नेपालगन्जबासीले बनाए किरियापुत्री घर



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जका समाजसेवी एवम् प्रसिद्ध स्वास्थ्यकर्मी सेमराज शाक्यले कोभिड–१९ का बेला ज्यान गुमाएकाहरूका आफन्तले किरिया गर्ने ठाउँ नपाएर भाँैतारिनुपरेको देखे । उनले भने, ‘मानिसहरूले किरिया गर्नका लागि स्कुलमा पनि ठाउँ पाएनन्, घरमा पनि ठाउँ पाएनन् । एकातिर आफन्त गुमाउनुको पीडा, अर्काेतिर किरिया गर्ने ठाउँ नै नपाउँदाको हिनताबोध देखेर मलाई साह्रै पिरोलेको थियो ।’ यस्तो अवस्थाका विषयमा आफूले साथीहरूसँग कुरा गरेको र किरिया पुत्रीका लागि सार्वजनिक घर निर्माण गर्ने विषयमा छलफल चलाएको शाक्यले बताए ।

नेपालगन्ज गगनगन्ज माइती भई काठमाडौँ निवासी समाजसेवी माधवी शाहले पनि कोभिड–१९ को समयमा ज्यान गुमाएका आफन्तहरूले नेपालगन्जमा अन्तिम संस्कार पूरा गर्ने स्थानको अभावमा दुःख भोगिरहेको थाहा पाइन् । काठामाडौँमा भने मृत्यु संस्कार पूरा गर्न विभिन्न ठाउँमा घरहरू बनाइएको उनले देखेकी थिइन् । जहाँ बाहिरबाट आएर डेरा गरी बस्ने, टाढाबाट उपचारका लागि आउँदा ज्यान गुमाएका र किरिया गर्ने ठाउँ अभाव भएकाहरूले आफन्तको अन्तिम संस्कार पूरा गर्न पाउने व्यवस्था गरिएको हुन्छ ।

माधवीलाई नेपालगन्जमा पनि किरियापुत्री घरहरू बनाउनु आवश्यक रहेको महसुस गरेर नेपालगन्जका सम्बद्ध सबैलाई यसबारेमा बताउन थालिन् । सोही क्रममा माधवीले उक्त योजना पूरा गर्ने मानिस आफूले खोजिरहेको बताउँदै शाक्यको टिमलाई आफ्नो तर्फबाट १० लाख रूपैयाँ प्रदान गरिन् । अनि शाक्य लगायतका समाजसेवीहरूको टोलीले अघि बढायो ‘किरियापुत्री विश्राम गृह (आशौच घर)’ निर्माणको योजना । जुन अहिले निर्माणको अन्तिम चरणमा छ ।

शाक्यको अध्यक्षतामा गठित आशौच घर निर्माण समितिमा रविन्द्र कर्ण सह–संयोजक, सचिवमा बसन्त लामिछाने, अनिता शाह कोषध्यक्ष छन् भने मधुसुदन शर्मा, कृष्णप्रसाद श्रेष्ठ, चित्रबहादुर डाँगी सदस्य छन् । नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कनजिकै रहेको शिवपार्वती मन्दिरको जमिनमा निर्माण भइरहेको दुईतले आशौच घरमा एकपटकमा दुईवटा परिवारले आफन्तको अन्तिम संस्कार पूरा गर्न सक्नेगरी संरचना तयार गरिएको छ । भुइँतला र दोस्रो तलामा तीन–तीनवटा कोठा र दुई–दुईवटा अट्याच बाथरुमसहितको कक्षहरू बनाइएको छ ।

जहाँ प्रत्येक तलामा सामुहिक रूपमा बसेर मन्त्रपाठ सुन्ने, आफन्त भेटघाट गर्नेलगायतका प्रयोजनका लागि एउटा कक्ष, महिला र पुरुष सदस्य बस्नका लागि अट्याच बाथरुमसहितका अलग–अलग दुईवटा कक्ष र सानो भण्डार कक्ष निर्माण गरिएको छ ।

प्राङ्गणमा टिनको छानोमा आशौचको अन्तिम दिनको संस्कारका लागि दुईवटा कक्षहरू बनाइँदै छ भने हिन्दु धार्मिक विधिअनुसार ढिकुरो राख्ने दुईवटा ठाउँहरू पनि बनाइएको छ । ‘हिन्दु धार्मिक विधिअनुसारको कुनै पनि कमी हुन नदिनेगरी व्यवस्था गर्दै छौँ,’ घर निर्माण समितिका सचिव लामिछानेले भने । घरको तेस्रो तलामा दुईवटा थप कक्षहरू पनि तयार गरिएको छ । जहाँ कार्यालय कक्ष राख्ने वा किरियापुत्रीकै प्रयोजनमा प्रयोग गर्ने भन्ने निक्र्याैल नभइसकेको लामिछानेले जानकारी दिए ।

उक्त भवनले नेपालगन्जमा आएर डेरा गरी बस्ने, घरमा पर्याप्त ठाउँ नभएका र किरिया गर्ने ठाउँको अभाव भोगिरहेका कसैले पनि भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने लामिछानेको भनाइ छ । लामिछानेले भने, ‘यहाँ कुनै पनि किसिमकोे भेदभाव हुनेछैन । जसलाई आफन्तको अन्तिम संस्कारका लागि ठाउँ आवश्यक छ, उसले यसको उपयोग गर्न पाउँछ ।’

सबै संरचना बनाउन १ करोड १० लाख बढी लगानी लाग्ने अनुमान गरिएको र ८० लाखभन्दा बढी खर्च भइसकेको भवन निर्माणको काम पनि नागरिकहस्तरबाट संकलित रकमबाटै भइरहेको निर्माण समितिका अगुवा शेमराज शाक्यले जानकारी दिए । मन्दिरबाट प्राप्त दुई कठ्ठा जमिनमा निर्माण भइरहेको भवनका लागि नेपालगन्ज उपमहनगरपालिकाले ११ लाख बजेट दिने वाचा गरेकोमा ६ लाख भुक्तानी भएको र ५ लाख बाँकी रहेको शाक्यले बताए ।

यसैगरी घर निर्माण भइरहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ ले पनि पाँच लाख रूपैयाँ प्रदान गर्ने वाचा गरेको उनले बताए । यसैगरी हीरामणि भण्डारी, कोषाध्यक्ष अनिता शाह र उनकी दिदीबाट जनही पाँच–पाँच लाख रूपैयाँ नगद सहयोग प्राप्त भएको सचिव लामिछानेले जानकारी दिए ।

कोषध्यक्ष शाह नेपालगन्जजस्तो बाहिरबाट आएर बस्ने मानिसहरू अत्यधिक भएको, स्वास्थ्य उपचारको केन्द्र भएको सहरमा अन्तिम संस्कार गर्ने घरको आवश्यकता अत्यधिक रहेको बताउँछिन् । अध्यक्ष शाक्य पनि यस किसिमका घरहरू हरेक वडामा हुन जरुरी रहेको बताउँछन् । ‘यो मानिसलाई उसको सबैभन्दा कठिन घडीमा साथ दिने काम हो । आफन्त गुमाउनुको पीडामा रहेको मानिसलाई अन्तिम संस्कार गर्ने ठाउँको अभाव महसुस हुन दिनुहुँदैन । सहरी क्षेत्रमा यस्ता घरहरू हरेक वडामा बन्न जरुरी देख्छु,’ शाक्यले भने ।

कोषध्यक्ष शाह उक्त घर बनाउने योजनालाई लिएर नेपालगन्जबासीले दिएको साथले आफूहरूलाई चकित बनाएको बताउँछिन् । उनले सहयोग माग्नका आफूहरू घरघरमा गएको खुलेर सहयोग पाएको उल्लेख गर्दै सहयोग माग्न पुग्न नसकेका व्यक्तिहरूले पनि स्वतःस्फुर्तरूपमा सहयोग गरेको सुनाइन् । उनले भनिन्, ‘फोन गरेर प्रा.डा गोपाल शर्मा अधिकारीले तिमीहरू मकहाँ किन नआएको भनेर भन्नुभयो ।

हामी तुरुन्त गयौँ एक लाख रूपैयाँको चेक काटेर दिनुभयो ।’ सचिव लामिछाने पनि सहयोग माग्न पुग्न नसकेका व्यक्तिहरूले आफैँ फोन गरेर सहयोग माग्न नआएकोमा दुःखेसो पोखेको सुनाए । उनले भने, ‘कसैले नगद सहयोग गर्नुभएको छ । कसैले सिमेन्ट, ढोका, ट्वाइलेट सिट, फलामका किलाकाँटा । जे–जे सकिन्छ सहयोग गर्नुभएको छ । आफ्नो गच्छेअनुसारको सहयोग गर्नुभएको छ । यो साँच्चै पूण्य कर्म रहेछ भनेर महसुस भएको छ । बाँकी रकम पनि जोहो हुन्छ भन्ने विश्वास छ ।’

अध्यक्ष शाक्य अब डेकोरेसन, कोठाहरूमा एसीसहितको व्यवस्था गर्ने, बाउन्ड्री वाल बनाउनेलगायतका कामहरू बाँकी रहेको र त्यसका लागि पनि जनस्तरबाटै सहयोग मिल्ने अपेक्षा रहेको बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार