नेपालीको सुरक्षाका बारेमा भारतीय प्रहरीसँग छलफल



नेपालगन्ज ।

नेपाल–भारत मैत्री संघ बाँकेको टोलीले सीमावर्ती रुपैडियास्थित भारतीय सुरक्षाकर्मीसँग भेटेर नेपालीहरूको सुरक्षाका विषयमा छलफल गरेको छ । चाडपर्वमा समयमा भारतबाट फर्किने नेपालीको सुरक्षाका विषयमा ध्यानार्कषण गराएको संघका केन्द्रीय सदस्य अमर खड्काले जानकारी दिए ।

उनका अनुसार रुपैडियास्थित बसपार्क र रेल्वेमार्गमा नेपाली यात्रुको सुरक्षाका लागि प्रभावकारी रूपमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको हो । सीमावर्ती क्षेत्रमा लुटपाट र चोरीका घटना हुँदै आएका छन् ।

संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुष्मा शर्मा, केन्द्रीय सदस्य खड्का, जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्तासहितको टोलीले भारतीय सीमा सशस्त्र बलका सहायक कमान्डर वासुकी नन्दन, प्रहरी प्रमुख डा. उमाशंकर वैश्यलगायतका सुरक्षा अधिकारीसँग नेपालीको सुरक्षाका सवालमा महत्वपूर्ण छलफल गरेको टोलीले जनाएको छ ।

सो अवसरमा भारतीय सुरक्षा अधिकारीले नेपालीको सुरक्षाका लागि कुनै पनि कमजोरी हुन नदिन र विभिन्न स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिने प्रतिबद्धता व्यक्त गरेको केन्द्रीय सदस्य खड्काले बताए ।

विजयादशमी नजिकिएसँगै भारतका विभिन्न सहरबाट फर्किने नेपालीको संख्या दिन प्रतिदिन बढ्न थालेको सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार