
नेपालगन्ज ।
नेपालगन्जको फुलटेक्रास्थित हडियााबा मन्दिर परिसरमा यसवर्ष पनि साधु सन्तको मेला लाग्ने भएको छ । हडियाबाबा मेलाको यसवर्ष ५९औँ वर्ष हुने हडिया बाबा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मंसिर २ गतेदेखि ६ दिनसम्म चल्ने मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट आठ सयभन्दा बढी साधु तथा सन्तहरू आउने समितिले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उक्त मेलामा साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरूलाई भण्डारा खुवाउने र रामलीला धार्मिक नाटक मञ्चनसमेत गरिने आयोजकले जनाएको छ । साधु सन्तलाई बिदा गर्दा एक–एक वटा कम्बल र दक्षिणा दिएर सम्मानसाथ बिदाइ गर्ने गरिएको समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । उनका अनुसार मेलाको पहिलो दिन मंसिर २ गते ‘रुद्री पूजा’, ३ गते ‘श्रीराम जनम’, ४ गते ‘कालिया नाग नाथन’, ५ गते ‘सुदामा चरित्र’, ६ गते ‘मीरा चरित्र’ र ७ गते ‘धनुष यज्ञ’को नाटक मन्चन गरिनेछ ।
हडियाबाबालाई नेपालगन्जमा सिद्धबाबाका रूपमा सम्मानपूर्वक लिने गरिएको छ । करिब एक सय वर्षअघि नेपालगन्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने, भक्तजनहरूको इच्छा पूर्ति गर्नसक्ने जनश्रुति तथा विश्वास रहीआएको छ । उनलाई बाँकेका साथै भारतका विभिन्न क्षेत्रमा सम्मानका साथ पुज्ने गरिएको छ ।
नेपालगन्जको फुलटेक्रामा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधु सन्त बस्न मिल्ने संरचना तथा बगिया रहेको छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पूण्यतिथिमा मेला लाग्ने प्रचलन रहेको आयोजकले जनाएको छ । अध्यक्ष वैश्यका अनुसार मन्दिरमा आएर भाकल गर्नेहरूका मनोकामना पूरा हुने विश्वास रहीआएको छ ।









प्रतिक्रिया दिनुहोस्