दाङ।
राजपुर गाउँपालिका–७ का वडाध्यक्ष पुष्कर वलीले स्थानीय नाकाबासीको सहजका लागि अब सीमावर्ती क्षेत्रमै मतदान केन्द्र पु¥याउने बताएका छन् । उनले अब हुने ०८४ को निर्वाचनमा सीमा नाकामा बसोबास गर्ने स्थानीयबासीहरूले सिक्टा बुथ केन्द्र आएर मतदान गर्ने बाध्यता अन्त्य गर्ने दाबी गरे ।
‘अब मेरो पहिलो प्राथमिकता भनेकै कसरी हुन्छ नाकाका जनतालाई नाकामै मतदान केन्द्र स्थापना गरी मतदान गर्ने व्यवास्था मिलाउने हो,’ वडाध्यक्ष वलीले भने, ‘त्यसका लागि सबै प्रक्रिया अगाडि बढाएको छु । वडाले प्रशासनिक सुविधाबाहेक अब सीमा क्षेत्रमा मतदान केन्द्र स्थापना गरी जनतालाई वडा सरकारको अनुभूति गराउनेछ ।’ राजपुर गाउँपालिका–६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले पनि घरघरमै वडाको प्रशासनिक सुविधा पु¥याउने उद्देश्यले आफू अगाडि बढेको बताए ।
भारतसँग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रका स्थानीयबासीहरूले सीमावर्ती क्षेत्रमा तीन वटा स्थानमा नयाँ मतदान स्थल कायम गर्न माग गरेका छन् । मतदातालाई मतदान गर्न १३ घन्टा पैदल हिँड्नुुपर्ने र मतदाता संख्या पनि बढी भएका कारण नयाँ मतदान स्थल कायम गर्न निर्वाचन आयोगसमक्ष माग गरिएको हो । वडाध्यक्ष रोकाले दुर्गमको नाका क्षेत्रमा तीनवटा नयाँ मतदान स्थल कायम गर्न निर्वाचन आयोगसँग माग गरिएको जानकारी दिए ।
१३ घण्टा पैदल हिँडेर मतदान गर्नुपर्ने भएपछि यसअघि नै राजपुर गाउँपालिका–१ पटौली नाका, वडा नम्बर ६ खांग्रा नाका र वडा नम्बर ७ भैँसाही नाकाका स्थानीयका लागि नयाँ मतदान स्थल माग गरिएको थियो । यसपटक पनि मतदान स्थललाई पहिलो प्राथमिकतामा राखेर माग गरिएको उनले बताए । उनले सीमावर्ती क्षेत्रका लागि नयाँ मतदान स्थल कायम गर्न आयोग सकारात्मक रहेको जानकारी दिए ।
आयोगसँग माग गरिएका नयाँ मतदान स्थलमा राजपुर गाउँपाकिला–१ पटौली नाकामा रहेको श्री बालबिसौनी प्रावि, वडा नम्बर ६ खांग्रा नाकामा रहेको बालकल्याण मावि र वडा नम्बर ७ भैँसाही नाकामा रहेको गौरी शंकर माविमा मतदान केन्द्र रहेको जनाइएको छ । नयाँ मतदान स्थल कायम गर्न यसअघि नै आयोगमा आवश्यक विवरणसहित सिफारिस गरिए पनि दलहरूबीच सहमति जुट्न नसक्दा निर्णय हुन सकेको थिएन ।
भारतसँग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा बसोेबास गर्ने स्थानीयबासीलाई मतदानका लागि दुई दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेकाले सीमावर्ती क्षेत्रका स्थानीयलाई मतदान केन्द्रमा पुग्न र घर फर्कन दुई दिन समय लाग्ने गरेको छ । मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र उनीहरू घर फर्किने गरेका छन् ।
‘मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर सुनपत्री खोला पुगेपछि कुरुवाखोलाबास बस्छौँ, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि कुरुवाखोला गाउँमा बास बस्छौँ,’ राजपुर गाउँपालिका–७ भौवा नाका निवासी मंगल सिंहले भने, ‘घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।’ भारतसँग सीमा जोडिएको दाङको अन्तिम मानव बस्तीमा १ हजारभन्दा बढी घरधुरी छन् ।
राजपुर गाउँपालिका–७ मतदान केन्द्र मावि सिक्टा, त्यसैगरी वडा नम्बर ६ को साधारण नमुना मावि गंगदी र वडा नम्बर १ को गुरुङखोलामा रहेको ज्योति आधारभूत विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ । जहाँ २ हजारभन्दा बढी मतदाता
छन् । गएको स्थानीय तहको चुनावमा ५ सय जनाले मतदान गरेका थिए । घर कुर्नुपर्ने बाध्यताले कतिपय स्थानीयबासी मतदान मतदानका लागि केन्द्रसम्म पुग्न सकेका थिएनन् ।
त्यस्तै, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट वञ्चित हुने गरेका छन् । सीमावर्ती क्षेत्रका बासिन्दाहरू अक्करे भीरको पैदल मार्ग छिचोलेर मतदान केन्द्रसम्म पुग्नुपर्ने बाध्यता छ । त्यसैले सीमावर्ती क्षेत्रमा छुट्टै मतदान स्थल बनाउनुपर्ने स्थानीयबासीको माग रहँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्