तीजमा गीतमार्फत् सुख दुःख साटासाट गरिन्थ्यो



टाढाटाढा भएका दिदीबहिनीहरु माइतीमा जम्मा भएर आफ्ना दुःख, दर्द र गुनासाहरु पोख्ने गरिन्थ्यो । गाउँभरिका महिला एक ठाउँमा जम्मा भएर गीतमार्फत् सुख दुःख साटासाट गर्ने र मनोरञ्जन लिने गरिन्थ्यो । अर्कातिर यसको धार्मिक, सामाजिक, सांस्कृतिक महत्व थियो । तर अहिले आएर अलि फरक ढंगले तीज मनाउने परिपाटी विकास भएको छ । तीज मनाउनेक्रममा हिजोआज हाम्रो मौलिकता कता कता हराउँदै गएको हो कि भन्ने भान हुन्छ ।

मीना सिग्देल । सहकारी अभियन्ता

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा यहाँमार्फत सम्पूर्ण नेपाली महिलाहरुमा हार्दिक शुभकामना छ !

धन्यवाद ! म पनि यहाँको यस मिडियामार्फत सम्पूर्ण महिला दिदीबहिनीहरुलाई तीजको अवसरमा हार्दिक शुभकामना भन्न चाहन्छु ।

पहिला पहिला मनाइने तीज र हिजोआज मनाइने तीजमा कस्तो भिन्नता महसुस गरिरहनुभएको छ ?

हिजोका दिनमा तीज मनाउने फरक तरिका थियो । टाढाटाढा भएका दिदीबहिनीहरु माइतीमा जम्मा भएर आफ्ना दुःख, दर्द र गुनासाहरु पोख्ने गरिन्थ्यो । गाउँभरिका महिला एक ठाउँमा जम्मा भएर गीतमार्फत् सुख दुःख साटासाट गर्ने र मनोरञ्जन लिने गरिन्थ्यो ।

अर्कातिर यसको धार्मिक, सामाजिक, सांस्कृतिक महत्व थियो । तर अहिले आएर अलि फरक ढंगले तीज मनाउने परिपाटी विकास भएको छ । तीज मनाउनेक्रममा हिजोआज हाम्रो मौलिकता कता कता हराउँदै गएको हो कि भन्ने भान हुन्छ ।

मौलिकता हराउँदै गएको भन्नुभयो हराउँदै गएको हाम्रो मौलिकतालाई फर्काउन के गर्नुपर्ला त ?

तीज महिला दिदीबहिनीहरुले आपसी सद्भाव साटासाट गरेर मनाउने पर्व हो । वर्षभरिका कामका बोझहरुलाई बिसाएर केही क्षण भए पनि रमाउने चाड हो । कुनै पनि चाड मनाउँदा हामीले आफ्ना रिति, थिति, संस्कार र परम्परालाई बिर्सनु हुँदैन । चाड मनाइरहँदा त्यसबाट विकृतिहरु नभित्रियून् भन्ने कुरमा हामी सचेत हुनुपर्छ ।

तर हिजो आज त त फरक ढंगले, तडकभडक गरेर, विभिन्न तारे होटलहरुमा भड्किलो किसिमले तीज मनाउन थालिएको छ नि !

हो, यो चाडपर्वका नाममा भित्रिएको विकृति हो । मुलुक आर्थिक रुपमा जर्जर भइरहेका बेला तडकभडक गरेर भड्किलो र खर्चिलो रुपमा चाड मनाउनु हुँदैन । सक्नेले त खर्च गर्लान तर कतिपय नसक्नेहरुले पनि त्यसैको देखासिकी गरेको भड्किलो किसिमले तीज मनाउने गरेको पाइन्छ ।

यस्तो लाग्छ, चाडबाडहरु सम्पन्नहरुका लागि मात्र आएका हुन् । हामीकहाँ कतिपय विपन्न वर्गका महिला दिदीबहिनीहरु पनि हुनुहुन्छ । जसलाई बिहान–बेलुकीको छाक टार्न पनि मुस्किल छ । यस्तो भड्किलो परम्पराले उहाँहरुको मनमा खिन्नता आउँछ । बरु सकिन्छ भने उहाँहरुलाई सहयोग गरेर पनि यस्ता पर्व मनाउन सकिन्छ ।

एक त महिलामाथिका हिंसाका घटना बढिरहेका छन् त्यसमाथि चाडबाडका बेला अझ बढी महिला हिंसाका घटना हुने गरेको पाइन्छ । यसका तपाईं के भन्नुहुन्छ ?

समाजमा हिंसाका घटना बढ्दै जानु दुःखको कुरा हो । विभिन्न कारणले समाजमा महिला हिंसाका घटनाहरु बढिरहेको पाइन्छ । सामाजिक सञ्जालको दुरुपयोग, मध्यपान तथा लागूऔषधको दुव्र्यसनीलगायतका कारण हिंसाका घटनामा बढोत्तरी भइरहेको पाइन्छ ।

जसलाई नियन्त्रण गर्न सरकारले भूमिका खेल्नुपर्छ । स्थानीय निकायले पनि यस्ता विकृतिहरू नियन्त्रण गर्न पहल गर्नुपर्छ ।

महिलाका हक अधिकार स्थापित गर्न र महिला हिंसाका घटनामा न्यूनीकरण गर्न जति पनि कानुन निर्माण भएका छन् । के तिनको व्यवहारिक कार्यान्वय भएका छन् त ?

