बाँके।
चिसो बढ्दै गएपछि बाँकेका राप्ती सोनारी र डुडुवा गाउँपालिकाले समेत विद्यालय बिदा दिएका छन् । अत्यधिक जाडो बढेपछि आज शुक्रबार र पर्सि आइतबार दुई दिन दुवै पालिकाले विद्यालयहरूमा जाडो बिदा दिएका हुन् । शुक्रबारदेखि लागू हुनेगरी पालिकाभित्रका सबै विद्यालयहरूमा जाडो बिदा दिइएको राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।
बिहीबार सूचना नै जारी गरेर पालिकाले विद्यालयहरूमा बिदा दिएको हो । ‘अत्यधिक जाडोका कारण विद्यालयमा अध्ययन र अध्यापन गर्न गराउन कठिनाइ भएकाले आइतबारसम्म पठनपाठन स्थगित गराउन विद्यालयलाई आग्रह गरिन्छ’ जारी सूचनामा भनिएको छ ।
यसैगरी डुडुवा गाउँपालिकाले समेत बिहीबार नै सूचना जारी गरेर आइतबारसम्म विद्यालय बन्द गरिएको जनाएको छ ।
शुक्रबारदेखि लागू हुने गरी विद्यालयमा जाडो बिदा दिइएको उल्लेख गर्दै मौसम अनुकूल भए सोमबारबाट विद्यालय नियमितरूपमा सञ्चालन हुने सूचनामा उल्लेख छ । यसअघि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाले समेत जाडो बिदा दिइसकेका छन् ।
अत्यधिक चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको पालिकाहरूले जनाएका छन् । बाँकेमा दुई सातादेखि राम्रोसँग घामसमेत लाग्न सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्