नेपालगन्ज ।
नेपालगन्ज–गुलरिया सडकखण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै हुलाकी सडक निर्देशनालय, योजना कार्यालय नेपालगन्जको ध्यानाकर्षण गराइएको छ । ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको खजुरा बजार खण्डको एक हजार आठ सय मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयवासीले योजना कार्यालयमा पुगेर हस्ताक्षर बुझाएका छन् ।
खजुरा बजार क्षेत्र सुरु हुनुअघि र खजुरा बजार क्षेत्र सकिएलगत्तै दुवैतर्फ ४ लेन सडकसहित फराकिलो सडक निर्माण सम्पन्न हुँदा बजार क्षेत्रमा साँघुरो र अव्यवस्थित सडक जीर्ण अवस्थामा रहेको उनीहरूले बुझाएको मागपत्रमा उल्लेख छ । साँघुरो सडकलाई जारी ठेक्कामा नै समावेश गरि फराकिलो बनाउन खजुरावासीको माग रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताहरूको अगुवाइमा संकलन गरिएको हस्ताक्षर हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीलाई हस्तान्तरण गरिएको हो । संकलित हस्ताक्षर योजना प्रमुख भण्डारीलाई बुझाउँदै रास्वपा खजुरा गाँउपालिका सभापति अकबर अलि बेहेनाले हाललाई सडक किनारमा रहेको फुटपाथलाई ढलदेखि पछाडि सारेर दुवैतर्फ एक–एक मिटर सडक फराकिलो बनाएर कालोपत्रे गर्न आग्रह गरे ।
उनले फुटपाथ पछाडि सार्दा बनेका अस्थायी संरचना हटाउन खजुरावासीले मञ्जुरी दिएर हस्ताक्षर गरिदिएको उल्लेख गर्दै योजना कार्यालयबाट जारी स्तरोन्नतिको कार्यावधिमै समावेश हुनेगरि सडक चौडा बनाउने व्यवस्था गर्न आग्रह गरे । यसअघि सडक डिभिजनअन्तर्गत उक्त सडक निर्माण गर्ने क्रममा सडकको मापदण्ड घटाइएको थियो ।
हस्ताक्षर बुझाउने क्रममा योजना प्रमुख भण्डारीले जनताबाट आएको हस्ताक्षरसहितको मागलाई आफूले निर्देशनालयमा पठाउने र निर्देशनालयको निर्देशनबमोजिम माग सम्बोधन हुने बताए । उनले डिभिजन सडकले यसअघि बनाएको सडकको विवाद निरुपणको चरणमा रहेको उल्लेख गर्दै भण्डारीले विवाद निरुपणसँगै मागबमोजिम सडक फाराकिलो बनाउन सकिने बताए ।
उनले नयाँ बन्दै गरेको भागलाई फराकिलो बनाउन आफूले तत्काल पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् । सडक डिभिजनले यसअघि ठेक्का लगाएको सो सडक निर्माणको जिम्मा पाएको गजुरमुखी निर्माण सेवाले गुणस्तरहीन सडक निर्माण गरेका कारण खजुरावासीले २०७४ सालदेखि सास्ती खेपिरहेका छन् ।
अहिले उक्त सडकमा पाँच सेन्टिमिटर मोटाइको अस्फाल्ट ओभरले गर्ने र नाली नबनेको ठाउँमा नाली निर्माण गर्ने गरी मैटहवा एनएटी स्टेटलाईट जेभीले सात करोड एक हजार ६९ रूपैयाँमा ठेक्का सम्झौता छ । उक्त काम आगामी असार २२ गते सम्पन्न गर्ने गरि समयसीमा तोकिएको छ ।









प्रतिक्रिया दिनुहोस्