कोहलपुरभित्रका जनज्योति पब्लिक स्कुल, जीवन ज्योति मावि कोहलपुर र पञ्चमुखी ईमी स्कुलले २०८० सालको एसइईमा शतप्रतिशत नतिजा ल्याएका छन् ।
कोहलपुर ।
कोहलपुर नगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक गरेर ३८ वटा माध्यमिक विद्यालय २०८० को एसइईमा सहभागी भएकोमा ३ वटा संस्थागत विद्यालयले मात्रै शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
शतप्रतिशत नतिजा ल्याउने कोहलपुर नगरपालिकाभित्रका जनज्योति पब्लिक स्कुल, जीवन ज्योति मावि कोहलपुर र पञ्चमुखी ईमी स्कुल रहेका छन् । कोहलपुरमा २४ वटा संस्थागत विद्यालयमा तीन वटा विद्यालयले मात्रै शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका हुन् ।
कोहलपुर नगर शिक्षा शाखाले प्रकाशित गरेको विवरण अनुसार यस वर्ष कोहलपुरमा २४ वटा संस्थागत र १४ वटा सामुदायिक विद्यालय एसइईमा सहभागी भएका थिए । तर, सामुदायिकतर्फका कुनै पनि विद्यालयले शतप्रतिशत नतिजा निकाल्न सकेका छैनन् ।
शतप्रतिशत नतिजा ल्याउने जनज्योति पब्लिक स्कुलबाट २०८० को एसइईमा ५६ जना विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक जनक चन्दले बताए । जनज्योति कोहलपुरमा सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालयसमेत रहेको उनको भनाइ छ । २०८० को ब्याच आफैँमा राम्रो र त्यसमा पनि शिक्षक, अभिभावक, विद्यालय प्रशासनको मेहेनत र परिश्रमले नतिजा राम्रो ल्याउन सफल भएको उनले बताए ।
यो वर्षको नतिजाले आगामी दिनमा अझै राम्रो नतिजा ल्याउन चुनौती थपिएको महसुस भएको उनले जनाए । ५६ जना विद्यार्थीमा ८ जनाले ३.६ जीपीए, १९ जनाले ३.२० जीपीए र २९ जनाले २.४० भन्दा माथि जीपीए ल्याएको प्रधानाध्यापक चन्दले मिसन टुडेलाई जानकारी दिए ।
त्यस्तै, जीवनज्योति मावि कोहलपुरका प्रधानाध्यापक जोमन जेम्सले विद्यालयले ल्याएको नतिजाले सबैतिर उत्साह छाएको बताए । उनका अनुसार विद्यालयबाट एसइईमा ४१ जना विद्यार्थी सहभागी भएकोमा सबैले ए र ए प्लस ल्याएर उत्तीर्ण भएका हुन् ।
विद्यार्थीहरूले शतप्रतिशत नतिजा ल्याउनुमा शिक्षकहरू र विद्यार्थीहरूको अथाह मेहेनत र परिश्रम रहेको उनले जनाए । ‘रातदिन नभनी विद्यार्थीहरूलाई अध्यापन गराउँदा मात्र परिणाम सोचेभन्दा राम्रो ल्याउन सफल भइएको हो,’ उनले भने ।
विद्यालयले यो शैक्षिक सत्रबाट साइन्स म्यानेजमेन्ट पनि सञ्चालन गरिने उनले जानकारी दिए । कोहलपुरका विद्यार्थीहरू गुणस्तरीय शिक्षाका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्न विद्यालयले कम खर्चमै साइन्स म्यानेजमेन्ट पठनपाठन गर्ने बताए ।
यस्तै, शतप्रतिशत नतिजा ल्याउन सफल अर्काे विद्यालय हो, पञ्चमुखी ईमी स्कुल । पञ्चमुखी ईमी स्कुलबाट सहभागी ३८ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् । कोहलपुर नगरपालिका–५ मा रहेको पञ्चमुखी ईमी स्कुलले समेत एसइईमा सतप्रतिशत नतिजा ल्याएको छ । २०८० को एसइईमा पञ्चमुखी ईमी स्कुलले राम्रो नतिजा ल्याएर सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो ।
कोहलपुरको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पञ्चमुखी ईमी स्कुलले नतिजा पनि सोही अनुसार ल्याएको छ । पञ्चमुखी ईमी स्कुलबाट एसइईमा सहभागी ३८ जना सबै विद्यार्थीले राम्रो नतिजा ल्याएर उत्तीर्ण हुन सफल भएको प्रबन्धक निर्देशक किशोर राज मल्लले जानकारी दिए ।
उनकाअनुसार विद्यालयले विगत लामो समयदेखि विद्यार्थीहरूको चाहाना र भावना बुझेर गुणस्तरीय शिक्षामा जोड दिएको उनको भनाइ छ । एसइईको रिजल्टले एकातिर खुसी र अर्काेतिर जिम्मेवारी थपिएको बताए । शिक्षक, अभिभावक, विद्यालय प्रशासन सबैको मेहेनत र परिश्रमले नतिजा राम्रो ल्याउन सफल भएको उनले जानकारी दिए ।
३८ जना विद्यार्थीहरूले २.२७ जीपीएदेखि ३.८६ जीपीएसम्म ल्याएको सहायक प्रिन्सिपल डिल्लीराज घिमिरेले मिसन टुडेलाई जानकारी दिए । विद्यालयले ल्याएको नतिजाले अभिभावक, विद्यार्थी र विद्यालय परिवार सबैतिर उत्साह छाएको बताए । विद्यार्थीहरूले शतप्रतिशत नतिजा ल्याउनुमा शिक्षकहरू र विद्यार्थीहरूको अथाह मेहेनत र परिश्रमको फल रहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्