कोहलपुर जुत्ता चप्पल व्यवसायी संघको अधिवेशन सम्पन्न



गणेश रावत । कोहलपुर ।

कोहलपुर जुत्ता चप्पल व्यवसायी संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा शनिबार गाभर भ्यालीमा सम्पन्न भएको छ । शनिबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

उक्त अवसरमा बोल्दै संघका अध्यक्ष पौडेलले कोहलपुर जुत्ता चप्पल व्यवसायी संघले व्यवसायीका हकहितमा काम गर्नुपर्ने बताए । कोरोना भाइरसले थला परेको व्यापार व्यवसाय अहिले पनि लयमा फर्कन नसकेको उनले बताए ।

संघको तेस्रो वर्ष प्रवेशको अवसरमा शुभकामना व्यक्त गर्दै उनले व्यवसायीलाई आफ्नो क्षमता अनुसारको घरभाडा र स्वदेशी उत्पादनमा जोड दिन उनले आग्रह गरे । चर्काे ब्याजदर र आर्थिक मन्दीले अहिले व्यवसायीहरू मारमा परेको उनको भनाइ थियो । कोहलपुर उद्योग वाणिज्य संघले बैंकदेखि सरकारलाई ब्याजदर घटाउन दबाब दिएको उनले जानकारी गराए ।

स्वदेशी सामानको बिक्री वितरणमा जोड दिन अध्यक्ष पौडेलले आग्रह गरे । ‘रुपैडियाको सामान नभई स्वदेशी उत्पादनमा जोड दिऊँ,’ उनको भनाइ थियो, ‘र दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौँ ।’

त्यस्तै, कोहलपुर जुत्ता चप्पल व्यवसायी संघका निवर्तमान अध्यक्ष बलराम देवकोटाले आफ्नो दुईबर्से कार्यकाल सुखद रहेको बताउँदै यो अवधिमा आफूले व्यवसायीका हकहितमा काम गर्ने प्रयास गरेको बताए । संस्था स्थापना भएको भर्खरै भएकाले आफूले सोचेअनुसार काम गर्न नसकेको उनले बताए ।

बाँके जिल्ला कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका जुत्ता चप्पल व्यवसायीहरूलाई संघले एक ठाउँमा ल्याउने काम गरेको संघका सचिव नीलकण्ठ घिमिरेले बताए । संघले व्यवसायीको हकहित प्रवद्र्धन गर्दै उनीहरूका साझा समस्या समाधान गर्दै आएको उनी बताउँछन् ।

उनले प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा गुणस्तरीय सामग्रीहरूको बिक्री वितरणलाई प्रोत्साहित गर्ने र उपभोक्ताबीच जानकारीमूलक कार्यक्रम गर्नेलगायत योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विज्ञापनदाता र संस्थालाई सहयोग गर्ने व्यापारीलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा निवर्तमान अध्यक्ष देवकोटा, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, पौडेल, नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ अध्यक्ष कविराम जैशी, नेपाल घरबहाल मञ्च बाँकेका अध्यक्ष राधा गौतम, कपडा व्यवसायी संघका अध्यक्ष राजकुमार पौडेललगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति

पुण्यप्रसाद तिवारीको अध्यक्षमा कोहलपुर जुत्ता चप्पल व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार तिवारीसहितको ११ सदस्य समिति निर्विरोध चयन भएको हो ।

आगामी दिनमा जुत्ता चप्पल व्यवसायी संघलाई थप सशक्त रूपमा अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष तिवारीले बताए । व्यवसायीका हकहित र संस्थालाई अघि बढाउन सबैको साथ सहयोगको अपेक्षा गरेको उनले बताए ।

सो समितिको उपाध्यक्षमा टीकाराम देवकोटा, सचिवमा नीलकण्ठ घिमिरे, सहसचिवमा गोविन्द थापा क्षेत्री, कोषाध्यक्षमा प्रेमप्रसाद पाण्डे तथा सदस्यहरूमा नम्रता पौडेल, मधुकर पौडेल, हेमन्त पुनमगर, अगन्धर पौडेल, नरेन्द्र न्यौपाने र डम्बरबहादुर खत्री रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस १ गते आइतबार