‘अरूलाई सिध्याउँछु भन्नेहरू आफैँ समाप्त हुन्छन्’



शिवु खनाल । दाङ ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । सोमबार लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै उनले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए ।

सरकारले अरू पार्टीलाई फुटाउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने उनले चेतावनी दिए । ‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे ! म भन्छु खबरदार ! अरू पार्टीलाई फुटाउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ,’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ ।

ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैँ समाप्त भएर जान्छन् । संसारको इतिहासले बताएको छ । संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस् । सरकारले अरू पार्टीलाई फुटाउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने उनले चेतावनी दिए । अध्यक्ष माधवकुमार पार्टी स्थापनाको तीन वर्षमै डेढ लाख पार्टी सदस्य बनेकाले सानो मन नबनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘धेरैले हाम्रो पार्टी गठन, त्यसपछि खेलेको भूमिकाको प्रसंशा गरेका छन्, कतिपयले हामीबाट खतरा महसुस गरेर गाली पनि गरेका छन्’, उनले भने, ‘एमालेको ९औँ महाधिवेशनसम्म एक लाख ५ हजार मात्रै संगठित पार्टी सदस्य थिए तर हाम्रो पार्टी गठनको तीन वर्षमै डेढ लाख सदस्य पुगिसके, विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम पनि छ, त्यसैले मन खुम्च्याउनु र खिन्न हुनुपर्दैन ।’

उनले फुटको हल्ला निराधार रहेको बताए । ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसंग विलीन हुँदैन, विलिन हुन लागेको चर्चा गलत हो, बेकारको हल्ला हो’, नेपालले भने, ‘हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस् ।’

उनले पार्टी विभाजन भए पनि सामना गर्नुको विकल्प नभएको बताए । ‘चुनाव आफैँ माग्ने, सबै प्रकृयामा भाग लिने अनि हारेपछि गलत भयो भनेर गीत गाएर हिंड्ने ?’, नेपालले भने, ‘पार्टी फुटको कुरा हल्ला हो तर फुटेछ भने आकाशै खस्दैन, हिम्मतका साथ सामना गर्नुको विकल्प छैन ।’

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार