बाँके ।
नेपाली कांग्रेस संघीय निर्वाचन क्षेत्र नम्बर १ बाँके र प्रदेश सभा ‘क’ र ‘ख’ को दोस्रो संयुक्त सम्मेलन आज बाँकेको कोहलपुरमा हुँदै छ । संयुक्त सम्मेलनको नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए ।
‘क्षेत्र र प्रदेश दुवैको कोहलपुरमा संयुक्त रूपमा सम्मेलन हुँदै छ । त्यसको सबै तयारी पूरा भइसकेको छ,’ उनले मिसन टुडेसँग भने, ‘शुक्रबार बिहान १० बजे नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्घाटन गर्नुहुन्छ ।’
सम्मेलनमा वरिष्ठ नेता कोइरालाका साथै सहमहामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल तथा आधा दर्जन बढी केन्द्रीय सदस्यहरू समेत आउनेछन् । कोहलपुरको कृषि चोकमा रहेको भेरी शीत भण्डारको सभाहलमा सम्मेलन हुने नेपाली कांग्रेस संघीय निर्वाचन क्षेत्र नम्बर १ बाँकेले जनाएको छ ।
सम्मेलनमा भाग लिन वरिष्ठ नेता कोइराला आज बिहान काठमाडौंबाट जहाजमा नेपालगन्ज विमानस्थल हुँदै कोहलपुर आउने क्षेत्रीय सभापति केसीले जानकारी दिए । साथै सम्मेलनमा सहभागी हुने केही अतिथिहरू बिहीबार नै कोहलपुर पुगिसकेका छन् भने केही आज बिहान आउने बताइएको छ ।
सम्मेलनमा ६ सय बढी क्षेत्रीय प्रतिनिधिहरू सहभागि हुनेछन् । यसपटकको सम्मेलन नयाँ नेतृत्व चयनका लागि नभएकाले आजै सकिने क्षेत्रीय सभापति केसीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्