30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बन्यो ग्यास वितरणको कार्यविधि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ११, २०७२  

कोहलपुर, मंसिर ११
खानापकाउने ग्यासको चरम अभाव सिर्जना भएपछि बाँके प्रशासनले ग्यास बितरणको कार्यबिधी बनाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय नेपालगन्जमा बसेको बैठकले ग्यास बिक्री गर्ने कार्यबिधी बनाएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अबदेखि स्थानीय ग्यास उद्योगहरुले सहज अवस्थाको बिक्रीलाई आधार मानेर बिक्रेताहरुलाई समानुपातीक आधारमा उपलब्ध ग्यास बितरण गर्नेछन् भने बिक्रेताहरुले पहिलो आउने ग्राहकलाई प्राथमीकतामा राखेर बिक्रीको अभिलेख राखी बितरण गर्नुपर्नेछ । अभिलेख नराख्ने बिक्रेतालाई पहिलो पटकलाई १ पटकलाई ग्यास रोक्का गर्ने दोस्रो पटकमा ३ पटक सम्म ग्यास नदिने र त्यसपछिपनि अभिलेख नराखेमा बिक्रेता प्रमाण पत्र खारेज गर्ने सम्मको निर्णय भएको ग्यास आपुर्ति तथा बिक्री बितरण समितिका संयोजक कमल प्रसाद पौडेलले जानकारी
दिए ।
कमतौल र बिना सिलबन्दी ग्यास बेच्न नपाइने निर्णय गर्दै समितिले सहज अवस्था नहुंदा सम्म स्थानीय प्रशासनको सिफारिस बिना नयाँ कनेक्शन समेत बेच्न रोक लगाएको छ । नियम बिपरित गरेको पाइएमा कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत समेत रहेका संयोजक पौडेलले बताए । नयाँ कनेक्सन बेच्दा ब्यापक अनियमितता भएको र बजारमा ग्यासमा कालोबजारी भएको भन्ने गुनासो आएपछि प्रशासन कार्यालयको अगुवाईमा यस्तो निर्णय गरिएको जनाइएको छ ।
खाना पकाउने ग्यासमा अनियमीतता भएको गुनासो आएपछि बुधबार मात्र आपुर्ति तथा अनुगमन समिति गठन गरेको थियो ।
नेपालगन्जमा भेरी ग्यास उद्योग र मनकामना ग्यास उद्योगले ग्यास आपुर्ति गर्दै आएकाछन् । भारतले अघोषित नाकाबन्दी लगाएपछि झण्डै २० प्रतिसत मात्र ग्यास आयात भएको उद्योगहरुले जनाएका छन् ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ११, २०७२     9:02:24 AM  |