मिसन टुडेद्वारा यस क्षेत्रका लेखकसँग अन्तक्र्रिया



कोहलपुर ।

मिसन टुडे राष्ट्रिय दैनिकले बडादसैँ २०८१ को अवसर पारेर बाँके बर्दियामा रहेका लेखक साहित्यकारहरूसँग अन्तक्र्रिया गरेको छ । बुधबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर यस क्षेत्रकै लोकप्रिय पत्रिका मिसन टुडेले लेखकहरूसँग शुभकामना आदान–प्रदान तथा अन्तक्र्रिया गरेको हो ।

लेखकहरूसँग शुभकामना आदान–प्रदान तथा यस क्षेत्रमा रहेका इस्युहरूलाई पहिचान गरेर पत्रिकासँग लेखकहरूलाई जोड्ने उद्देश्यले ‘लेखकसँग मिसन’ कार्यक्रम आयोजना गरिएको मिसन टुडेका प्रकाशक÷सम्पादक विनोद पौडेलले जानकारी दिए ।

उनले मिसन टुडे राष्ट्रिय दैनिक प्रेस काउन्सिल नेपालको २०७८÷०७९ को पत्रपत्रिका वितरण संपरीक्षणमा ‘क’ वर्गमा पर्न सफल भएको जानकारी दिँदै यसलाई बरकरार राख्नका लागि यस क्षेत्रका लेखक साहित्यकारहरूको भूमिका अहम हुने बताए । उनले यस क्षेत्रका साझा समस्या उठानका लागि यस क्षेत्रका लेखकहरूको थप भूमिकाको अपेक्षा गरिएको बताए ।

‘मिसन टुडेलाई अझ राम्रो बनाएर कसरी अगाडि बढ्न सकिन्छ भनेर नै आजको यो कार्यक्रम आयोजना गरिएको हो, पौडेलले भने, ‘हामी यहाँहरूका रचनात्मक सुझाव र आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गर्दछौँ ।’ यस क्षेत्रका लेखकहरूसँग सहकार्य गरेर पत्रिकाले यहाँका साझा मुद्दाहरूलाई उठान गर्न चाहेको उनको भनाइ थियोे ।

मिसन टुडे राष्ट्रिय दैनिकले यस क्षेत्रको अग्रणी पत्रिकाको रूपमा पहिचान बनाउन सकेकोमा बधाई दिँदै प्रा.डा. जनार्दन शर्मा आचार्यले पत्रिकाले सन्तुलन कायम गर्दै विश्वसनीय आधार निर्माण गर्नुुपर्ने बताए । राजधानी र मोफलस भन्ने धारणाबाट अब मिडियामात्र नभएर सबै क्षेत्र मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, राजनीति विश्लेषक नरेन्द्रजंग पिटरले समाजलाई अग्रगामी दिशामा अगाडि बढाउनका लागि मिसनको मिसन कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै आफू मिसनसँग जोडिएर अघि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

शिक्षाविद् एवम् मिसन टुडेका नियमित स्तम्भकार जीतबहादुर शाहले चाडबाडको सन्दर्भ पारेर मिसन टुडेले लेखकहरूलाई सम्झेकोमा खुसी व्यक्त गरे । उनले देश बिर्सेर विदेश ताक्ने मात्र नभएर चाडबाडका बेला गाउँ फर्किनेको लर्को देख्दा देश सम्झेर फर्किनेहरू पनि छन् भन्ने अनुभूति भएको बताए । मिसन टुडेको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै यसले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने उनको धारण थियो ।

कार्यक्रममा करिब २५ जना लेखक साहित्यकारहरूको उपस्थिति रहेको थियो । उपस्थित लेखक साहित्यकारहरूले आसन्न चाडपर्वको शुभकामना आदान–प्रदान गर्दै मिसन टुडे पत्रिका यस क्षेत्रको गौरव भएको भन्दै यससँग जोडिएर सहकार्य गर्न आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । रचनात्मक सुझावहरू दिँदै सहभागीहरूले पत्रिकासँग जोडिएका आफ्ना संस्मरणात्मक अनुभूतिहरू प्रस्तुत गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा मिसन टुडेका साहित्यिक सम्पादक महानन्द ढकालले सहजीकरण गरेको कार्यक्रममा प्रकाशक/सम्पादक पौडेलले लेखक साहित्यकारहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २४ गते बिहीबार