काठमाडौँ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लुटतन्त्रबाट मुलुकलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वाग्लेले हालसम्म देशमा सीमित व्यक्ति, संस्थाको हातमा हैकम, भनसुन र आफन्तवादबाट लुट मच्चिरहेको तर रास्वपा सरकारले यसको अन्त्य गर्न लागेको बताएका हुन् ।
राजनीतिको केन्द्र मात्र नभएर निजीक्षेत्रमा समेत यस्तो लुटतन्त्रमा संलग्न देखिए सरकारले निर्मम भएर कारबाही गर्ने बताए । उनले भने, ‘कार्टेलिङ, विकृति, हस्तक्षेप र नियन्त्रणलाई सरकारले निर्मम भएर तोड्ने काम गर्छ ।’ तथापि, सरकारले निजीक्षेत्रको महत्त्व राम्रैसँग बुझेको उनले बताए ।
सोही अवसरमा अर्थमन्त्री वाग्लेले रास्वपा सरकार आफ्नो वाचापत्रमा लिखित प्रतिबद्धताअनुसार नै चल्ने बताए । ‘वाचापत्रमा उल्लेख गरेका हरेक शब्द कार्यान्वयन हुन्छ । वाचापत्रको १ देखि १९ बुँदासम्म सुशासनका मुद्दाहरू समेटिएका छन् ।
यसमध्येका केही बुँदा कार्यान्वयनमा समेत गइसकेको छ’, वाग्लेले भने, ‘१९–४० अर्थतन्त्रका बारेमा लेखेको छ ।सोही कार्यान्वयन हुन्छ । हाम्रो भिजन स्पष्ट छ, सबैले सरकारको योजना लक्ष्य, उद्देश्य के हो सहजै बुझ्न सक्छ । सामाजिक न्याय, निजीक्षेत्रको उत्थान, स्वतन्त्र बजारलाई सरकारले प्राथमिकतामा राखेको छ । राजस्व नघट्ने गरी राजस्वको दायरा बढाउने प्रतिबद्धता गरेका छौँ । आश्चर्य हुनु पर्दैन, लिखित प्रतिबद्धताअनुसार नै हामी काम गर्छौं’, अर्थमन्त्री वाग्लेले भने ।
वाचापत्रमा रास्वपाले राजस्व अनुसन्धान विभाग खारेज गर्ने उल्लेख गरेकोमा सरकार गठनलगत्तै आफूले १० मिनेटभित्रै सो विभाग खारेज गरिदिएको अर्थमन्त्री वाग्लेले बताए ।









प्रतिक्रिया दिनुहोस्