पुल नबन्दा बारीमै कुहियो तरकारी



बर्दिया ।

बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य भएका छन् ।

बाढीले क्षतिग्रस्त बनाएको ६ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का रामगोपाल थारुले बताए । ‘तरकारी फल्ने र बिक्री हुने यो मुख्ययाम हो ।

बजारसम्म तरकारी पु¥याउन सकिएको छैन,’ उनले भने । पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ । अधिकांश गाउँमा बारीमा तरकारी लटरम्म फलेको छ । बिक्री हुने मुख्य गुलरीया हाटबजार हो । जाने बाटो नहुँदा बिक्री गर्न नसकेको बारबर्दिया–४ का फक्लबहादुर सत्गौवाले जानकारी दिए ।

१६ करोड ६८ लाखमा निर्मित जब्दीघाट पुल २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । जब्दीघाट पुल हस्तान्तरण नहुँदै भाँसिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असुल गरी जब्दीघाटमा नयाँ पुल निर्माणका लागि जनप्रतिनिधिसहित विभिन्न राजनीतिक दलहरूले माग गर्दै आएका छन् ।

नयाँ पुल निर्माणको माग राख्दै सांसद सञ्जयकुमार गौतम भत्किएको पुलमुनि गत वैशाख ३० देखि जेठ ६ गतेसम्म आमरण अनसन समेत बसेका थिए । सांसद गौतम र भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच एक महिनाभित्र पुल निर्माण गर्ने सम्झौता भएपछि अनशन तोडिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन १४ गते आइतबार