बाँके कांग्रेसले ग¥यो शुभकामना आदान–प्रदान



नेपालगन्ज ।

नेपाली कांग्रेस बाँकेले आज पत्रकार भेटघाट एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टी कार्यालय नेपालगन्जमा दसैँ, तिहार र छठ पर्व तथा नेपाल संवत ११४५ को अवसरमा पत्रकार भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।

त्यसअवसरमा सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को हालै सम्पन्न महाधिवेशनमा बाँके जिल्लाबाट केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई सम्मान एवम् बधाई ज्ञापनसमेत गरिएको छ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बडा दसैँलगायत नजिकिएका अन्य चाडहरुको अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीका महत्वपूर्ण गतिविधिका बारेमा पत्रकारहरूलाई जानकारी गराएका थिए ।

गौडेलले सञ्चार जगत्सँग निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके सधैँ प्रतिबद्ध रहेको बताए । उनले पार्टीका गतिविधिलाई सञ्चार माध्यमहरूले यथोचित स्थान दिइरहेकोमा धन्यवाद ज्ञापन गर्दै स्वस्थ आलोचना र पृष्ठपोषणका लागि कांग्रेस बाँके खुला रहेको बताए ।

गौडेलले पार्टीले जिल्लामा ‘ज्येष्ठ नागरिक, महिला र युवाको योगदान ः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान’ नामक चार महिने अभियान, केन्द्रिय अभियानअन्तर्गत सय दिने अभियान, प्रशिक्षण कार्यक्रम, साधारण र क्रियाशील सदस्यता वितरण, सदस्यता कार्ड वितरण, सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, असहायहरूलाई भोजन ग्रहणलगायतका क्रियाकलाप सञ्चालन गरिरहेको जानकारी दिए ।

‘पार्टी नेताहरूको जन्मजयन्ती, स्मृति दिवस तथा अन्य महत्वपूर्ण दिवसहरू वार्षिक क्यालेन्डर नै बनाएर मनाउने गरिएको छ । सार्वजनिक महत्व तथा जनचासो र सरोकारका विषयमा समेत प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने काम पनि नेपाली कांग्रेस बाँकेले प्राथमिकताका साथ गर्दै आएको छ,’ उनले भने, ‘सुशील कोइराला स्मृति भवनको तेस्रो तला ढलान सम्पन्न गरेर फिनिसिङको चरणमा प्रवेश गरेको छ, अझै माथि एक तला ढलान हुनेछ ।’ सभापति गौडेलले जिल्लामा दुई वटा वार्षिक सम्मेलनसमेत सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिए ।

सो अवसरमा अकोराबको केन्द्रीय समितिमा नवनिर्वाचित कोषाध्यक्ष तुला अधिकारी तथा केन्द्रीय सदस्यद्वय मोहम्मद आरिफ अन्सारी र हेमन्त विकलाई पार्टी सभापति गौडेलले टीका र खादा लगाएर सम्मान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार