कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले अतिक्रमित सरकारी जग्गा खाली गर्न १० दिने अल्टिमेटम जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, कोहलपुर नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विभिन्न तीनबुँदे मागपत्र कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यलाई बुझाउँदै रास्वपा कोहलपुरले नगरपालिकाद्वारा वैशाख १६ गते जारी गरेको सार्वजनिक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नगर सचिव देविन सुवेदीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा वास्तविक सुकुम्वासी पहिचान गर्न, उनीहरूको उचित व्यवस्थापन गर्न र समयसीमा पुनरावलोकन गर्न माग गरेको हो । बस्ती हटाउनुभन्दा पहिले गृह मन्त्रालय र संघीय मामिला मन्त्रालयको परिपत्रबमोजिम वास्तविक सुकुम्वासीको वैज्ञानिक पहिचान गर्न माग गरिएको सचिव सुवेदीले बताए ।
उनका अनुसार पहिचान भएका वास्तविक सुकुम्वासीहरूका लागि गाँस, वास र कपासको उचित सुनिश्चितता र सुरक्षित आवासको योजना तयार गरी स्थानान्तरण गरिसकेपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अघि बढाउन नगरप्रमुखलाई भेटेरै ध्यानाकर्षण गरिएको छ । यसैगरी पार्टीले मानवीय संवेदनालाई ख्याल गर्दै र उचित व्यवस्थापनका लागि पर्याप्त समय दिने गरी समयसीमा बढाउनका लागि माग गरेको हो ।
रास्वपा कोहलपुरले नगरपालिकालाई बुझाएको पत्रमा भनिएको छ, ‘कोहलपुर नगरपालिका कार्यालयद्वारा मिति २०८३–०१–१६ गते प्रकाशित अतिक्रमित सार्वजनिक सरकारी जग्गा खाली गर्नेसम्बन्धी १० दिने अत्यन्त जरुरी सूचनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण गर्नु राज्य र स्थानीय सरकारको कानुनी दायित्व हो भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ ।
हामी यस कार्यको सम्मान गर्दछौँ । तर, दशकौँदेखि सार्वजनिक सरकारी जग्गामा अतिक्रमण गरी बसोबास गरिरहेका नागरिकहरूलाई वैकल्पिक व्यवस्था नै नगरी एक्कासि हटाउने सूचनाले मानवीय संवेदना र संविधानप्रदत्त आवासको हकमाथि प्रश्न उठाएको हाम्रो ठहर छ ।’
यसै सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८३–०१–१७ ९सचिवस्तर०को निर्णय र परिपत्रको बुँदा नं १ र २ मा स्पष्ट रूपमा ‘वास्तविक सुकुम्वासी पहिचान गर्ने’ र ‘पहिचान भएका वास्तविक सुकुम्वासीलाई तत्काल अन्यत्र व्यवस्थापन गर्ने योजना ९सुरक्षित आवास समेत० तयार गर्ने’ निर्देशन दिइएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गरिएको छ ।
गृह मन्त्रालयले पनि समन्वय र पहिचानका आधारमा मात्र प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको देखिएको हुँदा सम्पूर्ण पक्षलाई ध्यान दिन आफूहरूले आग्रह गरेको उनले बताए । रास्वपा कोहलपुर कानुनी राज्यको पक्षधर रहेको तर विकास र संरक्षणका नाममा आफ्नै देशका नागरिकलाई घरबारविहीन बनाउनु राज्यको दायित्व नभएकाले मन्त्रालयको निर्देशन पालना गर्दै मानवीय ढंगले समस्याको समाधान खोज्न कोहलपुर नगरपालिकालाई जोडदार माग गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्