बाँके ।
लगातारको वर्षाका कारण बर्दियाका दुई पालिकामा एक सय ३१ घर डुवानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले दिएको जानकारीअनुसार गुलरिया र ठाकुरबाबा नगरपालिकामा घरहरू डुवानमा परेका हुन् ।
गुलरियामा भादा नदीमा आएको बाढीले तथा ठाकुरबाबा बर्दिया निकुञ्जभित्रबाट आएको बाढीले घरहरू डुवाएको थियो ।
बाढीका कारण गुलरियाका वडा नम्बर ५ र ठाकुरबाबाका २, ६, ७ र ८ नम्बर वडाहरू बढी प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।
‘बाढीले मानवीय र ठूलो भौतिक क्षति नगरे पनि केही घरहरूमा पानी पसेको छ,’ उनले भने, ‘सबैभन्दा धेरै डुवानले ठाकुरबाबाका चार वडालाई प्रभावित बनाएको छ ।’
उनका अनुसार गुलरियामा १२ घर र ठाकुरबाबामा एक सय १९ घर डुवानमा परेका छन् । मंगलबार बिहान बबई र भादा नदीले सर्तकताको तह पार गरे पनि अपरान्ह्र पछि भने बाढीको तह घट्दै गएको प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।
भादा नदीको टापुमा फसेका ९५ जनालाई सुरक्षाकर्मीहरूले उद्दार गरेर सुरक्षित स्थानमा सारेका छन् । भादा नदीमा बाढीको सतह बढेपछि टापुमा रहेका उनीहरू फसेका थिए ।
ठाकुरबाबाका मोहनपुर, भुडकैया, सुन्दर बस्ती, ठाकुरबाबा लगायतका गाउँ डुवानमा परेका थिए । घरमा पानी पसेपछि उद्दारको लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीलाई रबर बोटसहित परिचालन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्