निशु जोशी । नेपालगन्ज ।
बाँकेको कोहलपुरमा रैथाने कृषि परियोजनाको सुरुवात गरिएको छ । रैथाने कृषि बालीको संरक्षण, विकास र सुधार गर्ने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद् नार्कले खाद्य तथा कृषि सँगठन (एफएओ)को सहयोगमा बाँके जिल्लामा परियोजना सुरु गरेको हो । कोहलपुर नगरपालिका वडा नं. २ मुक्तिनगरमा शनिबार एक औपचारिक कार्यक्रमकाबीच रैथाने कृषि परियोजनाको शुभारम्भ तथा खाद्य तथा कृषिका लागि जैविक विविधता सम्बन्धि अन्तक्र्रिया गरिएको थियो । कार्यक्रमको सहजीकरण गर्दै नार्कका बरिष्ठ अधिकृत डा. मुकुन्द भट्टराईले यो परियोजना नेपालको बाँके र लमजुङमा सुरु भएको जानकारी दिए ।
जलवायु परिवर्तनले नेपालमा पनि विभिन्न प्रभावहरू देखिन थालेको छ । बढ्दो तापक्रम सहन गर्न नसक्दा रैथाने बालीहरू गुम्ने खतरा हुन्छ । त्यसैले रैथाने बीउ संरक्षण गरि समयअनुसार वातानुकुल जातको विकास गर्न सकिने भएकाले रैथाने बीउ जोगाउन आवश्यक देखिएको राष्ट्रिय अनुवाशिंक श्रोत केन्द्र खुमलटारका बरिष्ठ बीउ बैज्ञानिक दिपा सिंह श्रेष्ठले बताइन् ।
राष्ट्रिय जीन बैंकसँग करिब १ सय वर्षसम्मका लागि बीउ जोगाउन सक्ने श्रोत साधन भएकाले स्थानीयहरूले पुराना बालीहरू लगाएर बीउ बैंकमा बीउ राख्न सक्ने उनको भनाइ छ । नेपालमा हाल यो सुविधा केन्द्रमा मात्र छ । चिसो ठाउँमा उब्जनी गर्न सक्ने गुण भएको जुम्लाको रैथाने मार्सी धानलाई चिसो हुने क्षेत्रमा नयाँ जातमा विकास गरि केहि देशहरूले प्रयोग गरिरहेको उनले उदाहरण सुनाइन् । सुख्खा क्षेत्रमा हुने कोदोलाई तराई क्षेत्रको डुबान सहन सक्ने गरि हाल परीक्षण भइरहेको उनको भनाइ छ ।
पहाडमा मात्रै उत्पादन हुने ठानीएको कोदो यसैवर्ष बाँकेको गाभरमा सफल भएको देखिएको थियो । मुक्तिपुर क्षेत्रका अधिकांश स्थानीयहरूले रैथाने खेती अपनाइरहेको भेटेपछि यहाँबाट परियोजना सुरुवात गरिएको हो । दैनिक जीवनमा समेत रैथाने बालीको महत्व छ । रैथाने बालीहरू पोषणयुक्त रहेकाले यसको संरक्षणमा लाग्न समुदायलाई श्रेष्ठको आह्वान छ । हालको नेपालको खेती प्रणाली विदेशबाट आयातित बीउमा परनिर्भर बनेको छ । बीउ नपाए खेती प्रणालीमा समस्या उत्पन्न हुने गरेको छ । बाहिरबाट बीउ आयात गर्दा रैथाने बालीहरू हराउँदै गएकाले यसको संरक्षणका लागि समुदायस्तरबाट पहल गर्न थालिएको उनले बताइन् । आफूहरूले नीतिगत रूपमा समेत कदम चाल्ने उनको भनाइ छ ।
परियोजनाले पहिलो चरणमा स्थानीयहरूलाई रैथाने बाली लगाउन बीउ र प्राविधिक सहयोग प्रदान गर्ने छ । बीउ संकलन, रैथाने जातबाट वातानुकुल नयाँ जातका बाली विकास लगायतका कामहरू परियोजना अन्र्तगत हुनेछन् । हाल नार्कले सुख्खा क्षेत्रमा हुने कोदोलाई डुबान क्षेत्रमा लगाउन सकिने गरि अनुसन्धान गरिरहेको नार्कका बरिष्ठ अधिकृत डा. भट्टराईले बताए । कोहलपुरमा मात्र नभइ पश्चिम नेपालमा जैविक विविधता संरक्षणका लागि सामुदायीक जीन बैंक सञ्जालमार्फत समुदायलाई जागरुप गर्ने अभियानमा रहेको सञ्जालका अध्यक्ष पुरमल बस्नेतले बताए । स्थानीय खाद्य बालीसँगै, स्थानीय गाई, मौरी लगायतका संरक्षण लगायतका कार्यक्रममा स्थानीयको जागरुपता अझै बढ्न नसकेको उनको दुखेसो छ ।
कृषि जैविक विविधता संरक्षणका लागि कोहलपुर नगरपालिकाले ८ कठ्ठा जग्गा उपलब्ध गराउने भएको छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारसँग समन्वय गर्ने कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले बताइन् । कार्यक्रममा संघीय सांसद सूर्यप्रसाद ढकाल, प्रदेश सांसद कृष्णा केसी नमुना, बसन्ती अधिकारी, कोहलपुर वडा नं. २ का अध्यक्ष हरि कठायत, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कृषि अनुसन्धान खजुरा, स्थानीय कृषक समूह लगायतको सहभागिता थियो ।
यसैबीच, स्थानीय कृषि खाद्यबाली संरक्षण अभियान सुरु भएपछि कोहलपुरका स्थानीयहरू खुशी भएका छन् । परम्परागत खेती प्रणाली अनुसार रैथाने जातका खाद्यबाली लगाउँदा कम उत्पादन हुने भएपछि कृषकहरू धेरै उत्पादन दिने बालीतर्फ आकर्षित भएका थिए । यसले स्थानीयस्तरमा रहेका रैथाने बाली लोप हुने अवस्थामा पुगेका थिए । नेपाल सरकारको कृषि अनुसन्धान परिषद् नार्कले एफएओसँगको समन्वयमा रैथाने कृषि परियोजना सुरु गरेपछि रैथाने बाली संरक्षण गर्न सकिने भएपछि आफूहरू खुशी भएको स्थानीय भेरी जेष्ठ नागरिक कृषक समूहका अध्यक्ष मोहन रिजालले बताए ।
रैथाने खानाका कारण पुर्खाहरू निरोगी रहेको बताउँदै रिजालले रैथाने बाली संरक्षण आवश्यक रहेको बताए । आफूले कोदो, आलु, जस्ता रैथाने बाली लगाइरहेको उनले बताए । परियोजना सुरु भएपछि किसानहरूले विषाधिरहित खाद्यबाली उत्पादन गर्ने, गोबर, गड्यौला मल प्रयोग गर्ने उनले बताए । यसबारेमा अन्य किसानहरूलाई जागरुप गर्ने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्