किसानलाई यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर



बाँके ।

कोहलपुर नगरपालिकाले कृषि पेशामा आबद्ध भएका किसानलाई लक्षित गरेर यान्त्रिकीकरणमा अनुदान दिन सुरु गरेको छ । चालू आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजित बजेटबाट १९ वटा मिनिटिलर वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिए ।

सोमबार कोहलपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच वडा नं १ देखि वडा नं १५ सम्मका कृषक, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगर प्रमुख पूर्णप्रसाद आचार्य र नगर उपप्रमुख संगीता सुवेदीले १९ वटा मिनिटिलर वितरण गरेको रोकायले बताए । ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसान लागतमा मिनिटिलर वितरण गरिएको उनको भनाइ छ ।

त्यसैगरी साना सिँचाइ प्रवर्धन कार्यक्रम अन्तर्गत ८० वटा पम्पसेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिए । एउटा मिनिटिलरको करिब १९ हजार रूपैयाँँ मूल्य पर्छ भने पम्पसेट एउटाको मूल्य ९ हजारको हाराहारीमा पर्दछ । त्यसमा कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको हो । मिनिटिलर र पम्पसेट वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका निमित्त किसानहरूलाई यान्त्रिकीकरणमा सहयोग गरिएको बताए ।

‘कोहलपुर नगरपालिकामा किसानको सङ्ख्या पनि ठूलो छ,’ उनले भने, ‘ती किसानहरूलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा जोड दिँदै उनीहरूलाई कृषि यान्त्रिकीकरण, बीउबिजनमा अनुदान तथा प्राविधिक सहयोग नगरपालिकाले गर्दै आएको छ ।’ उनले कोहलपुर नगरपालिकाले किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको पनि बताए ।

‘खासगरी साना किसानहरूलाई प्रोत्साहन गर्ने गरी हाम्रा नीति तथा कार्यक्रम र बजेट निर्माण हुने गरेको छ,’ उनले भने, ‘आगामी वर्ष पनि किसानका माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरिने छ ।’ कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगीता सुवेदी पनि किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको बताइन् । उनले कृषि पेशालाई व्यवसायिक बनाउँदै लैजानका निमित्त मागमा आधारित योजनाहरू कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन् ।

किसानहरूले अनुदानमा प्राप्त कृषि उपकरणहरूले उनीहरूको काममा सहजता थप्ने उनको भनाइ थियो । भेरी ज्येष्ठ नागरिक कृषक समुहको अध्यक्ष मोहन रिजालले नगरपालिकाले अनुदानमा कृषि उपकरणहरू उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरे । उनले कृषि पेशालाई व्यवसायिक बनाउनका निमित्त मल, बीउबिजन तथा कृषि उपकरणमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताए । यस्ता सहयोगले साना किसानहरू लाभान्वित हुने उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाले च्याउको बीउ तथा खाद्यान्न बालीमा अनुदान दिने गरेको छ । यस्तै साना सिँचाइको संरचना निर्माण गर्ने काम पनि कोहलपुर नगरपालिकाले गर्दै आएको आर्थिक विकास समितिका संयोजक अनिता बुढाक्षेत्रीले जानकारी दिइन् ।

‘कुलो निर्माण, स्यालो ट्यूववेल जडान, तरकारी प्रवद्र्धन कार्यक्रम, बीउबिजन लगायत प्राविधिक सहयोग, मौरी पालक किसानहरूलाई आवश्यक सामग्रीको सहयोग पनि नगरपालिकाबाट हुँदै आएको छ,’ उनले भनिन्, ‘यसले किसानहरूलाई कृषि पेशाप्रति उत्प्रेरित गरेको महसुस हामीलाई भएको छ ।’

चालू आर्थिक वर्षका लागि कृषि विकास शाखाको कूल बजेट एक करोड ४१ लख ५० हजार रहेको छ । त्यसमध्ये निशर्ततर्फ ३० लाख ५० हजार र शसर्ततर्फ एक करोड ११ लाख रूपैयाँँ बजेट विनियोजन भइ कार्यान्वयन भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ६ गते मंगलबार