उपचाररत घाइतेका आफन्त र अस्पताल प्रशासनबीच तनाव भएपछि शुक्रबार दिनभर ठूलो सङ्ख्यामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तनावका कारण बिरामीहरूले सास्ती भोगेका थिए ।

बाँके ।
सवारी दुर्घटनापश्चात विवादका कारण बिहीबार दिनभर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तनावग्रस्त भएको छ । पीडितका आफन्त र अस्पतालबीच तनाव बढ्दै गएपछि अस्पताल परिसरमा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।
गत वैशाख १५ गते तेह्र बिघा चोकमा भे१च २७६७ नम्बरको ठक्करबाट जुना बोहरा घाइते भएकी थिइन् । उनको उपचारमा अस्पतालले लापरबाही गरेको भन्दै आफन्तहरू आन्दोलनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको हो ।
घाइते बोहराको अवस्था सार्वजनिक गर्न माग गर्दै उनका आफन्तहरूले शुक्रबार दिनभर अस्पतालमा धर्ना दिएका थिए । अस्पतालले बोहरालाई बन्धक बनाएको आरोप लगाउँदै आफन्तहरूले सार्वजनिक गर्नुपर्ने माग राख्दै धर्ना दिएका हुन् ।
घाइते जुनाका दाइ जीवराज बोहराले उपचार गर्दा धेरै खर्च हुने र जीवित भएपछि भरन पोषण गर्नुपर्ने भएकाले मध्यपश्चिम पानी उद्योगका मालिक उदितबाबु रेग्मीको सेटिङमै जुनाको देहलीला समाप्त पार्ने षडयन्त्र भएको दाबी गरे ।
‘अब बहिनीको सास होस् या लास केही बुभ्mदैनौं । बुझ्नैपरे मंगलबार राति अस्पतालको आइसियू कक्षमा के कस्तो चलखेल भयो र को–को आइसियू कक्षमा प्रवेश गरी के–के गरेका थिए । त्यसको सिसिटिभी फुटेज सार्वजनिक गर्नुपर्छ,’ उनले भने, ‘यो माग पूरा नहुँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
अस्पताल प्रशासनले भने सहमति भएपछि मात्रै उपचाररत जुना मृत वा जीवित छन् भन्नेबारे जानकारी दिने बताएपछि पीडित आफन्तहरू झनै आक्रोशित भएका छन् । गाडीको ठक्करबाट घाइतेको अवस्था मंगलबारसम्म ठिकै रहेको दाइ जीवराजले बताए । सामान्य रूपमा बोल्दै गरेकी जुनालाई बुधबार अस्पताल प्रशासनले अकस्मात कोमामा पुगेको बताएपछि घटनाले अर्कै रूप लिएको हो ।
मंगलबारसम्म बाहिर रिफर गर्न नमानेको अस्पतालले बुधबार एकाएक भेन्टिलेटरसहितको एम्बुलेन्स मगाएर अन्यत्र लैजान दबाब दिएको दाइ जीवराजले जानकारी दिए । ‘मंगलबारसम्म राम्रो अस्पतालमा उपचारका लागि लैजान्छौं भन्दा अस्पताल रिफर गर्न मानेन,’ उनले आक्रोशित हुँदै भने, ‘बुधबार भने एकाएक भेन्टिलेटरसहितको एम्बुलेन्स मगाएर अन्यत्र लैजान दबाब दिएपछि शंका उत्पन्न भएको छ ।’
मध्यपश्चिम पानी उद्योगका सञ्चालक उदितबाबु रेग्मीले भने आफू स्वयम् पीडित भएको बताएका छन् । आफ्नो नाम जोडेर आएका कुरामा कुनै सत्यता नभएको उनले दाबी गरे । ‘घटना भएलगत्तै आफू खटिएर घाइतेको उपचारको सम्पूर्ण प्रबन्ध मिलाएको हुँ,’ उनले भने, ‘बिरामीको पछिल्लो स्वास्थ्य अवस्थाबारेमा कुनै जानकारी छैन । उपचारको सम्पूर्ण खर्च मैले गरिरहेको छु ।’
सञ्चालक रेग्मीका अनुसार घाइतेको टाउकोमा रगत जमेको र टाउको पछाडिको हड्डी भाँचिएकाले अवस्था जटिल भएको चिकित्सकहरूले बताएका छन् । यस्तै घाइतेका आफन्तहरूले आजदेखि अस्पतालमा रिले अनशन गर्ने भएका छन् ।
यता, अस्पताल प्रशासन स्रोतले भने घाइते जुनाको ब्रेन डेथ भइसकेको जनाएको छ । ‘उहाँको ब्रेन डेथ भइसकेको छ । सामान्य भाषामा जीवित हुनुहुन्न भन्दा पनि हुन्छ,’ प्रशासन स्रोतले नाम उल्लेख नगर्ने सर्तमा भन्यो, ‘अहिलेको विवाद साम्य भएपछि अस्पतालले औपचारिक धारणा सार्वजनिक गर्छ ।’
अस्पतालमा प्रहरी सुरक्षा, बिरामी मर्कामा
शुक्रबार दिनभर तनाव सिर्जना भएपछि अस्पतालमा बिरामीहरूले सास्ती पाएका थिए । अस्पताल प्रशासन र पीडित पक्षबीच विवाद भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
तनाव सिर्जना भएपछि अस्पतालमा उपचार गराउन आउने बिरामी तथा आफन्तहरूले भने सास्ती पाएका थिए । अस्पतालको सुरक्षाका लागि नेपालगन्जबाट ठूलो मात्रामा सुरक्षाकर्मी कोहलपुर ल्याइएको थियो ।
आधा दर्जन प्रहरीले रातभर समेत अस्पतालको सुरक्षा दिएका थिए । आन्दोलनका क्रममा हुनसक्ने क्षतिलाई रोक्नका लागि सुरक्षाकर्मी परिचालन गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्