काठमाडौं ।
देशभर तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कम्तिमा आज, भोलि र पर्सि (तीन दिन) ठूलो पानी नपर्ने महाशाखाको भनाइ छ। केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भने हुन सक्छ।
केही दिनयता पहाडी क्षेत्रमा वर्षा भए पनि त्यसको तुलनामा तराईमा कम पानी परिरहेको छ। यस्तो अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान छ। पानी पार्ने मनसुनी रेखा मध्य भारतमा अवस्थित भएकाले केही दिनयता कम पानी परिरहेको छ। मनसुनी रेखा तत्काल नेपालतर्फ सर्ने सम्भावना देखिएको छैन।
स्थानीय प्रणालीका कारण केही क्षेत्रमा वर्षा हुने भए पनि तराई-मधेशका अधिकांश स्थानमा सुख्खा हुन्छ। अहिले मनसुनी रेखा नेपालबाट सुदूर दक्षिणमा रहेकाले तराई क्षेत्रमा पानी पर्न रोकिएको छ। यस वर्षको मनसुन अवधिमा अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने र गर्मी बढ्ने प्रक्षेपण मौसमविद्ले केही समयअघि गरेका थिए।









प्रतिक्रिया दिनुहोस्