विपन्न समुदायका छोरीको शिक्षामा लगानी बढाइँदै



नन्दराम जैशी । सुर्खेत ।

वीरेन्द्रनगर–११ स्थित दुई विद्यालयका १३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरिएको छ । कर्णाली प्रदेशका सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले क्रियाशील लभ एण्ड होप नेपालले उक्त सामाग्री वितरण गरेको हो ।

संस्थाले शिव माध्यमिक विद्यालयका ५५ जना र कालिका आधारभूत विद्यालयका ७६ जना गरी कूल १३१ जना विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय पोसाक तथा झोला उपलब्ध गराएको छ । सहयोग प्राप्त गर्ने विद्यार्थीमध्ये अधिकांश छात्रा रहेका छन् । शिक्षाको आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोगिरहेका बालबालिकालाई लक्षित गर्दै सहयोग गरिएको हो ।

उक्त सहयोगले विद्यालयमा नियमित उपस्थितिका साथै अध्ययनप्रति उत्साह बढ्ने विश्वास गरिएको छ । विशेषगरी आर्थिक अभावका कारण शैक्षिक सामग्री र पोसाक व्यवस्थापन गर्न नसक्ने परिवारका बालबालिकाका लागि यो सहयोग महत्वपूर्ण मानिएको छ । लभ एण्ड होप नेपालले विगत आठ वर्षदेखि निरन्तर रूपमा कर्णालीका विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ ।

संस्थाले विद्यालय पोसाक, स्टेशनरी सामग्री तथा वार्षिक अध्ययन शुल्क व्यवस्थापनमा समेत सहयोग पु¥याउँदै आएको जनाएको छ ।
संस्थाका अनुसार गरिबीका कारण शिक्षाबाट वञ्चित हुन पुगेका बालबालिकालाई विद्यालय शिक्षासँग जोडिराख्न विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिँदै आएको छ । छात्राहरूको विद्यालय पहुँच, निरन्तरता र शैक्षिक उपलब्धि अभिवृद्धि गर्ने लक्ष्यसहित छात्रवृत्ति, शैक्षिक सामग्री वितरण तथा अन्य सहायक गतिविधि सञ्चालन भइरहेको संस्थाका अध्यक्ष शम्भुसंकर पोखरेलले बताए ।

‘कर्णाली प्रदेशमा अझै पनि आर्थिक अभाव, सामाजिक चुनौती र भौगोलिक विकटताका कारण धेरै बालबालिका गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा रहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा संस्थाको निरन्तर सहयोगले विपन्न परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन महत्वपूर्ण योगदान पु¥याएको छ ।’

शिक्षा नै दिगो विकासको आधार भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि कर्णालीका गरिब तथा सीमान्तकृत बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । विद्यालयस्तरमा गरिएको यस्तो सहयोगले बालबालिकाको भविष्य निर्माणमा मात्र नभई समग्र समाजको शैक्षिक रूपान्तरणमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

सामाग्री पाएपछि छात्रा हिमा बादी, इन्द्रा विक र सृष्टि शाहीले खुसी व्यक्त गरे । नियमित सहयोगले पढाइ तथा सिकाइ उपलब्धिमा सुधार आएको उनीहरूको भनाइ छ । सहयोग पाउने सबै बालबालिकाले संस्थालाई धन्यबाद दिँदै पढाइ गुणस्तर थप सुधार गर्ने गरी अध्ययन गर्न हौसला मिलेको बताए । कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम कँडेलका अनुसार अघिल्लो वर्षसम्म विद्यालयमा कक्षा १ देखि ५ सम्म जम्मा १३ जना विद्यार्थी मात्र अध्ययनरत थिए ।

तर लभ एण्ड होप नेपालको निरन्तर सहयोग तथा जनप्रतिनिधिहरूको घरदैलो अभियानपछि विद्यार्थी सङ्ख्या बढेर ७६ पुगेको छ । शिव माविका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले नियमित सहयोगले गरिबीका कारण विद्यालय आउन नसक्ने बालबालिकालाई निकै राहत मिलेको बताए । सहयोग पाइराखेका बालबालिकालाई थप लगनशील र अनुशासित भएर अध्ययन गर्न उनको आग्रह छ ।

वीरेन्द्रनगर–११ का वडाध्यक्ष खिमलाल देवकोटाले नियमित सहयोग पाएको पृष्टि हुने गरी उच्च शिक्षासम्म अध्ययन गरेर आफ्नो र संस्थाको शिर उचो बनाउन अनुरोध गरे । साथै सबैले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमै पढाउन समेत उनको आग्रह छ । उनका अनुसार अछामी, सुब्बाकुना र अमृतडाँडा क्षेत्रका आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई यो सहयोग निकै महत्वपूर्ण मानिएको छ ।

साथै सहयोगी संस्थाले विपन्न विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सहयोग कार्यक्रम जारी राख्ने जनाएको छ । यस्तै संस्थाले भ्याली मेमोरियल स्कुल र सुर्खेत होराइजन एकेडमीमा अध्ययनरत केही विद्यार्थीलाई पनि सहयोग गरेको छ । विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विपन्न समुदायका बालबालिकालाई शिक्षामा निरन्तरता दिन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्।

संस्थाले हाल सुर्खेत, दैलेख, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विपन्न समुदायका छोरीहरूको शिक्षामा लगानी गर्दै आएको छ भने काभ्रेपलाञ्चोकस्थित आफ्नै छात्रावासमा राखेर उच्च शिक्षासम्म अध्ययनको अवसर उपलब्ध गराउँदै आएको छ । साथै अभिभावकसँगै घरमै बसेर अध्ययन गर्न चाहने विपन्न बालिकाहरूलाई पनि शैक्षिक सामग्री तथा अन्य आवश्यक सहयोग प्रदान गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार