हिमालतिर उक्लदै लामखुट्टे,कर्णालीका ७ वडामा औलोको जोखिम



नन्दराम जैशी,सुर्खेत : पछिल्लो समय औलोको जोखिम तराई हुँदै पहाड र हिमाली क्षेत्रमा समेत देखिन थालेको छ । यसमा कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला उच्च जोखिममा रहेको छ । हुम्लासँगै कर्णाली प्रदेशमा बारम्बार औलोका बिरामी भेटिन थालेका छन् । हाल औलो रोग संक्रमणको आधारमा कर्णालीका १० जिल्लामध्ये हुम्लाका ३ वडा उच्च जोखिममा देखिन्छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका अनुसार हाल कर्णालीमा ३८ जना औलोका बिरामी छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जादाँ हिमाली क्षेत्रमा समेत लामखुट्टेहरु देखिन थालेका हुन् । जसले गर्दा हुम्लासँगै कर्णालीका हिमाली र पहाडी जिल्लामा औलो संक्रमणको जोखिम बढेको हो ।

तापक्रम वृद्धिकै कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट हिमाली क्षेत्रमा जाने र त्यहाँको फोहोर, खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि हुन थालेको विज्ञहरु बताउँछन् । जसअनुसार कर्णाली प्रदेशमा औलो नियन्त्रण कार्यक्रम तिब्र रुपमा संचालन भइरहेको स्वास्थ्य सेवा निर्देशनालयका फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिए । उनका अनुसार स्थानीय औलो रोग शुन्यमा झार्ने रणनीति अनुरुप नियन्त्रणका कार्यक्रम भइरहेका छन् । माइक्रोस्कोपी र आरडीटी विधिबाट औलो परिक्षण र उपचारका कार्य भइरहेको उनले बताए । औलो रोग विरुद्धको अभियान अन्तर्गत पछिल्लो समय बिरामीको संख्या घट्दै गएपनि औलो हिमाली क्षेत्रमा देखिन थालेको हो । निर्देशनालयले शुक्रबार विश्व औलो दिवसका अवसरमा संचारकर्मीहरुसँग अन्तक्रिया गर्दै कर्णालीमा औलोको अवस्था र भइरहेका गतिविधिबारे जानकारी गराएको हो ।

निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हुम्लाका तीन वडा औलो संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ । जिल्लाको ताजाकोट गाउँपलिकाका २, ३ र ४ नम्बर वडाहरु औलोको उच्च जोखिममा रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो समय सडक सञ्जाल विस्तार तथा लामखुट्टे हुर्कर्ने खालको वातावरण बन्दै गएपछि हिमाली जिल्लामा औलो संक्रमण देखिन थालेको निर्देशनालयले जनाएको छ । केही वर्षयता हुम्लामा गाउँ नछाडेका स्थानीय व्यक्तिहरुमा पनि औलो संक्रमण देखिन थालेको फोकल पर्सन आचार्यले बताए ।‘हिमाली जिल्लामा औलोका बिरामी देखिनु तथा आवश्यक प्रतिकारात्मक क्रियाकलाप जस्तै, खोजपड्ताल तथा विषादी छर्कन समयमा पुग्न कठिनाइ रहेको छ’ उनले भने, ‘स्वास्थ्य संस्थामा मलेरिया जाँचमा कमी, औलो परीक्षण स्वास्थ्यकर्मीहरूको प्राथमिकता नपर्नु, स्थानीय सरकारबाट औलोका लागि रणनीति र बजेट व्यवस्थापन कम प्राथमिकता हुनुले औलो निवारण चुनौतीको विषय बनिरहेको छ ।’

भारत तथा तेस्रो मुलुकबाट आउने आयातित केसको समयमै व्यवस्थापन गर्न कठिनाइ, औलो निवारण कार्यक्रमका लागि माग भए बमोजिम पर्याप्त आर्थिक स्रोतको अभाव रहनु, प्रदेश तथा स्थानीय तहमा औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव तथा इन्टोमोलोजिष्टहरूको अभावलगायतका चुनौतीले कार्यक्रम सोचे अनुरुप प्रभावकारी हुन नसकेको आचार्यले बताए ।

यस्तो छ, औलो संक्रमणको अवस्था 
औलोको मध्यम जोखिममा कर्णाली प्रदेशका ७ वडा रहेका छन् । जसमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, गुर्भाकोट नगरपालिका–८,मुगुको खत्याड गाउँपालिका–८ र सोरु गाउँपालिका–४ र ५ औलोको मध्यम जोखिमा छन् । यस्तै,हुम्लाको अदानचुली गाउँपालिका–३ र ताजाकोट गाउँपालिका ५ मध्यम जोखिममा छन् । कर्णालीमा चार सय १० वडा न्यून जोखिममा रहदा दुई सय ९८ वडा औलोको जोखिमा छैनन् । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको २०८१÷०८२ को हालसम्म ३८ जनामा औलो संक्रमण देखा परेको छ । यस वर्ष हुम्लामा २ जनामा औलो संक्रमण पुष्टि हुँदा कुनै पनि ट्राभल हिस्ट्री नभएका १ जनामा औलो संक्रमण पुष्टि भएको छ । गत वर्ष पनि हुम्लामा स्थानीय औलो संक्रमण पुष्टि भएको थियो ।

आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा बढी औलो संक्रमण सुर्खेतमा देखा परेको छ । सुर्खेतका ६ पालिकामा २५ जनामा आयातित (बाहिरबाट आउने व्यक्तिबाट सरेको) औलो संक्रमण देखा परेको छ । जसमा बराहताल गाउँपालिकामा २, वीरेन्द्रनगर नगरपालिकामा ६, चौकुने गाउँपालिकामा ५ र गुर्भाकोट नगरपालिकामा २ जना रहो छन् । त्यस्तै लेकवेशी नगरपालिकामा १, पञ्चपुरी नगरपालिकामा ७ र सिम्ता गाउँपालिकामा २ जनामा आयातित औलो संक्रमण देखापरेको निर्देशनालयले जनाएको छ ।

कालिकोटमा यस वर्ष ३ जनामा औलो संक्रमण पुष्टि भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिकामा आयातित औलो देखा परेको हो । दैलेखमा ४ जनामा आयातित औलो पुष्टि भएको छ । जिल्लाको आठविस नगरपालिका, चामुण्डाविन्द्राशैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाँटिकाँध गाउँपालिकामा १÷१ गरी ४ जना औलो रोगका विरामी फेला परेका छन् । यी सबै बाहिरबाट आएका विरामीहरु हुन् ।

निर्देशनालयका फोकल पर्सन आचार्यका अनुसार कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भएपनि आयातित औलोको न्यूनिकरण गर्न निकै चुनौती छ । भारतमा काम गर्न जाने कर्णालीवासीबाट बढि औलोको जोखिम रहेको उनको भनाई छ । उनका अनुसार स्वास्थ्य सेवा निर्देशनालयले औलो निवारणमा विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ ।

जसअन्तर्गत प्रभावकारी निर्णय लिन औलो सम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने लगाएत विभिद कार्यक्रम तथा औलोको जोखिम स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी औलो सर्ने दरलाई घटाउने रणनीति बनाइएको छ । सन् २०३० सम्म औलोलाई सून्यमा झार्ने राष्ट्रिय लक्ष्यका साथ काम गरिरहेको उल्लेख गर्दै कर्णाली भित्रने नाकामा यात्रुको ट्राभल हिस्ट्री र औलो परीक्षण गर्ने संयत्रको विकास गर्न सके लक्ष्य हासिल गर्न सकिने उनले बताए ।
६ वर्षमा २३१ जनामा औलो पुष्टि
कर्णालीमा ६ वर्षको अवधिमा २३१ औलो रोग पुष्टि भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ५१ व्यक्तिमा औलो संक्रमण पुष्टि भएको थियो । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा ३४, आर्थिक वर्ष २०७८÷०७९ मा ४८ र आर्थिक वर्षमा २०७९÷०८० मा २३ जनामा यो रोग पृष्टि भयो । आर्थिक वर्ष २०८०÷०८१ मा ३७ र चालु आर्थिक वर्ष २०८१÷०८२ मा ३८ व्यक्तिमा औलो संक्रमण पुष्टि भइसकेको छ । यस अवधिमा स्थानीय औलोबाट संक्रमित हुनेको संख्या ६० छ । ३ वर्षअघि प्रदेशभर स्थानीय औलो संक्रमण हुने दर नौ रहेकोमा पछिल्ला २ वर्षयता घटेर १ मा सिमित भएको छ । कर्णालीमा सबैभन्दा भारतबाट आउने व्यक्तिहरुमा औलो संक्रमण बढि देखिने गरेको छ ।

६ वर्षको अवधिमा कर्णालीभर ११७ व्यक्तिमा आयातित औलो संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांक छ । यो अवधिमा आयातित औलो संक्रमण हुने दर वार्षिक औषतमा २८ छ । सामान्यतया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिबीका विभिन्न जातबाट हुने गर्दछ । प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरी, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिबीबाट यो रोग लाग्ने गर्दछ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १५ गते सोमबार