महिला अधिकारका लागि अझै कतिपय कानुन निर्माण हुनै बाँकी छ ।

अर्कोतिर जति पनि कानुन निर्माण भएका छन् तिनको पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको पाइँदैन । राज्यले यस्ता कानुन कार्यान्वयनमा विशेष जोड दिनुपर्छ । र महिला दिदीबहिनीहरु पनि आफ्नो हक अधिकारका बारेमा सचेत हुनुपर्छ ।

कानुनी रुपमा बलियो हुँदाहुँदै पनि कतिपय दिदीबहिनी हेपिएर बस्न वा पीडा सहेर बस्न बाध्य हुनुभएको पाइन्छ । यसले महिलाहरुको अधिकार स्थापित हुँदैन ।

समाजमा महिलाहरु विशेषगरी पुरुषभन्दा महिलाहरुबाटै बढी पीडित हुने गरेको पाइन्छ । जस्तो कतिपय सासूहरु बुहारीले दुःख दिएको, नहेरेको भन्नेजस्ता गुनासा गर्नुहुन्छ । किन होला ?

वास्तवमा शिक्षा र चेतनास्तरको कमीका कारण यस्तो हुने गरेको हो जस्तो लाग्छ मलाई ।

वास्तवमा सासूहरुका मात्र होइन कतिपय बुहारीहरुका पनि यस्ता गुनासा हुन्छन् । सासूआमाले देखिनसहने, दुःख दिने गरेको कुरा पनि सुनिन्छ । चेतना र विवेकको कमीले यस्तो हुने हो ।

आखिर एउटी नारी छोरी, बुहारी हुँदै सासू बन्ने हो । यो एउटा चक्र हो । आफूले अर्कोलाई प्रेमपूर्ण र सम्मानपूर्ण व्यवहार ग¥यो भने मात्र अर्कोबाट पनि यस्तै व्यवहारको अपेक्षा गर्न सकिन्छ । यो कुरा बुझ्न र मनन गर्न नसक्दा यस्ता द्वन्द्वहरु निम्तिने गरेका हुन् ।

अलिकति प्रसंग बदलौँ । तपाईं त सहकारीकर्मी पनि हुनुहुन्छ । अहिले सहकारीहरुमा विविधखाले समस्याहरु देखिएका छन् । किन यस्तो भइरहेको छ ?

हो, समस्या हरेक ठाउँमा हुन्छ । सहकारीमा पनि केही समस्या छन् । सहकारीहरुमा समस्या देखिनुमा सञ्चालकहरुलाई प्रमुख दोषी ठह¥याउने गरिएको छ । वास्तवमा यसमा सञ्चालक मात्र दोषी छैनन् । खराब कर्जा बढ्नु सहकारीको प्रमुख समस्या हो ।

कतिपय सहकारीका सञ्चालकहरुले बदमासी पनि गरेका होलान् । त्यस्ता सहकारी सञ्चालकलाई कारबाही गर्नुपर्छ । तर एउटा सहकारीका सञ्चालकले बदमासी गरे भन्दैमा सबैलाई त्यही नजरले हेर्नु पनि हुँदैन । पछिल्लो समयमा कोभिड, आर्थिक मन्दीलगायतका कुराले पनि बैंक, वित्तीय संस्था तथा सहकारीहरुलाई प्रत्यक्ष असर परेको हो ।

सहकारीहरुले सेयर सदस्यहरूलाई निश्चित रकममा गर्ने बिनाधितो लगानीले पनि यो समस्या निम्तिएको हो भनिन्छ नि ?

यसमा पनि केही समस्या देखिएको छ । वित्तीय संस्था तथा सहकारीहरुले आफ्नो समूह तथा सेयर सदस्यलाई दुई लाख रुपैयासम्म बिनाधितो ऋण लगानी गने गरेका छन् । राष्ट्र बैंकले नै यस्तो लगानीलाई मान्यता दिएको छ ।

तर त्यो लगानी केही हदसम्म जोखिमपूर्ण बन्ने गरेको छ । बिनाधितो पैसा पाएपछि त्यो तिर्न सदस्यहरुले महत्व नदिने गरेको अवस्था पनि छ । यो प्रवृत्ति रोक्न के गर्ने भन्ने विषयमा सहकारीकर्मीहरु बीच बेलाबेला छलफल पनि हुने गरेको छ । केही समाधान अवश्य निस्किएला ।

सबै सहकारी नीति नियममा चलेका छन् त ?

सबै सहकारी राज्यको नीति नियममै रहेर चलेका छन् भनेर दाबी गर्ने अवस्था छैन । कतिपय सहकारी प्राइभेट लिमिटेड कम्पनीको रुपमा पनि चलेको पाइन्छ । र, राज्यले पनि उनीहरुलाई नियममा बाँध्न सकेको अवस्था छैन ।

राज्य तहबाट नियमन अनुगमन पनि भएको छैन । त्यसैले हामीले के माग गरेका छौँ भने प्रत्येक जिल्लामा डिभिजन सहकारी कार्यालय हुनुपर्छ र उनीहरुले जिल्लाका प्रत्येक सहकारीको बेलाबेला अनुगमन गर्नुपर्छ । अझ हामीले त सहकारी सदस्यहरुलाई समेत निगरानी गर्नुपर्छ भनिरहेका छौँ ।

अहिले कोकोनिस भन्ने संयन्त्रको कुरा आइरहेको छ । यो एउट सफ्टवेयर हो । प्रत्येक सदस्यलाई यसमा इन्ट्री गर्नुपर्छ भन्ने हाम्र्रो भनाइ हो । यदि यसो भयो भने एक ठाउँमा ऋण खाएको सदस्यले त्यो चुक्ता नगरेसम्म अर्को सहकारीबाट ऋण खान पाउँदैन ।

यस्ता व्यक्तिलाई सफ्टवेयरले नै लिँदैन । यसबाट धेरै सहकारीको सेयर सदस्य बन्ने सबैबाट बिनाधितो ऋण खाने र नतिर्ने प्रवृत्तिको अन्त्य हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज १ गते सोमबार