नागरिकको घरघरमै पुगेर फोहोर सोहोर्दै खजुरा



नेपालगन्ज : बाँकेको नगरउन्मुख गाउँपालिका खजुरा गाउँपालिकाले घरघरमै पुगेर फोहोर संकलनको काम सुरु गरेको छ । खजुरालाई सफा,सुन्दर र हरियाली बनाउने उद्देश्यले फोहोर संकलन तथा व्यवस्थापन गर्ने कामको सुरु गरिएको हो । सरसफाइ विशेष अभियान अन्तर्गत सुन्दर बिहानी युवा क्लबसँग सहकार्य गरी फोहोर संकलन र व्यवस्थापनको काम सुरु गरेको गाउँपालिकाले जनाएको छ । अब गाउँपालिकामा नियमित रुपमा घरघरमै पुगेर फोहोर संकलन गर्ने र निश्चित स्थानमा लगेर व्यवस्थापन गर्ने काम हुने गाउँपालिकाले जनाएको छ । फोहोर संकलनलाई व्यवस्थित र दीर्घकालीन बनाउँदै युवाहरुको सहकार्यमा जिल्लाभर नयाँ सन्देश प्रवाह गर्ने उद्देश्यसहित फोहोर संकलन र व्यवस्थापन कार्यको सुरु गरिएको गाउँपालिकाका अध्यक्ष डम्मर बहादुर विश्वकर्मा ‘तुफान’ले बताए ।

गाउँपालिकाको विशेष अगुवाई छुट्टै डम्पिङ साइटको टुंगो लगाउनेगरी काम अघि बढेको अध्यक्ष विक बताउँछन् । उनका अनुसार डम्पिङ साइटको लागि उपयुक्त स्थानको खोजी कार्य भइरहेको छ । फोहोर व्यवस्थापनका लागि हाल गाउँपालिकाले एउटा ट्याक्टर, चालक र चार जना स्वीपरको व्यवस्था गरेको उनले बताए ।‘खजुरामा आवादी बढ्दो क्रममा रहेको छ । मानिसहरुको चहलपहल पनि बड्दो अवस्थामा रहेको छ । त्यसैले फोहोर व्यवस्थापन गर्न आवश्यक ठानेर समयमै काम थालिएको हो,’ अध्यक्ष विकले मिसन टुडेसँग भने । खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले फोहोर व्यवस्थापनपछि खजुराको सुन्दरता थप बढ्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार फोहोर व्यवस्थापन सबैको दायित्व हो । गाउँपालिकाले क्लबसँग मिलेर सुरु गरेको सकारात्मक अभियानमा सबै जोडिन आवश्यक रहेको छ ।

घरघरमै पुगेर फोहोर संकलन गरी डम्पिङ स्थलमा विसर्जन गराउने काम भने सुन्दर बिहानी युवा क्लबले गर्नेछ । हाललाई सुन्दर बिहानी युवा क्लबसँग २०८३ साल असार मसान्तसम्म सम्झौता गरी फोहोर व्यवस्थापनको काम थालिएको हो । गाउँपालिकाले डम्पिङ साइटको व्यवस्था गर्ने, फोहोर उत्सर्जन शुल्क तोक्ने, ढुवानीका साधन उपलब्ध गराउने र क्लबले तोकिएको शुल्क उठाउने, ढुवानीका साधनमा सहकार्य गर्ने र फोहोरलाई पुनः प्रयोग गर्ने काममा पहल गर्ने सम्झौता रहेको सुन्दर बिहानी युवा क्लबका कार्यवाहक अध्यक्ष गणेश थापाले जानकारी दिए । थापाका अनुसार हाल भने क्लबले निजी जमिन भाडामा लिएर फोहोर डम्पिङ गर्दैछ । गाउँपालिकाले डम्पिङ साइटको व्यवस्था गरेमा व्यवस्थापन सहज हुने थापाको भनाइ छ ।

यसैगरी,क्लबले पनि एउटा ट्याक्टर र चालकको व्यवस्था गरेको छ । क्लबलाई ट्याक्टर सहयोग ग्रेटर नेपाल फोहोर व्यवस्थापन प्रा.लि. नामक संस्थाले गरेको हो । फोहोर व्यवस्थापनको काम चुस्त हुन सकेमा फोहोरलाई पुनः प्रयोगमा ल्याई आम्दानीको स्रोत बनाउने योजना रहेको पनि थापाले जानकारी दिए ।क्लबले यसअघि जानकी गाउँपालिकामा पनि यस्तै खालको सहकार्य गर्दै फोहोर व्यवस्थापनको काम गर्दै आएको छ भने खेलकुद गतिविधि पनि गर्दै आएको छ ।फोहोर संकलन कार्यको सुभारम्भमा सामूहिक सहभागितामा खजुरा बजार क्षेत्रको सरसफाई पनि गरिएको थियो । जसमा खजुराका स्थानियहरुले सक्रिय सहभागिता जनाएका थिए भने फोहोर व्यवस्थापन कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यसअघि गाउँपालिकाको फोहोर व्यवस्थापन नहुँदा स्थानीय खोला नालामा जथाभावी विसर्जन गर्ने गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार