नबिल बैंकको ‘नबिल नर्सिङ रुम’ सुरु



काठमाडौँ।

नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाहलगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । कर्मचारीको हितलाई उच्च महत्व दिँदै आएको नबिल बैंकले बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको हो ।

नर्सिङ रुमले कर्मचारीहरूलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ । ‘यस कक्षको थालनीमार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी पूरा गरेका हौँ । यसले कर्मचारी आमाहरूलाई कार्यालयभित्र आफ्नो बच्चासँग सुरक्षित छु भन्ने महशुस गराउने छ,’ सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले बताइन् ।

उद्धाटन कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले नर्सिङ रुम बैंकको तर्फबाट एउटा राम्रो सुरुवात भएको बताए । ‘लैङ्गिक समानता, कर्मचारीको हित नबिल बैकका प्रमुख मान्यता भित्र पर्दछन् र आज सुरु भएको यो कक्षले हाम्रा ती मूल्यमान्यताहरूलाई प्रतिविम्बित गर्छ,’ अध्यक्ष चौधरीले भने ।

‘हेर्दा सानो देखिए पनि यस कदमले हाम्रो कर्मचारीहरूलाई सकारात्मक असर पार्नेछ र यो कक्ष हाललाई केन्द्रीय कार्यालयमा मात्र भए पनि आउने दिनमा अरु शाखाहरूमा पनि विस्तार गर्दै लगिने छ,’ उनले थपे । यसप्रकारका प्रयासमार्फत नबिल बैंकले आफ्ना कर्मचारीका ख्याल राख्नुका साथै सहयोग गर्ने वातावरणलाई बढावा दिइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ । नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार