चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री



कैलाली, परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएकी छन् । कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कन्चनपुरको गड्डाचौकीसम्म ६ लेनको बनाउनका लागि सर्वेक्षण गर्ने काम भइरहेको बताइन् ।
उनले भनिन्, ‘राजमार्गलाई ६ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । ६ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरू हुन्छ ।’
मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरबासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासका लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताए ।
केही दिनदेखि सुदूरपश्चिको कैलालीमा रहेकी मन्त्री देउवाले आजै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय बिपी स्मृति भवनसमेत उद्घाटन गरेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २९ गते मंगलबार