश्की रकम नदिदाँ निर्माण कार्यमा ढिलाई भएको हो । अबको एक हप्तामै निर्माण सम्पन्न गर्ने राणाले प्रतिबद्धता व्यक्त गरे । उक्त योजना कूल १ करोड २४ लाख रूपैयाँमा निर्माण सम्पन्न हुँदैछ ।
१६ दिनकी छोरी छोडेर विदा भए सरोज

बुधबार राति मृत्यु भएका सरोज पेसाले फर्मासिष्ट थिए । उनले भारतको राजिव गान्धी युनिभर्सिटीबाट बी–फार्मेसी सकेर नेपाल फर्किएको आफन्तले बताएका छन् । रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रूपमा काम गर्थे । उनी दिनहुँ नेपालगन्ज–कोहलपुर ओहोरदोहोर गरिरहन्थे । मरासिनी दुई छोरीका बुवा हुन् ।
उनकी श्रीमतीसमेत स्वास्थ्यकर्मी हुन् । बर्दियाको बाँसगढी माइती घर भएकी मरासिनीकी श्रीमती बाँसगढीस्थित मोतिपुर स्वास्थ्य चौकीमा कार्यरत रहेको आफन्तहरूको भनाइ छ । मृतक मरासिनीकी ४ वर्षकी जेठी छोरी छन् । कान्छी छोरी जन्मिएको १६ दिनमात्रै पुगेको छ । मृतकका ससुरा केशवराज पौडेल भन्छन्, ‘चार वर्षकी छोरी छ । कान्छी भर्खर जन्मेकी । भर्खर १६ दिनमात्रै भएको छ, नानी जन्मेको । सुत्केरी अवस्थामा कस्तो बज्रपात प¥यो ।’
दुर्घटनास्थल नजिकै होटल व्यवसायी गरिरहेका एक व्यवसायीले मिसन टुडेलाई भने, ‘ राति साढे १० बजेतिरको कुरा हो । म क्रिकेट हेरेर आएको थिए । निकै भीड देखे । बुझ्दा दुर्घटना भएको रहेछ । मान्छे धेरै थिए । दुर्घटनामा परेका मानिस लडिरहेका थिए । रगत धेरै बगेको थियो । पिज्जा बर्गरसमेत सडकमा छरिएको थियो ।’ सरोजले सुत्केरी श्रीमतीलाई त्यो नासोसमेत दिन पाएनन् । सुत्केरी अवस्थामा उनकी श्रीमतीको सिउँदो पुछिएको छ । नाबालिका छोरीहरू अभिभावकविहीन भएका छन् ।









प्रतिक्रिया दिनुहोस्