इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव पहिचान



काठमाडौँ ।

दक्षिणी इजरायलको किबुज अलुमिममा प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव पहिचान भएको छ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र पाँचनली–३ डोटीका राजन फुलराको शव पहिचान भएको हो।

इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। जसमध्ये ५ जनाको शव यसअघि नै पहिचान भई नेपाल पठाइएको थियो। बाँकी दुईजनाको शव पहिचानको क्रममा रहेको दूतावासले जनाएको छ।

यस्तै, बेपत्ता रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार घाइते भएका चारजनामध्ये दुई जना डिस्चार्ज भइसकेका छन्, जसमध्ये एकजना नेपाल फर्किसकेका छन् भने एक जना दूतावासको हेरचाहमा छन्। घाइते दुईजना भने अस्पतालमा उपचाररत अवस्थामा रहेका छन्।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार