बाँके ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर–ढकेरी सडक खण्डको राप्तीसोनारी गाउँपालिका– ९ झिझिरी पुल नजिकै स्कुल बसको ठक्करबाट १३ वटा बाख्रासहित एक जना गोठालाको ज्यान गएको छ । ठक्करबाट अन्य ६ वटा खसीबाख्रा समेत घाइते भएका छन् ।
बिहीबार अपरान्ह्र कोहलपुरबाट ढकेरीतर्फ गइरहेको ना४ख ४५७० नम्बरको स्कुल बसले बाख्रासहित गोठालालाई झिझिरीको ओरालोमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
स्कुल बसको ठक्करबाट मृत्यु हुनेमा गोठाला गएका स्थानीय खैरी गाउँमा २६ वर्षीय गोविन्द ओली रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्करबाट १३ वटा खसीबाख्रा समेत मरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार जंगलबाट घर फर्किरहेका खसीबाख्रासहित गोठालालाई पछाडीबाट कुच्चदैँ स्कुल बस अगाडि बढेको थियो । कोहलपुर चप्परगौडीमा रहेको ज्ञानकुञ्ज स्कुलको बसले ढकेरी विद्यार्थी छाड्न जाँदै थियो । खसीबाख्रासहित गोठालालाई ठक्कर दिएपछि बस चालक भने फरार भएका थिए ।
ठक्कर दिएर केही पर पुगेपछि बस चालक बस रोकेर भागेको खुल्नमा आएको डिएसपी डाँगीले जानकारी दिए । बसमा सवार सबै विद्यार्थीहरू भने सकुशल रहेका छन् ।
स्कुल बसको ठक्करबाट ओली र खसीबाख्राको मृत्यु भएपछि स्थानीयहरूले राजमार्ग समेत अवरुद्ध पारेका थिए ।
ठक्कर दिने बस चालकलाई कारबाही, मृतक र मरेका बाख्राहरूको उचित क्षतीपूर्ती लगायतका मागहरू राखेर स्थानीयहरूले राजमार्ग अवरुद्ध पारेका हुन् । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्