हुम्लाबाट भारत जाने युवाको लर्को



सिमकोट।
देश छाड्ने युवाहरूको लर्को सहरबजारमा मात्र होइन गाउँघरमा पनि उस्तै । हिमाली जिल्ला हुम्लामा पनि हिजोआज युवा भेटिन छाडेका छन् । गाउँठाउँ र देशमै रोजगारीका कुनै अवसर नहुँदा उनीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकतिर जाने गरेका छन् । यहाँका अधिकांश युवाहरू रोजगारीका लागि भारतमा निर्भर हुनेगरेका छन् । मुलुकमा संघीयता आएर तीन तहका सरकार बन्दा पनि युवाहरूलाई रोजगारीको कुनै अवसर छैन ।

संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् ।  जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन् । अदानचुलीमा कुनै काम नभएर युवा रोजगारविहीन भएपछि कामको खोजीमा गाउँ नै शून्य बनाउने गरी भारत लागेका हुन् ।

सहरका युवाले रोजगारको खोजीमा खाडी मुलुकका लागि हातमा पासपोर्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेजस्तै यता दुर्गम गाउँका युवा पनि लाम लागेरै दिनहुँजसो छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् । अदानचुली गाउँपालिकाबाट मात्र दैनिक १० देखि १५ युवा भारतको कालापहाडलगायत सहरमा कामका लागि गाउँ छोड्ने गरेका छन् । हुम्लाको अदानचुली गाउँपालिकाका अधिकांश बस्ती युवाविहीन हुन थालेको नेकपा (एमाले) गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीले जानकारी दिए ।

गाउँमा रोजगारीको कुनै सम्भावना नभएपछि आफ्नो घरपरिवार आधारभूत आवश्यकता पूरा गर्न यस क्षेत्रका सयौँको संख्यामा युवाहरू कालापहाड जान थालेको भण्डारीले बताए । यही पुस १० गते मंगलबार परेको कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि १ हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ । गएको एक सातामा गाडीमा र पैदल हिँडेर भारत जानेको संख्या निकै बढी देखिएको छ ।

अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीमा युवा बिरलै भेटिने गरेको अदानचुली गाउँपालिका–२ का भक्त बुढाले बताए । उनका अनुसार एक सातादेखि अत्यावश्यक कामले रोकिएका बाहेक युवा गाउँमा भेट्न मुस्किल भएको स्थानीय बुढाले बताए । गाउँमा कुनै काम र आम्दानीको कुनै स्रोत नभएपछि घरपरिवारका सामान्य आवश्यकता पूरा गर्न युवाहरू भारततिर पलायन भइरहेको उनले जनाए । एक वर्षयता भारत जानेको संख्या अत्यधिक रूपमा बढेको उनले जानकारी दिए ।

अहिले गाउँमा कोही बिते पनि लास उठाउने युवा पाउन मुस्किल भएको उनको भनाइ छ । आफ्नो गाउँ घरबाट मात्रै यही पुस १३ गते २३ जना तथा विभिन्न टोल भएको अदानचुली–२ बाट झन्डै सयको संख्यामा युवा भारत गएको उनले बताए । हिउँदमा घरको काम खासै नहुने भएका कारण युवाहरू यो समयमा भारततिर जाने गरेको उनको भनाइ छ । विकास निर्माणको काम गरेर केही रकमको जोहो गर्ने गरेका युवाका लागि पनि एक वर्षयता विकास निर्माणका कामहरू ठप्प भएपछि युवाहरू बिदेसिन बाध्य भएको उनको ठहर छ ।

‘झन्डै दुई दशकपछि पहिलोपटक यति ठूलो संख्यामा युवा विदेशिएका हुन्,’ उनले भने । लामो समयदेखि छिमेकी मुलुक नगएका यहाँका युवा पनि दिनहुँ सयौँको संख्यामा घर छोडेर बिदेसिइरहेका छन् । गाउँमा रोजगारीका काम नहुनु, गाउँपालिकाले भएका योजनाहरूको भुक्तानी प्रक्रिया समयमा पूरा नगर्दा बजेट फ्रिज हुनुलगायत कारणले यहाँका युवाले हिउँदको आफ्नो कामको गन्तव्यका रूपमा भारतलाई रोजेका हुन् ।

घरमा बसौँ भने काछो (गाउँको धार्मिक कामका लागि उठाउने रकम) उठाउने पैसा पनि नहुने भएपछि भारत जानुको कुनै विकल्प नभएको बिदेसिनेहरूको भनाइ छ । विगतका वर्षहरूमा औषधि उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट केही संंख्यामा युवा कालापहाड जाने गरेको भए पनि यो वर्ष जानेको संख्या ह््वात्तै बढेको अदानचुली–२ को मष्टादेव आधारभूत विद्यालयका शिक्षक छप्की बुढाले बताए । केही दिनअघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी ‘रिजर्भ’ गरेर यहाँका युवाले दुई–तीन महिनाको गन्तव्यका रूपमा कालापहाड रोजेका हुन् ।

पुस १३ गते मात्रै ५ सयको संख्यामा युवा कालापहाड लागेको भारत जान लागेका एक युवाले जानकारी दिए । कर्णाली कोरिडोरमा अस्थायी रूपमा चलेका जिपहरूमा प्रायः कालापहाड जाने युवा मात्रै भेटिने गरेका छन् । कुनै जिपले बेलुका अबेरसम्म पनि गाउँबाट युवा ओसारिरहेका हुन्छन् । आफूसँग गाडी भाडा नभएका दर्जनौँ युवा बाजुराको मार्तडीसम्म राति हिँडेर पनि जाने गरेको बुढाले बताए ।

अदानचुली–३ मकै गाउँका अंकल रोकायाले गाउँभर खोज्दा पनि गाडी भाडा नपाएपछि पैदलै आफूसहित केही युवा बाजुराको मार्तडी पुगेको बताए । गाडी भाडा नपाएपछि आफूसँगै गाउँका १२ जनाको टोली एक दिन एक रात हिँडेर बाजुरा सदरमुकाम मार्तडी पुगेको उनले जानकारी दिए । ‘बाटोमा सबै गाडी चढेर हिँड्ने, हामीमात्र पैदल हिँडेको देख्दा लाज भएर रातदिन नभनेरै पैदल कुदेका हौँ,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार