राँझास्थित नेपाली सेनाको बज्रदल गणमा तेस्रो इम्प्यानल्ड स्कुल रनिङ शिल्ड सुरु



नेपालगन्ज (बाँके) ।

नेपालगन्जको राँझास्थित नेपाली सेनाको बज्रदल गणको आयोजनामा ‘नेपाली सेना इम्प्यानल्ड स्कुल तेस्रो रनिङ शिल्ड प्रतियोगिता तथा सैनिक सामाग्री प्रदर्शनी २०८१’ शुक्रबारबाट नेपालगन्जको राँझामा सुरु भएको छ । कार्यक्रमलाई बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, इम्प्यानल्ड स्कुल रनिङ शिल्ड प्रतियोगिता सञ्चालक समिति अन्तर्गत बाँके जिल्लाका संयोजक किशन गुरुङ र बर्दिया जिल्ला अन्तर्गत संयोजक जीवन मल्लले संयुक्त रूपमा एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

बाँके र बर्दिया जिल्लास्थित नेपाली सेनासँग इम्प्यानल्ड गरिएका २८ वटा विद्यालयहरूमध्ये बाँके जिल्लाबाट सात र बर्दिया जिल्लाबाट चार गरी ११ वटा विद्यालयहरूको प्रतियोगितामा सहभागिता रहेको गणपति प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए । छात्र फुटबल, छात्रा भलिबल, छात्र कबड्डी र छात्रा कबड्डी गरी चार विधामा प्रतियोगिता सञ्चालन हुने उनले बताए ।

‘स्वास्थ्यको लागि खेलकुद र राष्ट्रका लागि खेलाडी’ एवम् ‘आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार’ भन्ने युक्तिलाई आत्मसात गरी इम्प्यानल्ड स्कुलका विद्यार्थाीहरूलाई खेलकुद्द्वारा अनुशासन, टिम भावनाको विकास गर्नुका अतिरिक्त विद्यार्थीहरूको शारीरिक र मानसिक क्षमताको अभिवृद्धि गर्ने र खेलकुदको विविध विधाहरूबाट उत्कृष्ट प्रतिभाहरूलाई प्रोत्साहित गरी भाविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सक्ने खेलाडीहरू उत्पादन गर्न मार्ग कोर्ने लक्ष्य अनुरुप प्रतियोगिता आयोजना गरिएको प्रमुख सेनानी श्रेष्ठले बताए ।

सेनाले शैक्षिक कार्यक्रमको व्यवस्थापन, पहुँच र प्रभावकारिता वृद्धि गर्न इम्प्यानल्ड विद्यालयको अवधारणा अनुरुप नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका एक दम्पत्तिको एक सन्ततीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन सुविधा उपलब्ध गराउन सैनिक कल्याणकारी कोषले शैक्षिक सत्र २०७६ बाट नेपाली सेनाका हिताधिकारीहरूका सन्ततीलाई आफ्नो स्थानीय तहमा रहेका उत्कृष्ट विद्यालयहरूबाट सहुलियत शुल्कमा अध्ययन सुविधा प्रदान गराउँदै आइरहेको श्रेष्ठले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा नेपाली सेनाको बज्रदल गणको तर्फबाट खुकुरी ड्रिलको प्रदर्शनी गरिएको थियो । प्रतियोगितामा सहभागी भएका विभिन्न विद्यालयहरूले मार्चपास प्रदर्शन तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । शुक्रबारबाटै सञ्चालन गरिएको प्रतियोगिता फागुन १२ गते समापन हुनेछ । समापनका दिनमा प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय तथा खेलाडीहरूलाई पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिनुका साथै विविध सैनिक प्रदर्शनीको समेत आयोजना गरिने बज्रदल गणले जनाएको छ ।

प्रतियोगितामा बाँकेका होप इन्टरनेशनल एकेडेमी, कोहलपुर वागेश्वरी इंगिलस मिडियम स्कुल, बागेश्वरी एकेडेमी, तक्षशिला एकेडेमी, नमुना विद्या सदन इंग्लिस मिडियम स्कुल, दिपज्योती सेकेण्डेरी स्कुल, ड्रिमल्याण्ड इंग्लिस मिडियम हाई स्कुल र बर्दियाका अरनिको इंग्लिस मिडियम स्कुल, कर्णाली इंग्लिस बोर्डिङ स्कुल, भेरी पब्लिक शिक्षालय प्रालि र पेट्रियल इंग्लिस मिडियम स्कुल सहभागी रहेका छन् ।

बज्रदल गणको जिम्मेवारी क्षेत्र बाँके र बर्दिया जिल्लामा अवस्थित नेपाली सेनासँग इम्प्यानल्ड भई सञ्चालन भइरहेका विद्यालयहरूसँग आवश्कता अनुरुप समन्वय गरी २०७९ सालबाट विविध कार्यक्रम गर्नुका साथै रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको गणले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १० गते शनिबार