नेपालगन्ज उद्योग वाणिज्य संघमा अझै मिलेन महासचिवको विवाद



नेपालगन्ज ।

नेपालगन्ज उद्योग वाणिज्य संघमा मतगणनाका क्रममा महासचिव पदमा उत्पन्न विवादका विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोखरेलले दुबै पक्षलाई बोलाएर विवाद समाधानका लागि छलफल गरेका हुन् ।

छलफलमा संघको संस्थापन पक्ष र असन्तुष्ट पक्षले आ–आफ्ना कुरा राखे पनि कुनै निष्कर्ष भने नस्किएको छलफलमा सहभागी व्यवसायीहरूले बताएका छन् ।

सिडिओ पोखरेलले सहमति गरेर जान अनुरोध गरेको भन्दै फेरी पनि समस्या समाधानका लागि लाग्ने बताए ।
आर्थिक मन्दीका कारण प्रभावित भएका उद्योगी, व्यवसायीका समस्या समाधानका लागि पैरवी गर्न केन्द्रीत हुनुपर्ने बेला संघभित्र समानान्तरण गतिविधि हुन थालेका छन् । त्यसले संघको दैनिक कामकाजमा समेत असर पु¥याएको छ ।

गत भदौ २ गते भएको निर्वाचनमा ६ मतले विजयी भएका भिमबहादुर रानाभाटविरुद्व अर्का उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग राख्दै रिट हालेका थिए । रानाभाटले एक हजार ९ सय २६ मत ल्याउँदा शर्माले १ हजार ९ सय २० मत ल्याएका थिए ।

प्रमुख निर्वाचन आयुक्तले विजयी घोषणा गर्नुअघि नै शर्माले पुनः मतगणनाको माग राख्दै आएका थिए । त्यसको बाबजुद प्रमुख निर्वाचन आयुक्त टीका सिंहले रानाभाटलाई विजयी घोषणा गरेका थिए । प्रमुख निर्वाचन आयुक्त सिंहले पुनः मतगणना हुने सूचना जारी गरेपछि विवाद बढेको थियो ।

पुनः मतगणना गर्ने सूचना जारी गरेपनि सिंहले फेरि नगन्ने भनेपछि शर्मा अदालत गए । तर उच्च अदालत तुलसीपुर नेपालगन्ज इजालासका न्यायाधीशद्वय भानुभक्त न्यौपाने र पुनमसिंह चन्दको इजलासले शर्माको रिट खारेज गर्दै निर्वाचन आयुक्तले विजयी घोषणा गरेको कुरालाई मान्यता दिने फैसला गरेको थियो ।

योसँगै महासचिवको विवाद टुंगिएको मानिएको थियो भने रानाभाटले सपथसँगै आफ्नो जिम्मेवारी सम्हालेका थिए । तर महासचिव पदका अर्का उम्मेदवार शर्माले उठाएको मुद्दा कार्यसमितिभित्रै उनका प्यानलबाट विजयी भएका उम्मेदवारहरूले उठाए ।

उक्त विषयलाई एजेण्डाकैरूपमा कार्यसमितिमा लैजानुपर्ने विषयमा यतिबेला विवाद बढेको हो । तर त्यो बढ्दै जाँदा बुधबार असन्तुष्ट पक्षले कार्यसमिति बैठक समेत बसालेर गम्भीर निर्णय गरेको थियो । जसलाई अध्यक्ष टंकबहादुर धामीले अवैध र अनाधिकृत भनेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार