चाडबाडमार्फत भाषा संस्कृति संरक्षणमा जोड



शिवु खनाल । दाङ ।

लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले हरेक व्यक्तिले आफ्नो पहिरन, भाषा, धर्म, नाचगान र चाडपर्वलाई जीवन्तता दिनुपर्ने कुरामा जोड दिएकी छन् । चाडपर्वलाई आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने अवसरका रुपमा मनाउनुपर्ने उनले बताइन् ।

तीजका सन्दर्भमा लमही नगरपालिका–९ रिहारमा आयोजित तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष योगीले चाडबाडका सामाजिक मूल्य र मान्यतालाई बिर्सन नहुने बताइन् ।

‘अहिले तीज पर्व हाम्रो घर आँगनमा पुगेको छ । तीजको आफ्नै महिमा, मूल्य र मान्यता छ । यसलाई संरक्षण गरेर जीवन्तता दिनुपर्छ,’ उनले भनिन्, ‘तर, अचेल चाडपर्व र नाचगानमा विकृति भित्रिएको छ, चाडपर्वलाई भड्किलो र खर्चिलो बनाइएको छ । यो राम्रो पक्ष होइन ।’
तीजमा महिना दिन अघिदेखि नै तीजको नाउँमा होटल, रेस्टुराँ या त्यस्तै अन्य स्थानमा नाचगान र खानपान गरेर मनाउन थालिएको भन्दै उनले असन्तुष्टि जनाइन् ।

लमही नगरपालिका–९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले तीजको मौलिकता जोगाउनुपर्नेमा जोड दिए । परम्परादेखि मनाइँदै आएको तीजको महत्व र गरिमा घट्न दिन नहुने उनको भनाइ छ । ‘तीजमा टिकटक बनाएर रमाइलो गर्नुभन्दा नारी असमानता र उनीहरूको वेदना र भावनाको चर्चा गर्नुपर्छ,’ उनले भने, ‘यसले तीजको मौलिक हराउनबाट जोगाउन सकिन्छ ।’

त्यसैगरी कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले चाडपर्वका नाममा कुनै पनि किसिमका विकृति भित्र्याउन नहुने बताइन् । आफ्नो संस्कृति, मूल्य र मान्यता बिर्संदै गएमा पछिल्ला पुस्ताले चाडबाडको महत्व र उद्देश्य बिर्सिंदै जानसक्ने उनको भनाइ छ । ‘यस कारण पनि चाडपर्व मनाउनुपर्छ,’ उनले भनिन्, ‘तर विकृति फैलन दिनु हुँदैन ।’

तीजको सबैभन्दा महत्वपूर्ण र विशिष्ट पक्ष भनेको सांस्कृतिक पक्ष हो । तीजका अवसरमा महिला दिदीबहिनीहरूले आफ््ना वेदना, गुनासा र पीडाहरूलाई गीतमार्फत अभिव्यक्त गर्दै स्वस्थ मनोरञ्जन गर्छन् ।

तर पछिल्लो समय आफ्नो नारी स्वतन्त्रताका नाममा मौलिक संस्कृतिमाथि नै प्रहार गर्ने काम हुँदै आएको छ । तीजका अवसरमा हुने भद्दा क्रियाकलापले समाजमा विकृति र विसङ्गतिको बिउ रोप्ने काम गरेको छ । यस्ता गतिविधि र क्रियाकलापले तीजलाई नकारात्मकतातर्फ धकेलिरहेको धेरैको बुझाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ भदौ २१ गते शुक्रबार