भारत र पाकिस्तानबीच तनाव सृजना भएपछि नेपालमा सर्तकता बढाइएको छ । तराईको नेपाल–भारत सीमामा सशस्त्र प्रहरीको सङ्ख्या मंगलबार रातिदेखि नै ह्वात्तै बढाइएको छ । मंगलबार राति नै पहाडी जिल्लामा तैनाथ सशस्त्र प्रहरीलाई तराईको सीमा क्षेत्रमा पठाइएको थियो । खासगरी भारतसँग सीमा जोडिएका तराईका जिल्लामा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो । मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि सुरक्षाकर्मीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालका दुई छिमेकी देशहरू भारत र पाकिस्तानबीच सैन्य तनाव बढेसँगै नेपाल सरकारले पनि आवश्यक सर्तकता अपनाएको छ । सबै सुरक्षा निकायहरूले पहिलेको भन्दा सुरक्षा निगरानीमा थप कडाइ गरिएको बताएका छन् । बुधबार सुरक्षा परिषद्को बैठक पनि बस्यो । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बसेको बैठकमा युद्ध चर्किएमा नेपालमा पर्नसक्ने सुरक्षा असरलाई रोक्न रणनीति बनाउने विषयमा छलफल भएको थियो ।
बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थित थिए । त्यसअघि बुधबारै गृहमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो ।
उक्त बैठकले भारत पाकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
बैठकले तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन पनि दिएको छ । उक्त बैठकमा गृहमन्त्री लेखक, नेपाली सेनाका प्रतिनिधि, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, मन्त्रालयको सुरक्षा महाशाखाका प्रतिनिधि लगायत सहभागी थिए ।
भारत प्रशासित कश्मिरको वैशरण उपत्यकामा पर्ने पहलगाममा वैशाख १० गते आतंकवादीहरूले नेपाली नागरिक २७ वर्षीय सुदीप न्यौपानेसहित २६ जनाको हत्या गरेका थिए । ती आतंकवादीलाई पाकिस्तानले पठाएको र संरक्षण दिएको आरोप लगाउँदै भारतले पाकिस्तानमा आतंकवादीले आश्रय लिइरहेका स्थानमा आक्रमण गरेको बताएको छ । भारतको पछिल्लो आक्रमणमा यो समाचार तयार पार्दासम्म २६ जनाको मृत्यु भएको र ४६ घाइते भएको पाकिस्तानले जनाएको छ । त्यस्तै पाकिस्तानतर्फबाट भएको आक्रमणमा १० भारतीय नागरिकको मृत्यु भएको ३२ जना घाइते भएको भारतले जनाएको छ ।
सीमा क्षेत्रमा उच्च सतर्कता
सुरक्षासम्बन्धी सरकारी उच्च संयन्त्रको बैठक बसेर आवश्यक सर्तकता अपनाउने र रणनीति बनाउने निर्णय गर्नुअघि नै सुरक्षा निकायले भारतीय सीमामा सुरक्षा निगरानी र चेकजाँच बढाउन आन्तरिक रूपमा सर्कुलर गरिसकेका थिए । सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी कालीदास धौबजीले भारतीय सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल प्रधान कार्यालयले निर्देशन गरिसकेको जानकारी दिए ।
‘सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरूलाई यहाँबाट विशेष निर्देशन भइसकेको छ । स्थानीयस्तरमा आवश्यकताअनुसार निगारानी बढाउने, अनधिकृत घुसपैठ नियन्त्रण र निगरानी बढाउनु भनेर भनेका छौँँ,’ डीआइजी धौबजीले मिसन टुडेसँग भने ।
