भैरहवामा सडक खाना महोत्सव सुरु



बुटवल ।

रूपन्देहीको भैरहवामा शुक्रबारदेखि सडक खाना महोत्सव सुरु भएको छ । महोत्सवको एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर सिद्धार्थ होटल एसोसिएसनले ‘सडक खाना महोत्सव–२०८१’ को आयोजना गरेको हो ।

नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्रान्डिङ गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।

भैरहवाको देवकोटा चोकदेखि हाटबजारसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरूसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघसंस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१’ आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ ।

महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सवमा रमाउन आउने विश्वास गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज १९ गते शनिबार