हाम्रो एकीकृत सहकारीको साधारण सभा सम्पन्न(फोटो फिचर)



बाँसगढी।
हाम्रो एकीकृत कृषि सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बाँसगढीमा सम्पन्न गरेको छ । बाँसगढी नगरपालिकाका मेयर खड्कबहादुर खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर खड्काले सहकारीमा जोडिएर आफ्ना उत्पादन बढाउन सहभागीहरूलाई आग्रह गरे । उनले कृषक तथा उद्यमीहरूलाई उत्पादनमा जोड्न पालिकाले सहकारीमार्फत सहुलियतमा ऋण उपलब्ध गराउने कामको थालनी गरेको बताए ।

‘पालिकाले सहकारीलाई शून्य प्रतिशत ब्याजमा रकम उपलब्ध गराउने नीति लिएको छ,’ मेयर खड्काले भने, ‘त्यसलाई सहकारीले १ प्रतिशत ब्याजमा पालिकाभित्रका कृषक तथा उद्यमीलाई लगानी गर्नुपर्नेछ ।’ यस्तो रकम दुरुपयोग होला कि भनेर कताकती प्रश्न पनि उठ्ने गरेको बताउँदै उनले त्यसका लागि सचेतता अपनाउन सहकारीहरूलाई आग्रह पनि गरे ।

कृषक तथा उद्यमीको सहजताका लागि यो कार्यक्रम लागू गरिएकाले वास्तविक कृषक तथा उद्यमीले नै यो सहुलियत पाउनुपर्ने उनको भनाइ छ । ‘नगरपालिकाले कडाइका साथ अनुगमन गर्छ,’ उनले भने, ‘यदि दुरुपयोग गरिएको पाइए नगरपालिकाले पैसा तुरुन्त फिर्ता ल्याउँछ ।’
कृषि तथा पशुपालनको अनिवार्य बिमा गर्न पनि किसानलाई उनले आग्रह गरे । नगरपालिकाले कृषि तथा पशुपन्छीमा निःशुल्क बिमाको व्यवस्था गरेको जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष गोविन्दप्रसाद उपाध्यायले आमागी दिनमा सहकारीलाई अझ क्रियाशील बनाउँदै किसानहरूका लागि नमुना सहकारीको रूपमा विकास गर्ने जनाए । उनले सहकारीमार्फत किसानलाई कृषि सामग्री उपलब्ध गराइने पनि बताए । कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिनुका साथै उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका सचिव कृष्ण अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा बाँसगढी नगरपालिका–५ का वडाध्यक्ष दहवा थारू, रेडियो मिसनका स्टेसन म्यानेजर बैकुण्ठ अधिकारी, संस्थाका उपाध्यक्ष इन्द्रजित बुढा, धु्रवतारा बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष होमनाथ अधिकारी, जनभावना बचत तथा ऋण सहकारीका अध्यक्ष रेशम खत्रीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८० पुस २८ गते शनिबार