बाँके ।
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसको चुनाव चिह्न रूखबाट चुनाव लड्नेगरी नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गराएको छ । आसन्न मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार गाउँपालिका उपाध्यक्ष पदमा एमालेले आफ्नो उम्मेदवारी दर्ता गराएको हो ।
कांग्रेसको चुनाव चिह्नबाट चुनाव लड्नेगरी एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी थिइन् । आइतबार नै उम्मेदवारी दर्ता अघि कांग्रेस–एमालेले पालिकामा ओवादीविरूद्ध चुनाव लड्न चुनाव चिह्न र उम्मेदवार साट्ने सहमती गरेका थिए ।
सहमतीअनुसार एमालेकी तुलाचनले रूख चुनाव चिह्नबाट चुनाव लड्नेगरी उम्मेदवारी दर्ता गराइन् । यसका लागि दुई दल कांग्रेस–एमालेले लिखित सहमति समेत गरेका छन् । सहमतीअनुसार तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी हुन् । माओवादीको बलियो आधार क्षेत्र भएको पालिकामा चुनाव लड्न सत्तारूढ दुई ठूला दलले चुनाव चिह्न र उम्मेदवार साट्ने सहमती गर्नुपरेको हो ।
नेपाली कांग्रेस जिल्ला सभापति केशरमान रोकाले दुवै दलले साझा उम्मेदवार बनाउने र साझा घोषणापत्रका आधारमा पालिका र वडाको चुनाव लड्ने गरी सहमति भएको बताए । सहमतिपत्रमा कांग्रेसका सभापति रोका र एमालेका जिल्ला अध्यक्ष लिलामणि गौतमले हस्ताक्षर गरेका छन् । दुवै दलबीच निर्वाचनपछि पनि जिल्लाका सबै कार्यक्रमका लागि साझा संयन्त्र बनाउने र आलोपालो नेतृत्व गर्ने गरी सहमति गरिएको एमाले अध्यक्ष गौतमले जानकारी दिए ।
रूख चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएकी तुलाचन एमाले निकट महिलाहरूको संगठन अनेमसंघकी केन्द्रीय सदस्य हुन् । पुथामा माओवादीले भने नरपुरा बुढा पुनलाई उम्मेदवार बनाएको छ ।
यहाँ एकिकृत समाजवादीले सुनिता बुढा मगरलाई अगाडि सारेको छ । अन्य ४ जनाले समेत स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । तीन राजनितिक दलसहित ७ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तकसेराले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले दिएको जानकारी अनुसार स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहोनभक्त बुढा, भिमकुमारी पुन र सुर्यदेवी सुनारले उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रकी भूपेन्द्र बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् । तथ्यांकअनुसार २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस–एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवारले दोब्बर मत ल्याएर विजयी भएका थिए ।
कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार १ सय ८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर मृत्यु गएपछि उपनिर्वाचन हुन गइरहेको हो ।
पालिका उपाध्यक्षसँगै पुथा उत्तरगंगाको वडा नं. २ मा पनि कांग्रेस एमालेले साझा उम्मेदवार बनाएका छन् । वडामा भने एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदवार बनाइएको छ । रोका भने एमालेकै चुनाव चिह्नबाट उम्मेदवार बनेका हुन् । वडा नं. २ का माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । गत निर्वाचनमा श्रीपालीले २ सय ३४ र कांग्रेसका कर्णबहादुर बुढाले १ सय ७९ मत प्राप्त गरेका थिए ।
यो वडामा माओवादीले जगत घर्तीलाई अगाडि सारेको छ । स्वतन्त्र उम्मेदवारको रूपमा शुक्रराज विकले उम्मेदवारी दिएका छन् । यहाँ उपाध्यक्ष र वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवारी दिएको छैन । तयारी नपुगेका कारण उम्मेदवारी नदिएको रास्वपा लुम्बिनी प्रदेशका अध्यक्ष देवराज पाठकले जानकारी दिए ।
ठाकुरबाबा– ४ मा ६ जनाको उम्मेदवारी
जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि ६ दलले वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) गरी ६ दलले उम्मेदवारी दर्ता गराएका थिए ।
नेपाली कांग्रेसबाट अमिन थारू, नेकपा एमालेबाट विष्णुप्रसाद देवकोटा, माओवादीबाट शेर बहादुर थारू, रास्वपाबाट वासुदेव शर्मा, राप्रपाबाट रत्न शाही, नाउपाबाट प्रितिलाल थारूले उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी सूर्यबहादुर बिष्ट जिल्ला समन्वय समिति प्रमुख बनेपछि खाली रहेको स्थानमा मंसिर १६ गते उपनिर्वाचन हुन गइरहेको हो ।
४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता
आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरूष र एक अन्य गरी जम्मा तीन सय २३ जनाको मनोयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।
धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदमा तीन÷तीन जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोयनपत्र दर्ता भएको आयोगका सहसचिव पोखरेलले जानकारी दिए ।
आज मंसिर ३ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र मंसिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।









प्रतिक्रिया दिनुहोस्