गुर्भाकोट बहुप्राविधिक शिक्षालयमा नर्सिङ पढाइ सुरु गर्न अनुमति



नन्दराम जैशी । सुर्खेत ।

जिल्लाको गुर्भाकोट नगरपालिका–१३ स्थित बहुप्राविधिक शिक्षालयमा नर्सिङ पढाइ सुरु गर्न अनुमति दिइएको छ । संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८२-०८३ देखि प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतामा यही वैशाख २६ गते बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को २०७औँ बैठकले नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘गुर्भाकोट नगरपालिकाद्वारा जग्गा व्यवस्थापन गरी तत्कालका लागि स्थानीय तहबाटै भौतिक पूर्वाधार तथा आर्थिक स्रोत व्यवस्थापन गर्ने गरी परिषद्को आंगिक शिक्षालयका रूपमा गुर्भाकोट बहुप्राविधिक शिक्षालय, सुर्खेतको स्थापना गरी शैक्षिक सत्र ०८२-०८३ देखि प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।’

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा आगामी शैक्षिक सत्रदेखि नर्सिङ कार्यक्रम सुरु हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । घर नजिकै नर्सिङ अध्ययन गर्न पाइने भएपछि नर्सिङ पढ्न बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनुकासाथै आर्थिक खर्च पनि कम हुने स्थानीयले अपेक्षा गरेका छन् ।

गुर्भाकोट नगर प्रमुख हस्त पुन लगायतको स्थानीय नेतृत्वको अथक प्रयास, सम्बन्धित निकायको समन्वय तथा सहयोगबाट गुर्भाकोट नगरपालिकामा नर्सिङ कार्यक्रम सुरु गर्न सफल भएको हो । कर्णाली प्रदेशमै पहिलोपटक चिकित्सा शिक्षा आयोगको नयाँ कानुन बमोजिम सम्बन्धन प्राप्त गर्दै सीटीईभीटीले गुर्भाकोट बहुप्राविधिक शिक्षालय स्थापना गरेको थियो ।

पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वसामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल, वर्तमान सामाजिक विकासमन्त्री घनश्याम भण्डारी लगायतको विशेष पहल तथा मार्गदर्शनमा यस ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको गुर्भाकोट नगर प्रमुख हस्त पुनले बताए ।

उनले भने, ‘यो कामका लागि मुख्यमन्त्री यामलाल कँडेल, शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को केन्द्रीय तथा प्रदेश कार्यालय, पूर्वमुख्यमन्त्री जीवन शाही, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि लगायत सबैको ऐक्यबद्धता र सहकार्यले गाउँमै नर्सिङ पढाउने सपना साकार भएको छ ।’

गुर्भाकोटको पहिचान अब मेडिकल शिक्षाको केन्द्रको रूपमा पनि अगाडी बढ्नेछ । यसैमार्फत समृद्ध गुर्भाकोटको यात्रा अझ द्रुत गतिमा अघि बढ्ने विश्वास गरिएको नगर प्रमुख पुन बताउँछन् । उनले थपे, ‘स्थानीय स्तरमा नै गुणस्तरीय नर्सिङ शिक्षा उपलब्ध भएसँगै कर्णाली प्रदेशका युवायुवतीले अब राजधानी धाउनु पर्नेछैन भने यसले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनसँगै रोजगारीको अवसर पनि बढाउनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार