दाङ ।
दाङको गढवा गाउँपालिका–३ खैरा निवासी सरिता चौधरी पक्की घर पाएपछि यतिबेला खुसीले गद्गद छन् । वर्षौंदेखि फुसको छाप्रामा परिवारका सदस्यसहित बस्दै आएकी उनी अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी भएकी हुन् ।
मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै बस्दै आएका थियौँ,’ गढवा गाउँपालिका–३ खैरा निवासी सरिता चौधरीले भनिन्, ‘ग्रामीण महिला उत्थान केन्द्रले पक्की घर बनाइदिएपछि अब घरको समस्याबाट मुक्त भइयो । अब त केबल कमाएर परिवारमात्र पाल्नु छ ।’ आर्थिक विपन्नता र गरिबीको मार खेप्दै आएकी आफूले यो जुनीमा पक्की घरमा सुत्न पाउँछु भनेर कल्पना नै नगरेको बताइन् । ‘ग्रामीण महिला उत्थान केन्द्रलाई आाभार प्रकट गर्दछु,’ उनले भनिन् ।
उमेरले ६५ वसन्त पार गरिसकेका राजपुर गाउँपालिका–५ चङ्गुवा निवासी कलावती यादवलाई पनि पक्की घरको मालिक बन्छु भने विश्वासै थिएन । तर उनी पक्की घर पाएपछि हर्षित भएकी छन् । ‘हामी वर्षौंदेखि फुसको छाप्रामा दिन बिताउँदै आएका थियौँ,’ नयाँ घर पाएपछि यादवले खुसी हुँदै भनिन् ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ, निवास संस्था र स्थानिय तहको साझेदारमा महिला परिवारलाई सुरक्षित आवास सुदृढीकरण परियोजना कार्यक्रमअन्तर्गत अतिविपन्न परिवारका लागि पक्की घर निर्माण गरिएको छ ।
आव २०८०/०८१ मा अतिविपन्न महिला परिवारका गढवा गाउँपालिका वडा नम्बर ३ खैरा निवासी सरिता चौधरी, त्यसैगरी ५ नम्बर वडा लालपुर निवासी श्याम कुमारीचौधरी र बाँकी निवासी दिसु चौधरी, यस्तै ६ नम्बर वडाको आटिपाकर निवासी मायादेवी चौधरीलाई पक्की घर निर्माण गरी गृह प्रवेश गराइएको ग्रामीण महिला उत्थान केन्द्र दाङकी कार्यक्रम संयोजक पार्वती बस्नेतले जानकारी दिइन् ।
यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ७ लैवरुवा निवासी देवा वली, वडा नम्बर ५ चङ्गुवा निवासी कलावती यादव, वडा नम्बर १ निवासी जानकी चौधरी र वडा नम्बर २ बेला निवासी निर्मला खत्रीलाई पक्की घर निर्माण गरी गृह प्रवेश गराइएको हो ।
गढवा र राजपुर गाउँपालिका क्षेत्रभित्र रहेका ८ जना अति विपन्न परिवारले भूकम्प प्रतिरोधात्मक दुईकोठे पक्की घर पाएको ग्रामीण उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीले बताइन् ।
घरबारविहीन परिवारलाई चालु आवभित्रै सुरक्षित महिला परिवारलाई सुुरक्षित आवास सुदृढीकरण कार्यक्रमअन्तर्गत पक्की घर बनाई दिने निर्णय गरिएको थियो । जसअन्तर्गत छनोट भएका बस्तीमा घर निर्माणको काम सम्पन्न गरी परिवारलाई नयाँ घरमा गृह प्रवेश गराइएको हो ।









प्रतिक्रिया दिनुहोस्