गणेश रावत । कोहलपुर
कोहलपुर बृहत् सहकारी खानेपानी संस्थाको १२ गते हुने निर्वाचनका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानल, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, राप्रपाको संयुक्त गठबन्धन र स्वतन्त्र उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा देखिएको छ । अझ बढी प्रतिस्पर्धा लोकतान्त्रिक र गठबन्धनका उम्मेदवारबीच हुने देखिन्छ । स्वतन्त्र उम्मेदवार पनि आफ्नो चुनावी प्रतिस्पर्धालाई रोचक बनाउँदै लिएका छन् ।

स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद तिवारीलाई पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदावारी दिएको भन्दै नेपाली कांग्रेसले कारबाहीसमेत गरेको छ । नेपाली कांग्रेसले उनलाई कारबाही गरे पनि केही मतदाता रिझाएका व्यक्तिले सहयोग गर्ने देखिन्छ । नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलबाट टेकनारायण भुषाल, संयुक्त गठबन्धनबाट रूद्रप्रसाद खनाल र स्वतन्त्र प्यानलबाट तिवारी नेतृत्व प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।
चुनाव चिन्ह प्राप्त गरेसँगै तीनवटै प्यानल चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । चुनावी प्रतिबद्धता लिएर उनीहरु मतदातामाझ पुगेका छन् । उम्मेदवारले खानेपानीको दीर्घकालीन समस्या समाधान गरी शुद्ध खानेपानी पुरा¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनतालाई नियमितरुपमा स्वच्छ र प्रशोधित खानेपानी उपलब्ध गराउने, संस्थालाई पारदर्शी र जवाफदेही बनाउने विशेष योजनाका साथ चुनावी प्रतिस्पर्धामा आएको लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार टेकनारायण भुषालले बताए ।
उनका अनुसार संस्थामा विगत भएका समस्यालाई समाधान गरी सहज र सुलभरुपमा खानेपानी उपलब्ध आफू निर्वाचित हुनै पर्ने उनको भनाइ छ । यता गठबन्धनतर्फको समावेशी प्यानलका अध्यक्षका पदका उम्मेदवार रुद्रप्रसाद खनालले खानेपानी संस्था आर्थिक, सुशासन कायम गर्ने, कोहलपुरवासीलाई सुलभ मूल्यमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने आफूहरु सक्षम रहेको उनी बताउँछन् ।
त्यस्तै स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद तिवारीले आफूले पहिला पनि काम गरेको र निवर्तमान वडा अध्यक्षसमेत भएकाले खानेपानीको समस्या समाधान गर्ने दाबी गरेका छन् । कोहलपुर बृहत् सहकारी खानेपानी संस्थाको अध्यक्षसहित ११ जना पदमा ३१ जनाको उम्मेदवारी परेका छ । आज राति २३ः५९ बजेसम्म मात्र उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छन् ।









प्रतिक्रिया दिनुहोस्