उनले नेपालका अन्य सुरक्षा अंग र भारतीय सुरक्षा पक्षसँग पनि आवश्यक सहकार्य भइरहेको बताएका छन् । उनका अनुसार दुई देशको सिमानामा संयुक्त रूपमा गस्ती पेट्रोल र खबर आदानप्रदानलाई तीव्रता दिइएको छ । एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा इलाकामा प्रहरी रहनेगरी पेट्रोलिङको व्यवस्था मिलाइएको पनि उनले बताएका छन् ।
स्रोतका अनुसार सशस्त्र प्रहरीले पहाडि क्षेत्रबाट सशस्त्र प्रहरीलाई भारतीय सीमा क्षेत्रमा समेत झारेको छ । तर, डीआइजी धौबजीले यस सम्बन्धमा केही बताउन चाहेनन् । यता भारतसँग जोडिएको एक मुख्य सीमा नाका रहेको जिल्ला बाँकेमा पनि निगरानी र सीमाक्षेत्रमा चेकजाँचमा कडाइ गरिएको बाँके प्रशासनले जनाएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार अहिले नै आत्तिइहाल्नु पर्ने अवस्था नभएपनि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा निकायलाई निर्देशन दिइएको छ । अधिकारीले मिसन टुडेसँग भने, ‘बाँकेको मुख्य नाका जमुनाहामा चेकजाँच र कडाइ गरिएको छ । सीमाक्षेत्रमा निगरानी पहिलेको भन्दा थप कडा गर्न भनिएको छ । घटनाक्रमको विश्लेषण गर्ने, शंकास्पद गतिविधिलाई निगरानीमा राख्न भनिरहेका छौँ ।’
भारत र पाकिस्तानबीच तनाव सृजना भएको क्षेत्रबाट नजिक पर्ने र दुईतिर भारतीय सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि सुरक्षा निगरानी बढाइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी प्रकाश मल्लले पहलगाम हमलापछि नै प्रहरीले आवश्यक सावधानी अपनाउन थालिसकेको जानकारी दिए । उनले भने, ‘हामी दुईतिर भारतीय सीमामा छौँ । सीमाक्षेत्रबाट घुसपैठ नहोस् भन्ने हिसाबले हामीले आवश्यक सतर्कता अपनाएका छौँ । सीमामा चेकजाँच र कडाइ गर्न निर्देशन दिएका छौँ ।’
उनले अन्य सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा निगरानी बढाइएको पनि बताए । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार हाललाई नेपाल प्रहरीले निगरानी बढाउने, चेकजाँचमा कडाइ गर्ने र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गर्ने निर्देशन दिइएको बताए । उनले प्रहरीले सम्भावित सुरक्षा चुनौतीको मूल्यांकन पनि गरिरहेको जानकारी दिए । ‘हामीले स्थानीय संवेदनशीलताका आधारमा रणनीति बनाएर काम गर्नु भनेका छौँ । आवश्यक परेका ठाउँमा प्रहरीको तैनाथी बढाउन पनि सकिन्छ,’ उनले भने ।
युद्ध चर्किएमा के पर्छ नेपालमा असर ?
राजनीतिक विश्लेषक लेखक नरेन्द्रजंग पिटरले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘युद्ध भारतमा भएको हो, तर यसको छायाँ नेपालसम्म आइपुग्छ । लाश त भारतमै खस्लान्, कति बाकसमा नेपालमा पनि आँउनेछन् । आँसु नेपालमा पनि झर्छ ।’
लेखक पिटरले लेखेजस्तै बुधबार बिहान भारतले पाकिस्तानमा हमला गरेको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा भारत पाकिस्तान युद्ध चर्किएमा पर्नसक्ने असरबारे टीकाटिप्पणीहरू सुरु भएका छन् । चियापसल र जमघटमा पनि भारत–पाकिस्तान तनावको विषयले प्रधानता पाएको छ ।
अधिकांश टिप्पणीकर्ताहरूले युद्धले कसैको भलो नगर्ने भएकोले तनाव कम गर्नु नै सही विकल्प हुने बताएका छन् । लेखक पिटर पनि भन्छन्, ‘भारत–पाकिस्तानबीच युद्ध हुनु भनेको नेपाल सिधा प्रभावित हुनु हो । भारतीय सेनामा नेपालीहरूको तैनाथी छ । युद्धमा अग्रमोर्चामा खटिने गोर्खा सेना नै हो । त्यो युद्धले लाश यहाँ पठाउन सक्छ । कश्मिरमा मान्छे बोक्ने, हिमाञ्चलमा भारी बोक्न जाने श्रमिकहरू सिधै पीडित हुनपुग्छन् ।’
