बाँके ।
हत्या गरेर फालिएको अवस्थामा बाँकेमा एक युवतीको शव फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका–४ जानकी नगरस्थित कच्ची सडक छेउको पानी रहेको नालीमा बुधबार युवतीको शव फेला परेको हो ।
खजुरा गाउँपालिका–७ घर भएकी २० वर्षीया माया कुम्हारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
‘केही दिनदेखि मृत युवती श्रीमान्सहित हराइरहेको सूचना आएको थियो,’ उनले मिसन टुडेसँग भने, ‘हराइरहेकी युवतीको शव शंकास्पद अवस्थामा भेटिएको छ । श्रीमान् अझै सम्पर्कमा छैनन् ।’
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले मायाको हत्या गरेर सडक छेउको नालीमा फालिएको आंशका गरेका छन् ।
सोहीअनुसार नै घटनाको अनुसन्धान थालिएको डिएसपी डाँगीले जानकारी दिए । ‘घटनाक्रम र प्रारम्भिक अनुसन्धानले हत्या गरेको हुनसक्ने देखिन्छ । हामीले सोहीअनुसार नै अनुसन्धान अगाडि बढाएका छौं,’ उनले भने, ‘पोस्टमार्टम् रिपोर्टले थप केही खुल्ला । सत्यतथ्य हामीले चाँडै बाहिर ल्याउँछौं ।’
फरार रहेका मृतकका श्रीमान्लाई जिल्ला प्रहरी कार्यालय बाँकेले खोजी गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्