सहकारीलाई सुदृढ गर्न अभिमुखीकरण



नेपालगन्ज ।

सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगन्ज उपमहानगरपालिकाले अभिमुखीकरण सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा सिकाइ आदानप्रदान कार्यक्रम गरिएको हो ।

सहकारी सम्बद्ध सरोकारवाला निकाय र नेपालगन्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाबीच चौमासिक सिकाइ आदानप्रदान कार्यक्रमअन्तर्गत एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रमुख प्रविन रानाले बताए ।

सहकारीलाई सुदृढ, व्यवस्थित र चुस्तदुरुस्त राख्न अभिप्रेरित गर्दै जनस्तरमा गुम्दै गएको सहकारीप्रतिको विश्वासलाई पुनः जागृत गराउन अभिमुखीकरण गरिएको रानाले जानकारी दिए । जिल्ला सहकारी संघ बाँकेको सहजीकरण भएको अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुख राना र संघका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले सहजीकरण गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र रहेका १ सय १२ वटै सहकारी संस्थाको निरीक्षण गर्ने, आवश्यक देखिएमा अनुगमन गर्ने र समस्याग्रस्त देखिएमा सघन अनुगमन गर्ने नीति लिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक गोपाल पुनले नेपालगन्ज उपमहानगरपालिकाले सहकारी सुधार र सशक्तीकरणका लागि केही गर्न खोजेको भन्दै सबैको प्रतिबद्धता जरुरी रहेको बताए ।

अन्तरक्रियाले गाइडलाइन प्रदान गर्ने बताउँदै पुनले सहकारी अभियानलाई भरोसायोग्य बनाउनुपर्नेमा जोड दिए । उनले अब उत्कृष्ट सहकारीलाई सम्मान गर्ने परिपाटीको विकास गरिने जानकारीसमेत दिए ।

जिल्ला सहकारी संघका प्रबन्ध सञ्चालक उपाध्यायले समस्याग्रस्त सहकारीलाई ट्र्याकमा ल्याउन आवश्यक रहेको बताए । नेफस्कुन प्रमुख छत्र धमलाले समस्याग्रस्त सहकारीलाई उकास्न समन्वयकारी भूमिका जरुरी रहेको उल्लेख गर्दै सुशासन कमजोर भएर थुप्रै चुनौतीको सामना गर्नुपरेको जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंक नेपालगन्जका प्रमुख प्रकाश थपलियाले सहकारी स्वयम्ले कमजोरी गर्दा विश्वास गुमाउँदै गएको बताउँदै आफैँले आफ्नो स्वनियमन गर्नुपर्नेमा जोड दिए । जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भूपेन्द्रप्रसाद अधिकारीले सहकारीलाई मुख्य पेसा नबनाउँदा चुस्त दुरुस्त र व्यवस्थित बन्न नसकेको बताए । कार्यक्रममा करिब ४ दर्जन सहकारी प्रतिनिधिहरूको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर २६ गते मंगलबार