उनले युद्धले जातीय र धार्मिक क्लेशलाई बढावा दिने र त्यसले नेपाली समाजलाई पनि विभाजित बनाउन सक्ने अर्काे चुनौतीका रूपमा उल्लेख गरे । उनले नेपालगन्जका केही व्यक्तिले पनि सामाजिक सञ्जालमा उन्माद बढाउनेगरी लेख्न थालेको बताउँदै त्यसलाई बढावा नदिनेगरी प्रशासनले सोच्नुपर्ने सुझाव दिए ।
यसका साथै आयात निर्यातमा भारतमाथिको निर्भरताले पार्ने आर्थिक प्रभाव र पर्यटन क्षेत्रको प्रभाव पनि थेग्न मुस्किल पर्ने उनको चेतावनी छ । ‘क्षेत्रीय युद्ध उन्मादबाट कसरी जोगिने, युद्धको विरोध र शान्तिको पक्षमा कसरी उभिने ? आजको गम्भीर कुरा हो,’ पिटरले भने ।
सामाजिक कार्यकर्ता दोलखबहादुर डाँगी युद्धबाट नेपालमा युद्धग्रस्त क्षेत्रबाट शरणार्थीहरू प्रवेश गर्न सक्ने, नेपाली युवाहरू रोजगारको प्रलोभनमा युद्धमा जानसक्ने, भारतसँग खुला सिमाना भएकोले अवैध घुसपैठ भई रणनैतिक स्थलको रूपमा भूमि प्रयोग हुनसक्ने जोखिम औँल्याउँछन् । उनले सीमित नै भएपनि निर्यात बन्द हुने र पैठारी अझ बढ्ने र महंगी पनि बढ्ने जोखिम पनि रहेको बताए । यसका साथै देशमा थप आर्थिक शिथिलता आउने र बेरोजगारीका कारण युवा पलायन वृद्धि हुने उनको चिन्ता छ ।
अध्येता डा.द्धारिकानाथ ढुंगेलका विचारमा युद्धले खाद्यान्न लगायत आपूर्तिमा व्यवधान आउनसक्ने, नेपालबाट निर्यात प्रभावित हुनसक्ने, खुला सीमानाको दुरुपयोग गर्दै अवान्छित तत्वको घुसपैठमा वृद्धि हुनसक्ने जोखिम रहन्छ । यसका साथै विदेशी सेनामा कार्यरत नेपालीको क्षति मात्रै नभई राजनीतिक नेतृत्वको लम्पसारवादका कारणबाट विदेश नीतिमा विसंगती देखापर्न सक्ने उनको आँकलन छ ।
युद्धले नेपाल मात्रै नभई समग्र दक्षिण एसियाको शान्ति नै प्रभावित हुनसक्ने भएकोले यसमा नेपाल सरकारको पर्यत्न तनाव घटाउनेतर्फ हुनुपर्ने मत पनि सामाजिक सञ्जालमा जाहेर भएका छन् ।
सांसदहरू भन्छन्, ‘सरकार गम्भीर हुनुपर्छ’
प्रतिनिधि सभाका सांसदहरूले भारत–पाकिस्तान युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकार चनाखो हुनुपर्ने बताएका छन् । बुधबारको संसद बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रूपमा रहँदै आएपनि आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताए ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको बताउँदै सरकार गम्भीर हुन आवश्यक रहेको बताए । साउँदले संसदमा भने, ‘भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिबारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो ।’
काँग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताएका छन् । गौतमले भने, ‘यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस् ।’ सरकारले समयमै ख्याल गर्न आवश्यक रहेको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताहरू पनि यो विषयमा गम्भीर हुन आवश्यक रहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्